अदुवाको निर्यात बढे पनि सन्तुष्ट छैनन् व्यवसायी, विस्थापन हुँदै कृषक



काठमाडौं । दैनिक भान्सामा प्रयोग हुने अदुवाको चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा निर्यात बढेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा चालु आवको ८ महिनाको अवधिमा ४.७ प्रतिशतले निर्यात बढेको देखाउँदछ ।

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालले ३३ करोड ३८ लाख २४ हजार मूल्य बराबरको ५१ लाख ७१ हजार केजी अदुवा निर्यात गरेको छ । त्यस्तै, सोही अवधिमा गत वर्ष ३२ करोड ७ लाख ७७ हजार रुपैयाँ मूल्य बराबरको अदुवा निर्यात गरेको थियो ।

गत वर्षको तुलनामा चालु आवमा निर्यात बढे पनि व्यवसायीहरू भने सन्तुष्ट छैनन् । विगतको दिनमा नेपालबाट पर्याप्त मात्रामा भारततर्फ निर्यात हुँदै आएको अदुवा अहिले थोरै मात्रामा निर्यात हुँदा व्यवसायीहरू असन्तुष्ट छन् ।

साथै, भारतको कर्नाटकमा पर्याप्त मात्रामा अदुवा उत्पादन हुन थालेको नेपाल अदुवा उत्पादक र व्यापारी संघका अध्यक्ष नरेन्द्रकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार नेपालबाट अहिले अदुवा निर्यात हुन छोडेको बताए ।

‘विगतको दिनमा नेपालबाट उत्पादित अदुवा पर्याप्त मात्रामा भारततर्फ निर्यात गर्दै आएको थियो । तर, पछिल्लो समय भारतको कर्नाटकमा नेपालको भन्दा उच्च स्तरको अदुवा उत्पादन हुने भएकाले नेपालको अदूवा निर्यात ठप्प जस्तै रहेको छ,’ अध्यक्ष खड्काले भने । अहिले भारततर्फ निर्यात हुनेभन्दा आयात बढी रहेको उनले बताए ।

अध्यक्ष खड्काका अनुसार सरकारी तथ्याङ्कमा अदुवाको निर्यात बढेको देखाए पनि वास्तविकता भने त्यस्तो छैन ।

‘भन्सार तथा केन्द्रको तथ्याङ्कले निर्यात बढेको देखाएको छ भने ठीकै होला । तर, व्यवसायीहरूले भने उक्त रकम र परिमाणको अदुवा निर्यात गरेका छैन,’ उनले भने ।

साथै, विगतको दिनमा दैनिक ४० वटासम्म गाडीबाट निर्यात हुने अदुवा अहिले १ गाडी पनि अदुवाको निर्यात हुन नसकेको उनले जिकिर गरे ।

नेपालमा आन्तरिक रुपमा किसानले उत्पादन गरेको अदुवाले पर्याप्त मात्रामा धान्न सक्ने अवस्था हुँदा व्यवसायीहरूले पर्याप्त मात्रा आयात गर्दै आएको उनको भनाइ छ । यसले गर्दा भारतबाट आयात भएको अदुवाको मूल्य सस्तो र उच्च गुणस्तरको भएकाले नेपाली उत्पादित अदुवाले स्थान नपाएको उनको गुनासो छ ।

‘अहिले अदुवाको उत्पादन निकै घटेको छ । साथै, नेपालमा कर्नाटकमा उत्पादन भएको अदुवा सस्तो भएकाले अधिकांश अदुवा आयात गरेको छ,’ उनले भने ।

उत्पादनको अवस्था नाजुक
पछिल्लो समय अधिकांश अदुवा भारतबाट आयात गर्ने भएपछि नेपालको अदुवाको उत्पादनको अवस्था निकै नाजुक रहेको उनले बताए ।

‘विगतको दिनमा आन्तरिक बजारमा खपत भई निर्यात गर्न सक्ने अवस्था थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘तर, अहिले उत्पादन घटेको छ ।’

यसले गर्दा नेपाली उत्पादित अदुवाभन्दा विदेशबाट आयात भएको अदुवा सस्तो र उच्च गुणस्तरको भएकाले आन्तरिक बजारमा उत्पादन भएको अदुवाको अवस्था नाजुक रहेको उनको बुझाइ छ ।

अहिले नेपाली अदुवाको उत्पादन घट्नुको मुख्य कारण बजार रहेको उनी बताउँछन् ।

‘विगतको दिनमा ९० प्रतिशत भारततर्फ निर्यात हुन्थ्यो । साथै सोही अनुसार उत्पादन भई किसानले मूल्य पाउँथ्यो । तर, अहिले त्यो अवस्था नरहेको उनको भनाइ छ ।

नेपालमा अधिकांश अदुवा पूर्वीको जिल्ला इलाम, पाँचथर, उदयपुर, भोजपुर, धनकुटा, खोटाङ, झापालगायत अन्य जिल्लाहरूमा पर्याप्त मात्रामा उत्पादन हुने गर्दछ ।

त्यसैगरी, अदुवा उत्पादनबाट किसानहरूले श्रम गरेअनुसार ज्याला नआएपश्चात कृषकहरू विस्तारै विस्थापन हुँदै गएको उनको भनाइ छ ।

संघका अनुसार विगतको दिनमा देशभर करिब साढे चार लाख मेट्रिक टन उत्पादन भएकोमा अहिले भारतबाट अदुवा आयात हुन थालेसँगै घटेर अहिले करिब २ लाख मेट्रिक टन मात्रै उत्पादन भइरहेको जनाएको छ ।

भारतबाट आयात गर्न रोक्नुपर्ने
आन्तरिक उत्पादनले बजार धान्न सक्ने अवस्था हुँदाहुँदै पनि भारतबाट आयात हुँदै आएको अदुवामा सरकारले रोक लगाउनुपर्ने व्यवसायीहरू बताउँछन् । साथै, आन्तरिक उत्पादनले बजार धान्न सक्ने अवस्था हुँदा भारतबाट आयात गरी खपत गर्नु भनेको किसानलाई निरुत्साहित बनाएको व्यवसायीहरूको भनाइ छ ।

‘भारतबाट आयात गरेको अदुवालाई निरुत्साहित गर्नुपर्छ,’ अध्यक्ष खड्काले भने, ‘आयातले प्रत्यक्ष रुपमा किसानलाई असर गरेको छ । साथै, कुनै पनि कृषिजन्य उत्पादन पर्याप्त मात्रामा हुन्छ भने त्यस्ता वस्तु तथा सेवा सरकारले पूर्ण रुपमा रोक्नुपर्छ ।’
सरकारले उक्त आयातित अदुवामा रोक लगाएमात्रै नेपाली बजारमा उत्पादन भएको अदुवाले स्थान पाउने उनको भनाइ छ ।

त्यसैगरी, नेपालमा प्रविधिको विकास विनै किसानहरूले उत्पादन गरिरहेको हुनाले यसतर्फ सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ । नेपालमाा अझ गुणस्तर र धेरै उत्पादनको लागि प्रविधिको विकास गरेमा धेरै सहज हुने उनको बुझाइ छ ।


क्लिकमान्डु