राष्ट्र बैंकले विद्युतीय भुक्तानीमा ग्राहक हित संरक्षण सम्बन्धी गर्यो नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि ग्राहक हित संरक्षण सम्बन्धि नयाँ व्यवस्था गरेको छ । जस अन्तर्गत राष्ट्र बैंकले सेवाग्राहीसँग गरिने व्यवहार, गुनासो सुनुवाइ, साक्षरता र गोपनीयताका सम्बन्धमा व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले संस्थाले सेवाग्राहीको व्यक्तिगत विवरण लिँदा सोको प्रयोजनबारे जानकारी गराउनु पर्ने र सेवाग्राहीलाई सुरक्षित कारोबार सम्बन्धि सचेतना गराउनु पर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी राष्ट्र बैंकले सेवाग्राहीसँग गरिने व्यवहार सम्बन्धि व्यवस्थामा संस्थाले सबै सेवाग्राहीलाई समान र सम्मानजनक व्यवहार गर्नुपर्ने छ भने दोहोरो अर्थ नलाग्ने गरी स्पष्ट र सरल भाषामा आफ्नो सेवा शुल्क सर्त तथा कारोबार सञ्चालन प्रक्रियाको बारेमा सेवाग्राहीलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी लिंग, धर्म, समूदाय, राजनीतिक विचार, उमेरआदिका आधारमा विभेद गर्न पाइने छैन भने संस्थाको असावधानी वा लापरवाहीले गर्दा सेवाग्राहीलाई कुनै क्षति भएमा संस्थाले सम्बन्धित ग्राहकलाई उचित क्षतिपूर्ती दिनुपर्नेछ । संस्थाले आफ्ना कर्मचारी तथा एजेण्टबाट ग्राहकसँग गरिएको कामकारबाहीको जिम्मेवारी बहन गर्नुपर्नेछ ।

त्यसैगरी गुनासो सुनुवाई सम्बन्धमा सेवाग्राहीलाई पर्ने असुविधा तथा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने क्रममा आउन सक्ने कठिनाइका सम्बन्धमा सर्वसाधारणका लागि गुनासो सुनुवाइ गर्नका लागि सूचना तथा गुनारो सुनुवाई डेस्क स्थापना गर्नुपर्ने छ । र, यस्ता सेवा बिहान ६ बजेदेखि बेलुका १२ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाउनु पर्नेछ । त्यसैगरी सोको अद्यावधिक अभिलेख समेत राख्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी संस्थाले सेवाग्राहकीको सुनुवाईका लागि हटलाइनका साथै वेवसाइटमा अनलाइन पोर्टल समेतको व्यवस्था गर्नुपर्नेछ भने ग्राहकहरुको सोधपुछ र गुनासो सुनुवाइका लागि टोल फ्रि नम्बर उपलब्ध गराउनु पर्नेछ ।

गोपनीयताको सम्बन्धमा राष्ट्र बैंकले ग्राहकको गोपनीयता कायम राख्नुपर्ने छ भने कानून बमोजिम अख्तियारी प्राप्त निकाय वा संस्थाले त्यस्तो सूचना वा विवरण लिन व्यवस्थाले बाधा पुगेको नमानिने व्यवस्था गरिएको छ ।

त्यसैगरी विद्युतीय भुक्तानीको साक्षरता सम्बन्धमा संस्थाले वार्षिक कार्यक्रममा विद्युतीय भुक्तानी सम्बन्धि साक्षरता कार्यक्रम राख्नुपर्नेछ । साथै संस्थाले प्रदान गर्ने विद्युतीय भुक्तानी सेवा सम्बनधमा सर्वसाधारणलाई नियमितरुपले सुसूचित गर्नुपर्नेछ । त्यसैगरी संस्थाले विद्युतीय भुक्तानी प्रणाली प्रबद्र्धनलाई सहयोग पुग्ने विज्ञापन तथा सूचनालाई प्रोत्साहित गर्नुपर्ने छ ।

वेवसाइटमा जानकारी राख्ने र सरल र स्पष्ट भाषाका साथै यथासम्भव नेपाली भाषामा समेत हुनुपर्नेछ ।

त्यसैगरी विद्युतीय भुक्तानी सम्बन्धि सेवाहरु मर्मत सम्भार, स्तर वृद्धि वा अन्य विषेश कारणवश अस्थायी रुपमा बन्द गर्नुपर्ने भएमा कम्पनीमा ५ दिन अगावै राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्ने छ । साथै सेवा बन्द हुने बारेमा सम्बन्धित संस्थाले आफ्नो वेवसाइटका साथै अन्य सूचनाका माध्यमबाट अनिवार्य रुपमा सूचना प्रकाशित गर्नुपर्ने छ । संस्थाले सेवाग्राहीको वालेट सक्रिय वा निष्क्रिय के छ भन्ने स्पष्टरुपमा देखाउनु पर्नेछ ।


क्लिकमान्डु