फ्रेञ्चाइज लिगमा व्यवसायिक घरानाको इन्ट्री



काठमाडौं । व्यवसाय बढाउने अनेकन तरिका हुन्छन् । व्यवसायीले पक्कै पनि त्यसमा ध्यान दिएका नै हुन्छन् ।

संसारभर नै व्यवसाय विस्तारका अनेकन उपाय अपनाइन्छन् । भारतको कुरा गर्ने हो भने प्रमुख रुपमा तीवटा विषय बढी बिक्री हुन्छन् । क्रिकेट, सिनेमा र क्राइम । क्रिकेटमा पैसा लगानी गर्ने जमात पनि ठूलै छ । इन्डियन प्रिमियर लिग (आइपिएल) का व्यवसायीक लगानी गर्ने समूह ठूलो छ ।

यसलाई व्यवसायको एउटा हिस्साको रुपमा नै अगाडि बढाइएको छ । यूरोपेली फुटबल क्लबमा समेत राम्रै लगानी हुने गरेको छ ।

बढी भन्दा बढी मानिसको जहाँ नजर पर्छ, त्यहाँ लगानी गर्नेको जमात उत्तिकै हुन्छ । बजारशास्त्रले भन्छ, व्यापारमा नाफा चाहिन्छ, जहाँ नाफा हुन्छ र बजार विस्तार हुन्छ, त्यहाँ लगानी जरुर नै गरिन्छ ।

नेपालमा पनि विगतमा छिटफुट रुपमा फुटबलमा लगानी भएकै थियो । चौधरी समूहको वाइवाइ, एशियन थाइ फुड, रारा तथा आहाका नाममा भएका लगानी नेपाली खेलप्रेमीले भूलेका छैनन् ।

यस्तै नेपाल टेलिकम, नेपाल आयल निगम जस्ता संस्थाले पनि खेल क्षेत्रमा लगानी गरेका थिए । अनेकन रुपमा गरिएका लगानीले नेपालको खेलकूद क्षेत्रलाई व्यवसायिक बनाउन सहयोग गरेको सन्दर्भमा पछिल्लो पटक व्यवसायिक घराना क्लब नै बनाएर लगानीका लागि मैदानमा ओर्लिएका छन् ।

नेपाल सुगर लिगको नाममा व्यवसायीक घराना खेलकूद क्षेत्रमा लगानी गर्न तयार भएका छन् । यो नेपालका लागि व्यवसाय विस्तार खेलकूद क्षेत्रको व्यवसायिककरणका लागि महत्वपूर्ण मानिएको छ ।

विगतमा वाइवाइ चाउचाउको प्रायोजन गरेको जर्सी लगाएर मैदानमा उत्रने खेलाडी अब भने व्यवसायिक घरानाकै नाममा क्लब नै बनाएर खेल्न तयार भएका छन् । यसको केन्द्रमा फेरि पनि चौधरी समूह नै छ ।

नेपाल सुपर लिगको आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीको मालिकमा चौधरी समूह नै छ ।

विगतमा प्रायोजनमात्रै गर्ने सो समूह यसपटक लिग व्यवस्थापनको जिम्मा लिएको छ ।

फ्रेञ्चाइजका लागि नेपाल ल्याउने काममा सो समूह लाग्यो । र, तयार भयो ७ वटा क्लब । ती क्लबलाई नेपालका प्रतिष्ठित घरानाले एक आपसमा मिलेर नेतृत्व लिएका छन् र लगानी पनि गर्ने भएका छन् ।

त्यसको पछाडि व्यवसाय विस्तार नै उनीहरुको केन्द्रमा रहेको छ । नेपाल स्पोटर्स म्यानेजमेन्टले लिगको व्यवस्थापन गर्ने भएको छ ।

व्यवसाय बिस्तारका साथ अगाडि बढाउन लागिएको नेपाल सुपर लिगको रमाइलो प्रसंग भने अर्को छ । व्यवसायिक घरानाले आफनो दोस्रो पुस्तालाई लिगमार्फत् मैदानमा उतारेको छ ।

