पाँचथरको मालपोत कार्यालयले सेवाग्राहीलाई दिन थाल्यो घुम्ती सेवा



काठमाडौं । मालपोत कार्यालय पाँचथरले पहिलो पटक मालपोत घुम्ती सेवा शुरु गरेको छ । मालपोत कार्यालयले सेवाग्राहीलाई सहज रुपमा सेवा दिने उद्देश्यका साथ घुम्ती सेवा शुरु गरेको हो ।

हालसम्म देशभरका सम्पूर्ण सेवाग्राहीको जग्गा सम्बन्धी कार्यहरू मालपोत कार्यालयमा गएर सेवा दन थालेको हो ।

मालपोत कार्यालयले सेवाग्राहीले घरजग्गाको रोक्का, फुकुवा, संशोधन, नामसारी गर्न अन्यको तुलनामा वृद्ध, अपाङ्ग, महिलालाई गाह्रो हुने भएकाले उक्त सेवा शुरु गरेको हो ।

मालपोत कार्यालय पाँचथरले सदमुकाममा गएर सेवा लिन नसक्ने र असक्षम, वृद्ध, महिला, अपाङ्गजस्ता व्यक्तिका लागि घरघरमा गएर सेवा प्रदान गरेको छ ।

कार्यालयले गत चैत २४ गतेदेखि तुम्बेवा गाउँपालिकामा घुम्ती सेवा प्रदान गरेको हो ।

मालपोत कार्यालय पाँचथरका प्रमुख बाबुराम पोखरेलका अनुसार कार्यालयले विभिन्न अध्ययन, छलफल गरेर घुम्ती सेवा सञ्चालन गर्न सफल भएको बताए ।

‘जग्गा सम्बन्धी सम्पूर्ण कार्यहरु मालपोत कार्यलयमा हुने गर्दछ । सबैले मालपोत कार्यालयसम्म पुगेर सेवा लिन सक्दैनन् । त्यसैले कार्यालयले गाउँपालिकामै गएर सेवा प्रदान गरेको हो,’ पोखरेलले भने ।

पोखरेलका अनुसार मालपोत कार्यालयकै कर्मचारी अर्थात टोली गएर घरघरमा जग्गा सम्बन्धी सेवा तथा ज्ञान प्रदान गर्न थालेको बताए ।

हालसम्म देशका कुनै पनि मालपोत कार्यालयले गाउँपालिकामा गएर कुनै पनि सेवा प्रदान गरेको छैन । तर, मालपोत कार्यालय पाँचथरले भने देशमै पहिलो पटक घुम्ती सेवा प्रदान गरी सेवाग्राहीलाई सहज बनाएको उनको भनाइ छ ।

घुम्ती सेवाबाट सेवाग्राहीले अंशबण्डा, बकसपत्र, राजीनामा, दृष्टिबन्दकी, भोगबन्धकीजस्ता लिखत पारित गरिने एवं नामसारी, दाखालगायतका सेवा स्थानीय स्तरमा प्रदान गर्नेछ ।

घुम्ती सेवाको लागि भूमि, व्यवस्थापन तथा अभिलेख विभागको स्वीकृति र पाँचथर कार्यालयलको अग्रसरताका कारण घुम्ती सेवा सम्भव भएको उनको भनाइ छ । हालसम्ममा मालपोत घुम्ती सेवाबाट धेरैले सेवा लिइसकेका छन् । जसमा कार्यालयले तुम्बेवा गाउँपालिकाबाट शुरु गरेको छ ।

‘तुम्बेवा गाउँपालिकाका नागरिकले एक वर्षमा १०÷१२ जना सेवाग्राही बाहेक मालपोत कार्यालयमा जाँदै जाँदैनथ्यो । त्यसैले उक्त गाउँपालिकामा के समस्या रहेको भनेर अध्ययन गरी सो सेवा शुरु गरेको हो,’ उनले क्लिकमान्डूसँग भने । उक्त गाउँपालिकामा जग्गा प्रशासन सम्बन्धी ज्ञानको कमी र सदरमुकाम टाढा भएकाले जग्गाको कारोबार कम भएको देखिएको उनको बुझाइ छ ।

हाल मालपोत कार्यालयलको टोलीले धेरैभन्दा धेरै जग्गा सम्बन्धी परामर्श दिएको उनको भनाइ छ । जसमा अप्रत्यक्ष रुपमा घुम्ती सेवाबाट करिब ५ सयभन्दा बढीलाई सेवा प्रदान गरिसकेको छ भने प्रत्यक्ष रुपमा १०० भन्दा बढीलाई जग्गा सम्बन्धी सेवा प्रदान गरेको उनले बताए ।

अन्य ६ वटामा पनि घुम्ती सेवा प्रदान गर्ने
मालपोत कार्यालय पाँचथरले घुम्ती सेवाको शुरुवाती तुम्बेवा गाउँपालिकाबाट शुरु गरेको छ । उक्त गाउँपालिकामा मालपोत कार्यालयको टोलीलै ७ दिन सेवा प्रदान गर्नेछ ।

साथै, आगामी दिनमा पाँचथरका अन्य ६ वटा गाउँपालिकामा समेत उक्त सेवा प्रदान गर्न कार्यालय प्रमुख पोखरेलको भनाइ छ ।

जसमा पाँचथर मालपोत कार्यालयका टोलीले चालु आर्थिक वर्षभित्रमा मिक्लाजुङ गाउँपालिकामा आगामी बैशाख ३ गतेदेखि ८ गतेसम्म, फाल्गुनन्द गाउँपालिकामा बैशाख २५ गतेदेखि बैशाख ३१ गतेसम्म, फालेलुई गाउँपालिकामा जेठ २ गतेबाट जेठ १४ गतेसम्म, कुम्मायक गाउँपालिकामा जेठ २२ गतेदेखि जेठ २८ गतेसम्म, याडवरक गाउँपालिकामा असार ५ गतेदेखि असार ११ गतेसम्म र हिलिहाङ गाउँपालिकामा असार १९ गतेदेखि असार २५ गतेसम्म घुम्ती सेवा प्रदान गर्ने भएको छ ।

सेवाग्राही उत्साहित
देशमै पहिलोपटक मालपोत घुम्ती सेवा प्रदान गर्दा सेवाग्राही निकै उत्साहित भएको प्रमुख पोखरेल बताउँछन् । उनका अनुसार दैनिक रुपमा सेवा लिन आउने र बुझ्न आउने सहभागित उल्लेखनीय रहेको उनले बताए ।

‘यो सेवा प्रदान गर्दा सेवाग्राहीहरू हर्षित र उत्साहित भई जग्गाबारे ज्ञान लिइरहेका छन् । यसले गर्दा जग्गासम्बन्धी कार्यहरू ढिला गर्न नहुने र पुरानो कामहरूलाई थाती राख्दा आगामी दिनमा प्रमाण जुटाउन गाह्रो हुँदोरैछ भन्ने जस्ता कुराहरूको शिक्षा प्राप्त गरेका छन्,’ उनले भने ।

भूगोल तथा सडकको हिसाबले पायक नपर्ने र सुख्खा क्षेत्रमा गएर घुम्ती सेवा प्रदान गर्दा मालपोत कार्यालयमा हुने कार्य सबै एउटै स्थानीय तहमा भइरहको उनको दाबी छ ।

‘मालपोत कार्यालय पाँचथरमा हुँदा दैनिक ५० भन्दा बढी सेवा प्रवाह गर्दै आएका थियौं । अहिले पनि एउटा गाउँपालिकामा दैनिक ५० भन्दा बढी सेवाग्राही आइरहेको छ,’ उनले भने ।

साथै, जग्गासम्बन्धी अभिमुखीकरण कार्य पनि भइरहेको उनले बताए । घुम्ती सेवाका लागि अभिलेख विभागले ३ वटा कम्प्यूटर प्रदान गरेको छ भने गाउँपालिकाले सम्पूर्ण व्यवस्थापन गरेको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष होमनाथ थापाको सक्रियताले गर्दा विभिन्न सेवा सुविधा प्रदान गरी घुम्ती सेवा प्रदान गर्न सफल भएको उनी बताउँछन् ।

जसमा पहिलो दिन सेवा लिन आउने ३०÷४० जना सेवाग्रहीहरु यो घुम्ती सेवाबाट लाभान्वित भएको उनको भनाइ छ ।

देशभर मालपोत कार्यालयको राम्रो छाप छैन । त्यसैले मालपोत कार्यालयले आफ्नो छवी सुधार्नको लागि आँगनमा सेवा दिँदै गएपछि छवीलाई सुधार गर्न सकिने उनको विश्वास छ ।


क्लिकमान्डु