कोरोनाको एक वर्षः एक दर्जन बढी बैंकको नाफा वृद्धिदर घट्यो, बढ्नेमा नेपाल बैंक अगाडि



काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि साउन ६ गतेसम्म पूर्ण तथा आंशिकरुपमा लकडाउन गरेको थियो । कोरोनाकै कारणले मानवीय जीवन तथा अर्थतन्त्र अस्तव्यस्त बनाएको एक वर्ष पूरा भइसकेको छ ।

कोरोनाका कारण एक वर्षको यो अवधिमा अधिकांश व्यवसायको वृद्धि हुन सकेको छैन । कोरोनाको असरले बैंक तथा वित्त कम्पनीको खुद नाफाको वृद्धिमा समेत परेको छ । यसै अवधिमा अधिकांश बैंकहरुको खुद नाफामा समेत कोरोनाको नकारात्मक असर देखिएको छ ।

कर्जा बिस्तार गर्न नसक्दा नाफा घट्यो, असार मसान्तमा अझै घट्ने: राष्ट्र बैंक

नेपालमा कोरोना शुरु हुन अघि ०७६ फागुन मसान्तको तुलनामा दर्जन बढी वाणिज्य बैंकहरुको खुद नाफा चालु आवको सोही अवधिमा घटेको छ । साथै, आधा दर्जन राष्ट्रियस्तरका विकास बैंकहरुका खुद नाफा समेत सो अवधिमा घटेको छ ।

राष्ट्र बैंकद्वारा उपलब्ध तथ्यांकअनुसार सञ्चालन गत आवको फागुन मसान्तको तुलनामा १४ वटा वाणिज्य बैंकको खुद नाफा चालु आवको सोही अवधिमा ३ प्रतिशतदेखि ५६ प्रतिशतसम्म घटेको छ । साथै, सञ्चालनमा रहेका १९ विकास बैंकमध्ये ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुमा ७ वटाको खुद नाफा १० प्रतिशतदेखि ७९ प्रतिशतसम्म घटेको छ ।

सरकारलेले गरेको पूर्ण तथा आंशिक लकडाउन अवधिमा बैंकहरुले कर्जा प्रवाह गर्न नसक्दा खुद नाफा गरेको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।

‘बैंकहरुमा चैतदेखि गत मंसिरमसान्तसम्मै निक्षेप संकलनको तुलनामा कर्जाको माग न्यून थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘ पुस लागेपछि मात्र कर्जाको माग केही बढेको छ, असार मसान्तसम्म केही बढेपनि गत वर्षको तुलनामा भने यो आवको अन्त्यमा अझै बैंकको नाफा केही प्रतिशत घट्छ ।’

ऋणीले साँवा ब्याज भुक्तानी बक्यौता राखेरभन्दा बैंकहरुले कर्जा बिस्तार गर्न नसक्दा नै गत आवको तुलनामा चालु आवमा बैंकको नाफा घटेको उनको भनाइ छ ।

कोरोनाको असरलाई अवसर बनाएर विजनेश गर्दा नाफामा ग्रोथ

गत फागुन मसान्तको तुलनामा चालु आवको सोही अवधिमा सबैभन्दा राम्रो खुद नाफाको ग्रोथ नेपाल बैंक छ भने सबैभन्दा धेरै खुद नाफा हिमालयन बैंकको घटेको छ । सो अवधिमा नेपाल बैंकको ८३.८२ प्रतिशतले खुद नाफा वृद्धि हुँदा हिमालन बैंकको भने ५६.०५ प्रतिशतले खुद नाफा घटेको हो ।

कोरोना कालमा नै व्यवसायलाई नयाँ तबरले बिस्तार गर्दा गत वर्षको तुलनामा खुद नाफा बढेको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए ।

‘साउन मसान्तसम्म बैंकले नयाँ बिजनेस गर्न सकेन तर त्यसयता भने कर्जाको ब्याजदर घटाएर नयाँ प्रडक्टहरु लञ्च गर्दै पुराना प्रडक्टलाई समेत प्रमोट गरेर बिजनेस बढाइरहेका छौँ,’ उनले क्लिकमाण्डूसँग भने, ‘यसबीच नै बैंकले करिब ३० अर्ब रुपैयाँले बिजनेस बढाएको छ भने नउठेका पुराना ऋण समेत नियमित गरिएको छ ।’