नेपाल फुटबल संघ (एन्फा) र चौधरी ग्रुपले नेपालमा पहिलो फ्रेञ्चाइज लिग खेलाउने भएको छ । युवा खेलाडीको विकास तथा व्यवसायिक बिस्तारका लागि लिग महत्वपूर्ण हुने उनीहरुको भनाइ छ ।

नेपाल स्पोटर्स एन्ड इभेन्ट म्यानेजमेन्टको नेतृत्व भने चौधरी समूहका निर्वाण चौधरीकी श्रीमती अश्वेरिता कार्की चौधरीले लिएकी छिन् ।

आगामी वैशाख ११ गतेदेखि नेपालमा पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता सञ्चालन हुनेछ । सो प्रतियोगिताका लागि ७ वटा टोलीको बोलकबोलमार्फत् खेलाडी छनोट भइसकेका छन् ।

अघिल्लो वर्ष नै नेपाल सुपर लिग गर्न खोजिएको थियो । कोरोनाका कारणले गत वर्ष सम्भव हुन नसकेको आयोजकहरुको दावी छ । यसपटक कोरोनाको त्रास कम भएकाले पनि गत शुक्रबार खेलाडीको अक्सन गरिएको थियो ।

फुटबललाई व्यसायिक रुप दिने लक्ष्यका साथ व्यवसायीक घराना लागिपरेका हुन् । विराटनगर सिटी फुटबल क्लबको नेतृत्वमा छन्, अनुपरञ्जन भट्टराई । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक रहेका उनले फ्रेञ्चाइज लिगमा आफनो सशक्त उपस्थिती देखाउने तयारी गरेका छन् ।

गेम अन प्रालि नाम दिएर आइएमई समूह एफसी चितवन टोलीका साथ मैदानमा उत्रने तयारीमा छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई समूहका अध्यक्ष समेत रहेका चन्दप्रसाद ढकालले छोरा सचिनलाई गेम अन प्रालिका माध्यमबाट खेलकूदसँग जोड्दै व्यवसाय बिस्तार गर्न लागेका हुन् ।

ग्लोबल आइएमइ बैंक, चन्द्रागिरी हिल्स, आइएमई रेमिट्यान्स तथा डिस होमलगायतका व्यवसाय चलाइरहेका ढकालले छोरा सचिनलाई उनकै चाहनामा क्लब खडा गरेका हुन् । एक साता पहिले नै क्लबको लोगो तथा नाम सार्वजनिक भइसकेको छ ।

सो कार्यक्रममा ढकाल उपस्थित भएर नेपाल सुगर लिगको कप आफनो पोल्टामा आउने सन्देश दिएका थिए । चितवन एफसीले अक्सनबाट खेलाडी छनोट तथा प्रशिक्षकलाई समेत अनुबन्ध गरिसकेको छ । त्यसका लागि उसले २० लाख बढी खर्च गरिसकेको जनाएको छ । महंगो मूल्य तिरेर भएर पनि विदेशी खेलाडी समेत भित्र्याउने क्लबको तयारी छ ।

यस्तै यामाहा मोटरले पनि काठमाडौं रेजर्स एफसी नाम दिएर फ्रेञ्चाइज लिगमा पाइला हाल्दैछ । सो क्लबमा लगानी गर्न लागेका व्यवसायी हुन् विष्णुकुमार अग्रवाल ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अग्रवाल यामाहा, स्कोडा, जेसिबी र इस्कोर्टलगायतका ब्राण्डमा आवद्ध छन् ।

सोही संस्थाको सहायक संस्थाको रुपमा रहेको यामाहा मोरङ अटोका प्रमसख कार्यकारी अधिकृत रहेका चिरञ्जीवि शाहको नेतृत्वमा काठमाडौं रेजर्स एफससी फ्रेञ्चाइज लिगमा प्रवेश गर्दैछ ।

