मुग्लिङ-नारायणघाट खण्डमा १५ पुल बन्दै, ट्राफिक जाम हट्ने



काठमाडौं । मुग्लिङ–नारायणघाट सडक पुल निर्माण प्रक्रियाले तीव्रता पाएको छ । मुग्लिङ-नारायणघाट सडक खण्ड २०७५ जेठमा २ लेनमा बिस्तार गरिएको थियो ।

सडक विस्तार गरिए पनि तत्कालिन समयमा पुल सडकको क्षमता अनुसार बिस्तार हुन नसकेको मुग्लिङ-नारायणघाट आयोजनाका सूचना अधिकारी सबिना रानाभाटले बताइन् ।

‘सडकको चौडाभन्दा पुल साँघुरा थिए । साँघुरा पुललाई सडककै क्षमता अनुसार २ लेनमा बिस्तार गर्न लागिएको छ’, रानाभाटले भनिन्, ‘साँघुरा पुल भएकाले ट्राफिक जाम र सडक दुर्घटना हुने खतरा छ ।’

पुलबाट एउटा गाडी पास हुँदा अर्को गाडी पालो पर्खेर बस्नु पर्दा जाम हुने गरेको रानाभाटले बताइन् ।

आयोजनाले २०७६ चैत १० गते २ वटा प्याकेजमा डिजाइन एण्ड विल्ट मोडलमा निर्माण गर्नेगरी नारायणघाट-मुग्लिङ पुलको ठेक्का लगाइएको थियो ।

पहिलो प्याकेजमा मुग्लिङदेखि सीमल तालसम्म ७ वटा र दोस्रो प्याकेजमा सीमल तालदेखि जुगेडीसम्म ८ वटा पुल निर्माण शुरु गरिएको छ । यी दुवै प्याकेजको ठेक्का एएनके कन्स्ट्रक्सलनले प्राप्त गरेको छ ।

पहिलो प्याकेज करिब ६९ करोड र दोस्रो प्याकेजट करिब ५९ करोडमा ठेक्का पाएको हो । दोस्रो प्याकेजमा ३५ प्रतिशत र पहिलो प्याकजेटमा ५ प्रतिशत भौतिक प्रगति छ । हालसम्म करिब २५ प्रतिशत भुक्तानी भएको छ । ३३ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लगाइएको छ ।

दोस्रो प्याकेजको ८ वटा पूलको डीजाइन स्वीकृत भई निर्माण प्रक्रिया अघि बढि सकेको छ । पहिलो प्याकेजका ७ वटा पुलमध्ये ४ वटाको डिजाइन सम्पन्न भई स्वीकृती लिने क्रममा छ । भने ३ वटा पुल डिजाइनको क्रममै छ ।

नारायणघाट–मुग्लिङ सडक खण्डमा १८ वटा पुल रहेका थिए । सडक बिस्तारकै क्रममा ४ वटा पुलको ठेक्का लगाइएको थियो । खानी खोला, दासढुङ्गा र मौरीखोला पुल निर्माण सम्पन्न भइसकेका छन् ।

जलविरेको पुल अन्तिम चरणमा रहेको र यो पुलको डिजाइन परिवर्तन गर्नु परेकाले केही ढिला भएको उनले जानकारी दिए । अहिले यसको भौतिक प्रगति ९५ प्रतिशतभन्दा बढी छ । जलविरेको पुल निर्माण भएपछि करिब तीन सय मिटर बाटो छोटो हुने बताइएको छ ।

अहिले एउटा पुल थप गरेर १५ वटा पुल निर्माण गर्न लागिएको हो । १५ पुलमध्ये १२ को चौडाई ११ मिटर हुनेछ । जटिल भौगोलिक अवस्थामा रहेका ३ पुल भने ९ मिटरको हुनेछ । पुराना पुल भने यथास्थितिमै छन् ।

‘पुराना पुल पनि सवारी गुड्न योग्य छन् । पुराने संरचनालाई भत्काएर नयाँ संरचना बनाउँदा सवारी आवागमनमा समस्या हुने थियो’, रानाभाटले भनिन्, ‘नयाँ पुल पुरानैको छेउमा निर्माण भइरहेको छ ।’


क्लिकमान्डु