कोरोनाका कारण नउठेका कर्जाको साँवा ब्याज समेत पुस मसान्तसम्म मात्र पुनरसंरचना गर्नु पर्दा समेत खुद नाफाको ग्राथ राम्रो भएको उनको भनाइ छ ।

‘बैंकले कोरोनाले निम्त्याएको असहजतालाई अवसरमा परिणत गर्दै डिजिटल प्रविधिको प्रयोग गरी व्यवसाय बिस्तार गरेको छ’ उनले थपे, ‘बैंकको वार्षिक उत्सवको अवसरमा ल्याइएको नयाँ कर्जाको प्रडक्टले व्यवसाय बढाउन मद्दत गर्यो भने यसबीच कृषि र खुद्रा कर्जालाई बढी प्राथमिकतामा राखेर कार्जा बिस्तार गर्दा फाइदा पुगेको छ ।’

कोरोनाले अन्य क्षेत्रमा असर पुर्याइरहँदा बैंकले भने सरकारले प्राथमिकतामा राखेको सबै क्षेत्रमा लगानी बढाएको र सो वापत रिर्टन समेत राम्रो आएको उनको भनाइ छ ।
यता, कोरोना कोरोना कालमै सबैभन्दा बढी खुद नाफा घटेको हिमालय बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा भने कर्जाको पुनरसंरचना गर्ने बढ्दा नाफा घटेको बताउँछन् ।

‘यसबीचमा कोरोना प्रभावित क्षेत्रका ऋणीको कर्जा पुनरसंरचना धेरै भएका छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘यसले नाफामा धेरै असर गर्यो भने करिब ६ महिनासम्म बिजनेस बढाउनका लागि फिल्डमा जाने अवस्था समेत थिएन, केही महिना अघिदेखि मात्र नयाँ विजनेश भइरहेको छ ।’

गत आवको फागुन मसान्तको तुलनामा अहिले खुद नाफा घटेपनि चालु आवको अन्त्यसम्म भने बैंकको खुद नाफामा राम्रो ग्रोथ हुने उनको भनाइ छ ।

कुन बैंकको खुद नाफा वृद्धिदर कति ?

गत आवको फागुन मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १४ वटा वाणिज्य बैंकको खुद नाफा घट्दा १३ वटा बैंकको १.३४ प्रतिशतदेखि ८३.८२ प्रतिशतसम्म खुद नाफामा बृद्धि भएको छ ।

नेपाल बैंक:  गत आवको फागुन मसान्तसम्म बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा ८३.८२ प्रतिशत बढाएर १ अर्ब ९१ करोड रुपैयाँ पुर्याएको छ ।

कुमारी बैंक:  गत आवको फागुन मसान्तसम्म बैंकले ९८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा बैंकले चालु आवको सोही अवधिमा ६६.२४ प्रतिशत रुपैयाँले बढाएर १ अर्ब ६४ करोड रुपैयाँ पुर्याएको छ ।

मेगा बैंक:  बैंकले गत आवको फागुन मसान्तसम्म १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको सोही अवधिमा ३५.५० प्रतिशतले वद्धि गरी १ अर्ब ७७ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल बंगलादेश बैंक:  गत आवको फागुन मसान्तसम्म बैंकले ६० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा ३३.५० प्रतिशतले बढाएर ८० करोड ९२ लाख रुपैयाँ पुर्याएको छ ।

प्राइम बैंक:  गत आवको फागुन मसान्तसम्म बैंकले १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा बैंकले चालु आवको सोही अवधिमा ३१.६१ प्रतिशत वृद्धि गरी २ अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ ।

प्रभु बैंक: गत आवको फागुन मसान्तसम्म बैंकले १ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा २७.६५ प्रतिशतले बढाएर १ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ ।

