गुणस्तर विभागले १७ वटा खाद्यान्नको गुणस्तर मापदण्ड तोक्दै
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १७ वटा खाद्य वस्तुमा मापदण्ड तोक्ने तयारी गरेको छ ।
विभागले विभिन्न प्रकारका गेडागुडीको दाल, पास्ता, मह, फ्रोजन आइटम, आइसक्रिमलगायत अन्य १७ वटा वस्तुको मापदण्ड तोक्ने तयारी गरेको हो ।
यसअघि पनि विभागले विभिन्न ७ वटा वस्तु तथा सेवाको मापदण्ड तोकेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा पेश भई स्वीकृत भए बमोजिम नेपाल राजपत्रमा मिति गत भदौ २९ र माघ २६ गते प्रकाशन भए अनुसार चिउरा, पुष्टकारी, गुँदपाक, तेल तथा घिउमा टोटल पोलार मटेरियल, दालमोड, दश फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा र विभिन्न खाद्य पदार्थहरुमा माइकोटक्सिनको अधिकतम सीमामा अनिवार्य मापदण्ड तोकिसकेको छ ।
साथै विभागले आगामी दिनमा विभिन्न १७ वटा खाद्य वस्तुका लागि अनिवार्य गुणस्तर मापदण्डका मस्यौदाहरू तयार गरी प्राविधिक उपसमितिमा विज्ञ सहित छलफल गरिसकेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए ।
उनका अनुसार विभागबाट मस्यौदाको ड्राफ्ट तयारी गरी समितिलाई प्रदान गरिरसकेको बताए ।
हालका लागि विभागले गेडा सिमी÷सिमीको दाल, गेडा बकुला÷बकुलाको दाल, गेडा बोडी तथा बोडीको दाल, गेडा राजमा/राजमाको दाल, गेडा केराउ/केराउको दाल, गहतको दाल, गेडा मस्याङ, आइसक्रिम, फ्रोजन डेजर्ट, खुवा/कुराउनी, छुर्पी, डेरी ह्वाईट्नर, कर्न स्टार्च, माल्टेड मिल्क फुड, माल्ट बेस्ड मिल्क फुड, पास्ता र महमा मस्यौदा तयार भएको विभागले जनाएको छ ।
‘विभागले यी १७ वटा वस्तुको गुणस्तरको मस्यौदा तयार गरिरहेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘उक्त मस्यौदाको लागि प्राविधिक समितिसँग छलफल भइसकेको छ ।’
विभागका प्रवक्ताका अनुसार उक्त समितिले विभिन्न क्षेत्रमा अध्ययन गरी गुणस्तर निर्धारण गर्ने बताए ।
गुणस्तर मापदण्ड तोक्नका लागि धेरै स्टेकहोल्डरहरूको साथ चाहिन्छ । जसको लागि प्राविधिक समितिबाट स्वीकृत भएपछि विभागले गठन गरेको समितिमा छलफल हुन्छ । साथै उक्त छलफलपछि कृषि मन्त्रालयको सचिवसमक्ष छलफल हुने उनले बताए ।
‘विभिन्न छलफल तथा अध्ययनपछि मन्त्रिपरिषदमा पेश हुन्छ । उक्त पेश गरेको स्वीकृत भएपछि मात्रै राजपत्रमा प्रकाशित भई सोही अनुसार कार्यान्वयनमा आउनेछ,’ उनले भने ।
विभागले उक्त खाद्य वस्तुका लागि तोकेको कार्यविधि अनुसार मापदण्ड तोक्ने उनको भनाइ छ । साथै, भारतको एफएसएएआईले मिति २९ जुलाई २०१९ बाट लागू हुने गरी विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई कानूनी मान्यता दिइसकेको छ ।
सो बमोजिम राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाबाट परीक्षण हुने निम्न २१ वटा खाद्य तथा कृषिजन्य पदार्थहरूको परीक्षण प्रतिवेदनलाई भारतमा आयात हुने प्रयोजनका लागि एफएसएसएआईले मान्यता दिने गरी प्रयोगशालालाई सूचिकृत गरेको विभागले जनाएको छ ।
साथै, खाद्य तथा कृषिजन्य पदार्थहरुः जुस, जाम, जेली, अचार, क्याण्डी, तयारी चाउचाउ, बिस्कुट, बाल आहार, दूध, धूलो दूध, कन्डेन्स मिल्क, आइसक्रिम, दही, प्रशोधित मासु, अदुवा, अलैची, बेसार, चिया, कफि, मह, तथा ताजा तरकारी र फलफूलमा सम्झौता अनुसार खाद्य पदार्थ आयात निर्यात प्रयोजनका लागि डीएफटीक्यूसी र एफएसउसएआईको नेटिफाइड ल्याक्स् अन्तर्राष्ट्रिय मापदण्डका आधारमा परिक्षण प्रतिवेदनलाई मान्यता दिने कार्य भएको विभागको भनाइ छ ।