नबिल बैंकको क्यूआर कोड यात्राले यसरी साकार पार्दैछ तरकारी बजारभित्र हजारौंका व्यावसायिक सपना



काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा आगामी ५ वर्षभित्र डिजिटल नेपालको फ्रेमवर्क सम्पन्न गरी देशलाई डिजिटलउन्मूख गराउने घोषणा गरेको छ । सोही अनुसार राष्ट्र बैंकले समेत क्युआर पेमेन्टलाई विशेष प्राथमिकतामा राखी बैंक तथा वित्त कम्पनीहरुसँग समन्वय गरी ‘नगदरहित’ कारोबार अभियान नै चलाएको छ ।

सोही अभियानमा नबिल बैंकले चैत २४ गते काठमाडौं धुम्बाराहीस्थित सिके लोप्चन एग्रिकल्चरद्वारा संचालित धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा क्यूआर कोर्ड भुक्तानी सेवा शुरु गरेको छ ।

सरकार र राष्ट्र बैंकको सो अभियानमा हालसम्म अधिकांश बैंक तथा वित्तीय संस्थाले देशभरका विभिन्न यस्ता तरकारी तथा फलफुल तथा तरकारी बजारमा क्यूआर कोर्ड भुक्तानी सेवा शुरु गरिसकेको छन् भने कतिपय सञ्चालन गर्ने तरखरमै छन् ।

‘नगदरहित’ कारोबार अभियानलाई प्रोत्साहन गर्दै अन्य बैंक तथा वित्त कम्पनीले क्यूआर कोर्ड भुक्तानीलाई नै मध्यनजर गरी सेवा सञ्चालन गरिरहँदा भने नबिल बैंकले भने फरक सोच र योजना बनाएर सो तरकारी बजारमा क्यूआर कोर्ड भुक्तानी सेवा शुरु गरेको छ ।

बैंकले तरकारी तथा फलफुल बिक्री केन्द्रमा क्यूआर कोर्ड भुक्तानी सेवा शुरु गर्नेमात्र नभएर त्यहाँका व्यापारीलाई व्यवसाय विस्तार गर्न ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समेत प्रतिबद्धता गरेको छ ।
तरकारी बजारका व्यवसायीलाई सहुलियत कर्जा

हाल उक्त धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा २०० बढी व्यापारी छन् । ती व्यवसायीलाई महाराजगञ्जस्थित बैंकको शाखा कार्यालयले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्झौता भएको बैंककी शाखा प्रबन्धक मोना शर्माले बताइन् ।

क्यूआर कोर्ड सञ्चालनकोे सम्झौतापत्र द्विपक्षिय हस्ताक्षर गर्दा बैंकले ब्याज अनुदानमा ५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनु पर्ने समेत उल्लेख गरिएको छ । बैंकले क्यूआर कोर्ड भुक्तानी सञ्चालन गर्न सम्झौता सो कर्जा दिने शर्तमा भएको उनले जानकारी दिइन् ।

‘बैंकले काठमाडौंभित्र हालसम्म कालीमाटी र धुम्बाराहीका तरकारी तथा फलफुल बजारमा गरी २ स्थानमा क्यूआर भुक्तानी सेवा सञ्चालन गरेको छ,’ उनले क्लिकमाण्डूसँग भनिन्, ‘धुम्बाराहीका तरकारी तथा फलफुल बजार सञ्चालक समितिले भने व्यवसायीहरुलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने शर्तमा बैंकको क्यूआर कोर्ड सेवा प्रयोग गर्न सहमत हुन भएको हो ।’

सोही अनुसार बैंकले ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा कार्यक्रमको व्यवसायीक विस्तार वा महिला उद्यमी शिर्षक कर्जा प्रवाह गर्ने सम्झौता गरेको उनले जानकारी दिइन् ।

‘सो तरकारी बजार सञ्चालक चन्द्र लोप्चनको सिफारिसमा सम्पूर्ण कागजात पुरा गरी आउने सो बजारका व्यवसायीलाई बैंकको महाराजगञ्ज शाखाले २.७६ प्रतिशत ब्याजदरमा कर्जा दिने सम्झौता अहिले भएको छ,’ उनले थपिन्, ‘सो सम्झौता एक वर्षको लागि भएको हो भने सम्झौता अनुसार कर्जा १ वर्षभित्रमा भुक्तानी गरिसक्नु पर्ने हुन्छ । यदि एक वर्षभित्र भुक्तानी नभए अनुदानमा आउने ब्याजदर ऋणीले पाउँदैनन् ।’