ग्लोबल आइएमई बैंक:  गत आवको फागुन मसान्तमा २ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा बैंकले चालु आवको सोही अवधिमा २३.५० प्रतिशतले बढाएर ३ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ ।

सिटिजन्स बैंक: गत आवको फागुन मसान्तसम्म बैंकले ९८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफा १४.०२ प्रतिशतले बढाएर १ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।

नबिल बैंक:  गत आवको फागुन मसान्तसम्म बैंकले २ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफा ११.३४ प्रतिशतले बढाएर ३ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।

सिद्धार्थ बैंक: गत आवको फागुन मसान्तसम्म बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफा ६.५६ प्रतिशतले बढाएर १ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक:  गत आवको फागुन मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफा २.१८ प्रतिशतले बढाएर २ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ ।

एनआइसी एशिया बैंक: गत आवको फागुन मसान्तसम्म बैंकले २ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफा १.५२ प्रतिशतले बढाएर २ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ ।

एनएमबी बैंक:  गत आवको फागुन मसान्तसम्म बैंकले २ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफा १.३४ प्रतिशतले बढाएर २ अर्ब १९ करोड रुपैयाँ पुर्याएको छ ।

खुद नाफा घटाउने बैंकहरु, कुनको कतिले घट्यो ?

गत आवको फागुन मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १४ वटा वाणिज्य बैंकको खुद नाफा २.९३ प्रतिशतदेखि ५६.०५ प्रतिशतले घटेको छ ।

हिमालयन बैंक: गत आवको फागुन मसान्तमा हिमालयन बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले चालु आवको सोही अवधिमा यस्तो नाफा ५६.०५ प्रतिशतले घटएर ८९ करोड ९८ लाख रुपैयाँमा सीमित गरेको छ ।

नेपाल एसबीआइ बैंक:  बैंकले गत आवको फागुन मसान्तसम्म १ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ४४.२७ प्रतिशतले घटेर ७६ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड: बैंकले गत आवको फागुन मसान्तसम्म १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ४०.१५ प्रतिशतले घटेर ९६ करोड ५७ लाख रुपैयाँमा सीमित गरेको छ ।

एभरेष्ट बैंक:  बैंकले गत आवको फागुन मसान्तसम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ३८.३४ प्रतिशतले घटेर १ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ ।

सिभिल बैंक: बैंकले गत आवको फागुन मसान्तसम्म ४५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा २३.१७ प्रतिशतले घटेर ३४ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ ।

सेञ्चुरी बैंक: बैंकले गत आवको फागुन मसान्तसम्म ८५ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा २२.५५ प्रतिशतले घटेर ६६ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंक अफ काठमाण्डू: बैंकले गत आवको फागुन मसान्तसम्म १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा २२.३३ प्रतिशतले घटेर ९३ करोड ८ लाख रुपैयाँमा सीमित गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक: बैंकले गत आवको फागुन मसान्तसम्म २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा १८.८१ प्रतिशतले घटेर १ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ ।

कृषि विकास बैंक: बैंकले गत आवको फागुन मसान्तसम्म १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा १४.०३ प्रतिशतले घटेर १ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ ।

लक्ष्मी बैंक:  बैंकले गत आवको फागुन मसान्तसम्म १ अर्ब १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा १०.८९ प्रतिशतले घटेर १ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ ।

एनसीसी बैंक: बैंकले गत आवको फागुन मसान्तसम्म १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ९.८४ प्रतिशतले घटेर ९५ करोड २५ लाख लाख रुपैयाँमा सीमित गरेको छ ।

सनराइज बैंक: गत आवको फागुन मसान्तसम्म बैंकले १ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा आइपुग्दा खुद नाफा ९.३६ प्रतिशतले घटेर १ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ ।

माछापुच्छ्रे बैंक:  बैंकले गत आवको फागुन मसान्तसम्म १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ३.२३ प्रतिशतले घटेर १ अर्ब ४ करोड रुपैयाँमा सीमित भएकोे छ ।

सानिमा बैंक:  बैंकले गत आवको फागुन मसान्तसम्म १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा २.९३ प्रतिशतले घटेर १ अर्ब ४७ करोड रुपैयाँमा सीमित भएकोे छ ।


क्लिकमान्डु