कोरोनाको नयाँ प्रकारको भेरियन्टमा मृत्युदर उच्च छ, हेलचेक्राइ नगरौं: डा. अनुप बास्तोला



यतिबेला कोरोना महामारीको दोस्रो लहर नेपालमा पनि देखिएको छ । पछिल्लो ३ महिनामा कोरोना संक्रमितहरु सिकिस्तै भएर अस्पताल भर्ना हुनेको संख्या पनि बढेको छ ।

परीक्षण गराउने व्यक्तिमा संक्रमणको दर उच्च छ । पछिल्लो तीन महिनामा उच्च दरमा संक्रमितहरु थपिएका छन् भने यसले समूदायमा धेरै व्यक्तिहरु संक्रमित भएको पुष्टि गरेको छ ।

जसमध्ये केही व्यक्तिहरु गम्भीररुपमा सिकिस्त भइ आइसीयूमा भर्ना भएका छन् । हाल टेकु अस्पतालमा मात्रै १८ जना बिरामीहरु आइसीयूमा भर्ना भएका छन् । यसले समूदायमा धेरै व्यक्तिहरु संक्रमित भएको देखाउँछ । जसमध्ये केहीमा मात्रै पहिचान भएको छ । काठमाडौंका अन्य अस्पतालमा पनि यो समस्या छ ।

पछिल्लो समय राजनीति परिवर्तन हुँदा सभा सम्मेलनका कारण, भेलाका कारण, भोज भतेर बढेका कारण संक्रमितहरुको संख्या बढेको छ । हामीेले हेलचेक्राइ गरेका कारण यो बढेको हो । विभिन्न खालका पार्टी प्यालेसलगायतका स्थानमा भएका जमघटमा मास्क नलगाउनेहरु धेरै थिए । जसका कारण जोखिम पनि अत्यन्तै बढेको छ ।

अघिल्लो वर्ष भदौ÷असोजमा जुन तरिकाले संक्रमितहरु बढेका थिए, अहिले हामी त्यही चरणमा फेरि एक पटक पुगेका छौं ।

अहिले भारतमा देखिएको, ब्राजिल र बेलायत लगायतका देशमा देखिएका कोरोनाको नयाँ भेरियन्टमा फरक फरक पाइएको छ ।

नयाँ प्रकारको भाइरस पहिलेको तुलनामा बढी संक्रामक भएको देखाएको छ । यूकेमा देखिएको भेरियन्ट बढी गम्भीर भएको र यसले मृत्युदर बढाउने खालको भएको तथ्यांकले देखाएको छ । हामीले गरेको अध्ययन अनुसन्धानमा पनि यो कुरा देखाएको छ ।

नयाँ प्रकारको कोरोना भाइरसले मृत्युले १.६ प्रतिशतका दरले बढाएको छ । अर्थात् पहिले १०० जनाको मृत्यु हुन्थ्यो भने अहिले १६० जनाको मृत्यु हुने अध्ययन अनुसन्धानले देखाएको छ ।

साथै लक्षणमा पनि फरक देखिने गरेको पाइएको छ । जस्तै सामान्य लक्षण मात्रै देखिँदा वा नदेखिँदा पनि यसले सिकित्स हुने गरी बिरामी बनाउन सक्छ ।

यसो हुनुको कारण हामी मापदण्ड पालना नगरेकै कारण भएको हो । हामीले यसबीचमा विद्यालय सञ्चालन गर्यौ र बालबालिकामा पछिल्ला दिनमा संक्रमणको दर बढेको छ । विद्यालयहरु कोरोनाको हट स्पट बनेको छ । त्यहाँबाट घरमा रहेका वृद्धबृद्धामा यसको जोखिम अझ बढेको छ ।

हामी यसबीचमा आर्थिक रुपमा नाजुक अवस्थामा पुग्यौं । यसका लागि अब सरकार र समूदाय मिल्नु नै हो । आमनागरिकले पनि मापदण्ड पालना गर्नुपर्छ भने सामान्यभन्दा सामान्य लक्षण देखिँदा मात्रै पनि परीक्षण गरौं ।

बाहिरबाट आउने व्यक्तिहरुले १४ दिनको क्वारेन्टिनमा बसौं । यो जिम्मेवारी पूरा गर्नैपर्छ । लक्षण देखिएका व्यक्तिलाई तुरुन्तै परीक्षणका लागि लैजाऔं । सरकारले पनि मुख्य गरेर नाकाहरुमा निगरानी राख्ने, क्वारेन्टिनको व्यवस्था गर्ने र ट्रेसिङ गर्नुपर्छ ।
यदि हामीले अहिले नै मापदण्ड अपनाएनौं भने अस्पतालमा बेड नपाउने अवस्था फेरि सिर्जना हुन सक्छ । सरकारले निगरानी बढाउने र आमजनताले पनि मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्छ ।

पछिल्लो समयमा धेरै मानिसहरुले मापदण्ड पालनामा हेलचेक्राइ गरेको देखिन्छ यदि त्यसो गरियो भने त्यसले गम्भीर समस्या सिर्जना गर्न सक्छ ।

सबैभन्दा पहिले आफूलाई सुरक्षित राख्नुपर्छ । अस्पतालमा पनि त्यो प्रकारको हेलचेक्राइ गर्नु हुँदैन ।

(डा. अनुप बास्तोलासँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु