सेयर बजार सबैका लागि होइनः नीरव पुडासैनीको लेख



पुँजीबजारको कारोबार यसको जोखिम बहन क्षमताको मापन तथा आ-आफ्नो जोखिम सहन क्षमताको निर्क्याैल भएकाहरुका लागि हो भन्दा अन्यथा नहोला ।

सेयर बजारमार्फत् भविष्य देख्न चाहने जो कोहीले पनि यसको मूल्यांकन गर्न जरुरी छ । निसन्देह सेयर बजारको कारोबार जो कोहीका लागि होइन । देखासिकीमा गरिने झिटिगुन्टे व्यापार जस्तो होइन सेयर बजार ।

सिनिकल ओभर ट्रेडिङ सेयर बजारको एउटा यस्तो रोग हो जस्ले जो कसैलाई १/२ पटक कारोबार गरेपछि आफू विज्ञ हो भन्ने अनुभूतिको विकास गराएर हौस्याउन सधै प्रेरित गर्छ ।

यसबारेमा सेयर बजारमा मनोविज्ञान सम्बन्धि सोध गरेकाहरुले धेरै प्रष्ट्याउन सक्लान । लेखक चेर्नो रोन भन्छन्, बुल बजार जारी रहँदा तपाईंले खरिद गर्नु भएका सबै चिजहरु माथि जान्छन् ।

यसले तपाईंलाई महसुस गराउँछ कि स्टकमा लगानी गर्नु धेरै सजिलो र सुरक्षित छ । र, तपाईं वित्तीय प्रतिभाशाली विज्ञ हुनु भयो । सायद कुहिरोको काग जस्तै ।

यस अर्थ पनि सेयरको कारोबार जो कसैका लागि पनि उपयुक्त हुँदैन । यसमा सधैभरी हरेक पलमा जोखिम रहने हुँदा जोखिमलाई व्यवस्था गर्न नसक्नेहरुले यसमार्गमा लाग्नु उपयुक्त हुँदैन र त्यस्ता वर्गलाई यसतर्फ आकर्षित गर्ने अभियान नियामकले गर्न र गर्न दिनु हुँदैन ।

किनभने सबैजना वारेन बफेटले भनेको जस्तो म कहिले पनि सेयर बजारमा पैसा कमाउने प्रयास गर्दिन् । म यो धारणामा सेयर किन्छु कि मैले किनेको भोलिपल्ट बजार बन्द हुन्छ र आगामी ५ वर्षसम्म बजार खुल्दैन । तर यस्तो धारणाको जति रटना गरे पनि वास्तविकरुपमा आजको प्रविधिको हिसाबले सहज वातावरणमा यस्तो कुराको सम्भावना निकै न्यून छ । साधन तथा साध्यहरुको कारण बजार आजको युगमा सबैको हातहातमा सहजरुपमा उपलब्ध छ ।

यस्तो स्थितीमा बजारबाट उत्पन्न तथाकथित विज्ञताको कारण मानिसहरु भ्रमित हुने खतरा धेरै हुन्छ । र, नेपाल जस्तो देखासिकीका आधारमा व्यापार व्यवसाय गर्न खप्पिसहरु माझ यसलाई रोक्न र यसको नकारात्मक असरबाट अबुझहरुलाई जोगाउन निकै कठीन हुन्छ ।

तसर्थ जोखिम बहन व्यवस्थापनको सीप बिना सेयर बजारमा सबैलाई आमन्त्रित गर्नु ठूलो भूल हुन्छ । तर नेपालमा सेयरमार्फत् समृद्धि जस्ता नौटंकी कुरा गर्नेहरुको कमी छैन ।

पल्टनमा सुर्ती बाँडेको जस्तो सेयरका कित्ता बाँड्ने कुरा सुन्दा टिठभन्दा अरु लाग्दैन । तसर्थ यो व्यहारिक छैन भन्ने कुरा सम्बन्धितले बुझ्न जरुरी छ । त्यस्तै, सेयर बाँडेर सबैलाई कम्पनीको मालिक बनाउने भन्ने कुराको ललिपप बाँड्न चाहनेले यसो गर्दा कम्पनीको व्यवस्थापन लागत, सञ्चालक चयन, साधारणसभामा सबैको पहुँच जस्ता कुराहरुको कसरी व्यवस्थापन गर्ने हो त्यसको उत्तर पनि दिनु पर्ला ।

त्योभन्दा परिचयपत्र बाँडे जसरी हरेक पालिकामार्फत् बाँडे अझ बढी सहज होला कि ? तिनलाई सुझाव ।

सेयर बजारमा पनि आरक्षणको कुरा गर्नुको कुनै तुक छैन् । यस्तै तर्कहरु हावी भएर भोलिका दिनमा लैंगिक तथा जातीय सेयर आरक्षणको कुरा शुरु हुन बेर लाग्दैन् ।

हुन त नेपालमा सामूहिक लगानीकोषलाई सुविधायुक्त आरक्षणको व्यवस्था गरिएको छ । त्यो पनि हटाउनु पर्छ । यदी आरक्षण तत्काल हटाउन नसक्ने तर्क हो भने कम पुँजी भएका, जोखिम धेरै बहन गर्न नसक्ने वर्गलाई निश्चित अवधि तोकेर प्राथमिक सेयर किन्न सक्ने व्यवस्था गर्न सकिन्छ । तर उक्त सेयर निश्चित समय बजारमा आउन नसक्ने व्यवस्था गरेर । तर यसको कुनै अर्थ र फाइदा भने छैन । फगत असमानताको बात नलागोस भन्नका हेतू मात्र ।

सेयर बजारको कारोबारमा महत्वाकांक्षा अनावश्यकरुपमा बढेर जाने भएका कारण नै होला बंगलादेशले प्राथमिक सेयरमा लगानी गर्न न्यूनतम रकम तोकेको छ । त्यहाँ २० हजार टाकाभन्दा कम पूँजीले प्राथमिक निष्कासनमा प्रवेश पाउँदैन् । सायद देखासिकीमा लगानी गर्ने वर्गलाई निरुत्साहित गर्न यो व्यवस्था लागू भएको हुन सक्छ । जुन अत्यन्तै स्वागतयोग्य कदम हो ।

तर नेपालमा सेयरलाई गाउँगाउँमा पुर्याएर सबैलाई धनी बनाएर समृद्धि ल्याउने योजना बनाउँछन् विज्ञहरु । सेयरको पहुँच सबैमा पुर्याउने होइन, यसबारे साक्षरता गराउने अभियानको थालनी गर्नुपर्छ । कित्ता बाँड्ने होइन, यसको जोखिमको जानकारी पहिले दिनुपर्छ । सेयर बाँडेर सबैलाई विज्ञ बनाउँदै मिहेनतको धनलाई किन जोखिममा पार्न उद्दत हुने ।


क्लिकमान्डु