हाल बैंकको आधार दर ५.७६ प्रतिशत छ । राष्ट्र बैंकले ब्याजअनुदानमा प्रवाह हुने सहुलियत कर्जा २ प्रतिशतसम्म ब्याज थप गरी प्रवाह गर्न आउने व्यवस्था गरेको छ । जसअनुसार बैंकले व्यवसायीहरुलाई ७.७६ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नु पर्ने हुन्छ । सो ब्याजदरमा सरकारले भन ५ प्रतिशतसम्म अनुदान दिन्छ ।

सोहीअनुसार तरकारी बजारका व्यवसायीले २.७६ प्रतिशत ब्याजदरमा कर्जा पाउने उनले जानकारी दिइन । तर, सहकारी अनुदान ऋणीले कर्जा सम्झौताअनुसार भुक्तानी गरेमात्र उपयोग गर्न पाउने हुँदा एक वर्षपछि भने बेसरेट अनुसार नै तोकिएको ब्याजदर ऋणीले तिर्नु पर्ने उनको भनाइ छ ।

यसरी पुरा हुँदैछ हजारौंको व्यवसायीक योजना

बैंकले उपलब्ध गराउने सोही कर्जा नैै बजारमा आवद्ध भएका हजारौ किसानसम्म पुर्याउने लक्ष्य बजार सञ्चालकले राखेका छन् । उक्त बजारमा चितवन, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, धादिङ्ग, सर्लाही, बारा, नुवाकोट, रामेछाप, रसुवा काभ्रेलगायत काठमाडौं उपत्यका छेउका जिल्लाका करिब २ हजार बढी किसानको उत्पादन बिक्री हुन्छ ।

बैंकबाट बजारमा व्यवसायीले पाउने सहुलियतपुर्ण कर्जा तिनै किसानलाई उपलब्ध गराउने योजना बनाइएको बजार सञ्चालक चन्द लोप्चनले बताए ।

‘अहिले बैंकले ५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने प्रतिबद्धता गरेको छ, सो कर्जा व्यवसायीलाई बैंकले मेरो सिफारिसमा दिन्छ, भने सबै व्यवसायीलाई नै कर्जा दिने सम्झौता समेत भइसकेको छ’ उनले क्किमाण्डूसँग भने ।

‘यदी व्यवसायीलाई आवश्यक भए उसले आफ्नो व्यवसाय बढाउन सो कर्जा उपयोग गर्न सक्छन् तर व्यवसायीलाई कर्जाको आवश्यकता नहँदा पनि बैंकबाट कर्जा लिएर एक स्टलले ५ जना कृषकलाई १ लाख रुपैयाँका दरले कर्जा सपटी दिनुपर्ने छ ।’

किसानलाई व्यवसायीले आफ्नो नाममा प्राप्त कर्जा सापटी दिँदा बैंकले लिने ब्याज बाहेक कुनै पनि शुल्क लिन नपाउने उनले जानकारी दिए ।

‘एक स्टलले ५ जना किसानलाई १ लाख रुपैयाँका दरले कर्जा सापटी दिन्छ र सो रकम किसानले उत्पादन बढाउन प्रयोग गर्छन्,’ उनले थपे, ‘किसान र व्यवसायीले कर्जाको सही सदुपयोग गरे नगरेको निक्र्यौल बजार अनुगमन समितिले गर्छ ।’

बैंकले व्यवसायीलाई कर्जा स्वीकृत गर्दा तोकेको मासिक साँवा ब्याज वापतको रकम तोकिएको समयमा किसानले कर्जा सापटी दिने व्यवसायीलाई बुझाउनु पर्नेछ । सोही रकम व्यवसायीले बैंकमा बुझाउनु पर्ने व्यवस्था गरिएको उनले बताए ।

‘किसानलाई बैंकबाट यस्ता प्रकारका कर्जा लिनेबारे जानकारी हुँदैन भने कतिपय किसान बैंकिङ पहुँचबाटै टाढा हुन्छन्, त्यस कारण व्यवसायीको नाममा किसानलाई सहुतियत कर्जा उपलब्ध गराउने प्रयाय गरिएको हो, सञ्चालक लोप्चन भन्छन्, ‘कर्जा लिएका किसानले भने सोही कर्जा सापटी दिने व्यापारीलाई नै आफ्नो उत्पादन बिक्री गर्नु पर्छ । किसानले आफ्नो उत्पादनको मूल्य र व्यापारीको कमिशन तोक्न पाउँछन् ।’

उनले ‘सिके लोप्चन एग्रिकल्चरसँगै बैंक र स्थानीय निकाय’ भन्ने अभियान नै शुरु गरी सो योजना बनाएका हुन् । जसमा उनले वित्तीय सहयोगका लागि व्यापारी र किसानलाई बैंकको पहुँच र स्थानीय निकायसँग व्यवसायीकतामा सहजिकरण तथा बजारीकरणका लागि समन्यव गराउने बताए ।


पुष्प दुलाल