बैंकहरुसँग ऋण दिने पैसा सकिँदै, अन्तरबैंक कारोबारको ब्याजदर ह्वात्तै बढेर ४.५९% पुग्यो

क्लिकमान्डु २०७८ वैशाख २ गते १९:०४ मा प्रकाशित

काठमाडौं । बैंकहरु कर्जा विस्तारमा आक्रमक बन्दा थप ऋण दिने पैसा (तरलता) सकिन लागेको छ । दुई साताअघि अर्थात् चैत १६ गतेसम्म ५६ अर्ब रुपैयाँ रहेको चैत ३१ गतेसम्म आइपुग्दा तरलता घटेर अहिले ३१ अर्ब रुपैयाँमा झरेको छमा झरेको छ ।

तरलता खुम्चिँदै गएपछि एक बैंकले अर्को बैंकसँग लिने सापटी (अन्तर बैंक कारोबार)को ब्याजदर ह्वात्तै आकाशिएको छ । चैत १६ गते ०.५९ प्रतिशत रहेको अन्तर बैंक कारोबारको ब्याजदर चैत ३१ गतेसम्म आइपुग्दा बढेर ४.५९ प्रतिशत पुगेको छ ।

बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) संकुचन हुँदै गएपछि बैंकहरुले कर्जाको मागअनुसारको आपुर्ति गर्न बैंकहरुले अन्तर बैंक कारोबार बढाउँदा ब्याजदर बढेकोराष्ट्र बैंक सह-प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

पछिल्लो केही महिनायता बैंकहरु कर्ज विस्तारमा आक्रमक हुँदा तरलता संकुचन भएको हो । दर्जन बढी बैंकहरुको कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी) रेसीयो ८० प्रतिशत माथि छ । सीसीडीमा टाइट भएका बैंकहरुले ग्राहकसँग थप स्रोत संकलन नगरी अर्को बैंकसँग कर्जा सापटी लिएर कर्जाको माग पुरा गर्दा ब्याजदर बढेको पोखरेलले बताए ।

एनआएसी एशिया, मेगा, सानिमा, बिओके र प्राइम बैंक थप कर्जा दिन नसक्ने अवस्थामा

थप स्रोत संकलन नगरी बैंकहरुले कर्जा प्रवाह गर्न नसक्ने स्थीतिमा पुगेका हुँदा निक्षेपकर्तालाई आकर्षण गर्न ब्याजदर बढाउनुपर्ने उनको भनाइ छ ।

‘तरलता संकुचन हुँदै गएको छ, कर्जा बढाउन निक्षेप बढाउनै पर्छ भने निक्षेप सजिलैसँग बढाउन पनि बैंकहरुलाई गाह्रो छ,’ पोखरेलले थपे, ‘निक्षेप बढाउनका लागि आकर्षक ब्याजदर ग्राहकलाई अफर गर्न सक्नुपर्छ ।’

ब्याजदर बढाएर थप निक्षेप संकलन गरेमात्र बैंकको सीसीडी सहज अवस्थामा रहेर थप कर्जा प्रवाह गर्न सक्ने उनको भनाइ छ । अन्यथा कर्जा प्रवाहमा सहजताका लागि राष्ट्र बैंकले तत्कालै कुनै पनि मौद्रिक उपकरणको प्रयोग नगर्ने उनको भनाइ छ ।

अहिले बैंक तथा वित्त कम्पनीमा कर्जाको माग बढी छ । कर्जाको माग बढेर प्रणालीमा तरलता संकुचन हुँदा राष्ट्र बैंकले तरलता प्रवाह गर्छ । साथै, प्रणालीमा अधिक तरलता हुँदा बैंकहरुलाई ब्याज दिएरै तरलता प्रशोचन पनि गर्छ ।

एक/दुइ महिनाकै अन्तरालमा बैंकहरुले अर्बौं रुपैयाँको कर्जा प्रवाह गरेका हुँदा कर्जाको गुणस्तर र कर्जा कुन क्षेत्रमा बढी प्रवाह भएको हो सोको एकिन नगरी राष्ट्र बैंकले तरलता प्रवाह नगर्ने उनले बताए ।

‘बैंकहरुले प्रवाह गरेको कर्जा उत्पादन मुलक क्षेत्रमा प्रवाह भएको पाइएन भने स्रोत उपलब्ध गराएर अनुत्पादक क्षेत्रका लगानी बढाउन काम राष्ट्र बैंकले गर्छ,’ उनले भने, ‘कर्जाको गुणस्तर र कुन क्षेत्रमा कर्जा गएको हो सोको निर्क्यौल गर्न र विवरण पठाउन गभर्नर साबले बैंकका सीइओहरुलाई निर्देशन दिनु भएको छ ।’

बैंकहरुले गर्ने रिपोर्टिङबाहेक पनि राष्ट्र बैंक सुपरिवेक्षण विभागले गर्ने स्थलगत सुपरिवेक्षण टिमलाई क्षेत्रगत कर्जाको विवरण र त्यसको गुणस्तरको एकिन गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।

‘उत्पादन मुलक क्षेत्रका कर्जा लगानी भएको एकिन भएमा मात्र बैंकहरुलाई थप कर्जा प्रवाह गर्न सहजता हुने गरी मौद्रिक व्यवस्थापन गर्छ, यद्यपि बैंकहरुले तत्कालका कर्जाको मागअनुसार आपुर्तिका लागि स्रोत व्यवस्थापमा ध्यान दिएर सोही अनुसारको काम गर्नु पर्ने देखिन्छ,’ उनले भने ।

यता, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा भने तत्कालै निक्षेपको ब्याज बढाएरै स्रोत व्यवस्थापन गर्नु पर्ने अवस्थामा बैंकहरु नरहेको बताउँछन् ।

‘अहिले कर्जाको माग बढ्ने समय पनि हो भने त्रैमास अन्त्यमा जहिलेपनि तरलताको अवस्था यस्तै हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘तर अहिले नै आत्तिनु पर्ने अवस्था आइएको छैन, बैशाख दोस्रो सातादेखि सरकारी खर्च बढेमा ब्याजदर बढाएर नै निक्षेप संकलन गर्नु पर्दैन ।’

बैंकहरुले बैशाख महिनादेखि लागू हुनेगरी सार्वजनिक गरेका निक्षेपको ब्याजदर नबढ्नुले बैंकहरु सहज स्थीतिमा नै भएको उनको भनाइ छ ।

‘बैशाखदेखि लागू हुनेगरी सार्वजनिक ब्याजदर कुनैपनि बैंकले बढाएको छैनन् जसले गर्दा यो अवस्था क्षणिक मात्र हो भन्ने स्पष्ट हुन्छ,’ उनले थपे, ‘अहिले तेस्रो त्रैमासिक अन्त्य भएको हुँदा सरकारी खर्च, कर लगायत बैंकको साँवा ब्याज भुक्तानीका लागि समेत निक्षेप बाहिरीने हुँदा तरलता संकुचन भएको हो ।’

तर, राष्ट्र बैंकले शंका गरेअनुसार बैंकहरुले अनुत्पादक क्षेत्रमा कर्जा लगानी नगरेको र राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेका माग अनुसार कर्जा प्रवाह बैंकहरुले गरेको उनको भनाइ छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स