लिगका लागि मार्की र प्रशिक्षक एवम् अन्य खेलाडीका लागि ३० लाख बराबरको खर्च गरिसकेको छ । फुटबल टोलीका राष्ट्रिय प्रशिक्षक रहेका बालगोपाल महर्जनलाई सो क्लबले प्रमुख प्रशक्षिक बनाएको छ ।

देशभर नै भाटभटेनीको नाममा सपिङ मलको बिस्तार गर्दै आएका व्यवसायी मीनबहादुर गुरुङले छोरी कामनालाई ललितपुर सिटी एफसीको नाममा फ्रेञ्चाइज लिगमा हात हालेको छ ।

देशभर १८ वटा सपिङ मल चलाएको भाटभटेनीले खेलाडीलाई ५ लाखसम्म पारिश्रमिक दिने जनाएको छ । मार्की खेलाडीका रुपमा रहेका अञ्जन विस्टलाई नै सो क्लबले ५ लाखमा अनुबन्ध गरेको छ । गत सोमबार सो क्लबले जर्सी र क्लबको लोगो समेत सार्वजनिक गरेको छ ।

यस्तै, हुन्डाई अटोमोबाइल, लक्ष्मी स्टिल, सुजल डेरी, समृद्धि स्टिल, सुजल फुड्सलगायतको व्यवसाय गरिरहेको लक्ष्मी समूहले पोखरा थन्डर्सको नाममा फ्रेञ्चाइज लिग खेल्नेछ ।

व्यवसायी गणेशबहादुर श्रेष्ठका छोरा निराकर श्रेष्ठले सो क्लबको नेतृत्व गर्नेछन् । श्रेष्ठ सो समूहको कार्यकारी निर्देशक समेत हुन् ।

व्यवसायमा पोखराबाट उदाएकाले क्लबको नाम समेत पोखरासँग नै जोडेर राखेको सो समूहको दावी छ । विगतमा पनि विभिन्न खेलकूदमा लगानी गरेको सो समूहले पोखरा कप र ए डिभिजन लिगमा समेत पटक पटक प्रायोजन गरिसकेको छ ।

व्यवसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठ फुटवलमा क्लबलाई गर्ने स्पोन्सरबाट व्यवसायिकता बढाउन लगानी गरेको बताउँछन् ।

‘फुटवलमा हाम्रो पहिलदेखिकै रुची हो,हामीले १० वर्षसम्म क्लबलाई स्पोन्सर गर्यौ, खेलमा व्यवसायिकता बढाउनको लागि अहिले गरिएको लगानी हो,’श्रेष्ठले भने ।

भारतको आइपीएलको उदाहरण दिदै श्रेष्ठले व्यवसायिक ग्रुपको प्रवेशले खेलकुदमा लाग्नेलाई हौसला बढ्ने आम्दानी हुँदा यसलाई करिअर बनाउन सकिन्छ भन्ने आत्मविश्वास बढ्ने बताए ।

यस्तै बुटवल लुम्बिनी एफसीलाई इभेन्ट कोड र धनगढी एफसी समेत व्यवसायिक रुपमा मैदानमा उत्रिएको छ । इभेन्ट कोडका अध्यक्ष रामप्रसाद तिमिल्सिना वित्तीय तथा बीमा क्षेत्रको प्रतिनिधित्व गर्छन् ।

नेपालमा फ्रेञ्चाइज क्रिकेट ल्याउने श्रेय पाएका सुवास शाहीले धनगढी एफसीको नाममा मैदानमा उत्रिएका छन् ।

नेपाली फुटबलको व्यवसायिक बिस्तार गर्ने र आफनो मातृ व्यवसायलाई समेत अर्को उचाईमा लेजाने ध्येयका साथ व्यवसायिक घराना फ्रेञ्चाइज लिग नेपाल सुपर लिगमा लागेको छ । यसले व्यवसायिक प्रबद्र्धनका अलावा खेल क्षेत्रमा समेत नयाँ आयाम स्थापित हुने विश्वास लिइएको छ ।


क्लिकमान्डु