राष्ट्र बैंकले पुनरकर्जा दिएपछि साढे ३ % मा पुगेको अन्तर बैंक ब्याजदर १ % बाट तल झर्यो



काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) बढ्दै जाँदा अन्तर बैंक ब्याजदर ह्वात्तै घटेको छ । एक बैंकले अर्को बैंकसँग लिने सापटी अन्तर बैंक कारोबारको ब्याजदर एक सातामा नै साढे दुई प्रतिशत बिन्दुले घटेको हो ।

गत चैतको २ गते सोमबार अन्तर बैंक ब्याजदर ३.४३ प्रतिशत थियो । जसको एकसाता पछि अर्थात् चैत ९ गते २.४७ प्रतिशत बिन्दुले घटेर ०.९५ प्रतिशतमा कारोबार भएको राष्ट्र बैंकले जानकारी दिएको छ । सो अवधिमा अन्तर बैंक ब्याजदर ७१.७९ प्रतिशतले घटेको हो ।

राष्ट्र बैंकका अनुसार गत चैत १ गते बैंकिङ प्रणालीमा ४७ अर्ब रुपैयाँ तरलता थियो । जुन चैत ९ गतेसम्म आइपुग्दा १६ अर्ब ५९ करोड रुपैयाँले थप भएर ५८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

यस्तै चैत ३ गते प्रणालीमा ५१ अर्ब रुपैयाँ तरलता हुँदा अन्तर बैंक ब्याजदर ३.१० प्रतिशत र चैत ४ गते प्रणालीमा ५५ अर्ब रुपैयाँ तरलता हुँदा २.१८ प्रतिशत अन्तर बैंक ब्याजदर थियो ।

साथै, चैत ५ गते प्रणालीमा ५२ अर्ब रुपैयाँ तरलता हुँदा १.३८ अन्तर बैंक ब्याजदर र चैत ६ गते ५४ अर्ब रुपैयाँ तरलता र १.११ प्रतिशत अन्तर बैंक ब्याजदर कायम भएको थियो ।

यस्तै, चैत ८ गते प्रणालीमा ५४ अर्ब ७४ करोड रुपैयाँ तरलता हुँदा १.०२ प्रतिशत अन्तर बैंक ब्याजदर र चैत ९ गते ५८ अर्ब ५९ करोड रुपैयाँ तरलता हुँदा ०.९५ प्रतिशत अन्तर बैंक ब्याजदर कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बजारमा पुनरकर्जाको रकम जाँदा र विभिन्न क्षेत्रका बक्यौता भुक्तानी हुने क्रम बढ्दा तरलता हुँदै गएपछि अन्तर बैंक ब्याजदर घटेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

‘चैत लागेपछि बैंकहरुले एकमुस्ट करिब २० अर्ब जति पुनरकर्जा लगेका छन्, जसले गर्दा प्रणालीमा तरलता थप सहज बनाएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘सरकारको खर्च बिस्तारै बढ्दै गएको छ भने आयातकर्ताहरुले बैंकमा बुझाउनु पर्ने बक्यौता रकम पनि बुझाउँदा तरलता सहज हुँदा अन्तर बैंक ब्याजदर समेत घटेको हो ।’

राष्ट्र बैंकले १ खर्ब ४२ अर्ब रुपैयाँ एकमुस्ट पुनरकर्जा स्वीकृत गरिसकेको छ । जसमध्ये हालसम्म १ खर्ब १२ अर्ब रुपैयाँ बैंकहरुले लगिसकेको छ भने ३० अर्ब रुपैयाँ लैजान बाँकी छ । बैंकहरुले स्वीकृत पुनरकर्जा आवश्यकता अनुसार क्रमिक रुपमा लगिरहेको हुँदा पुरनकर्जाको रकमले कर्जाको माग पुरा गरी अन्तर बैंक सापटी कारोबार घटाएको प्रवक्ता ढकालको भनाइ छ ।

‘बैंकहरुले मागअनुसार कर्जा आपूर्ति गर्न संस्थामा पर्याप्त रकम नहुँदा अर्को बैंकबाट सापटी लिन्छन् तर नयाँ कर्जा प्रवाह गर्न भने अन्तर बैंक सापटी बैंकहरुले लिदैँनन्,’ उनले थप ‘पास भइसकके कर्जा तोकिएको समयमा दिनको लागि संस्थामा पैसा भएन भने बैंकहरुले अर्को बैंकबाट सापटी लिन्छन् ।’

यसरी छोटो अवधिका लागि लिइने कर्जाको ब्याजदर बैंकको आवश्यकता र मागअनुसार घटबढ भइरहन्छ । प्रणालीमा तरलता सहज हुँदा अन्तर बैंक ब्याजदर घट्ने र तरलता संकुचन हुँदै जाँदा ब्याजदर बढ्ने प्रचलन रहेको उनले जानकारी दिए ।

निक्षेपको ब्याजदर बढ्ने

केही समय पछि सबै बैंकहरुले निक्षेपकर्तालाई राम्रो ब्याजदर दिएर निक्षेप सुनिक्षित गर्ने अवस्था आउने उनले जिकिर गरे ।

‘दुई÷तीन महिनामा अघिको अवस्थामा प्रणालीमा प्रयाप्त रकम हुँदा प्रायः बैंकहरुले निक्षेपको ब्याजदर घटाएको थियो,’ प्रवक्ता ढकालले भने, ‘अहिले त्यो अवस्था छैन्, केही समयमै प्राय बैंकहरुले निक्षेपकर्तालाई आकर्षण गर्न निक्षेपको ब्याज बढाउने सम्भावना प्रवल छ, अहिलेको निक्षेपको रेट अनुसार ब्याजदर बढ्नु आवश्यक नै छ ।’

गत पुस ९ गते बैंकिङ प्रणालीमा १ खर्ब १२ अर्ब ११ करोड रुपैयाँ अधिक तरलता थियो । जुन ३ महिना पछि अर्थात् चैत ९ गतेसम्म ४७.७३ प्रतिशतले घटेर ५८ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको थियो ।

अहिले बैंकहरुको कर्जा प्रवाह बढेपनि सर्वसाधारण निक्षेपकर्तासँग संकलन गर्ने निक्षेपको घटेको छ । पुनरकर्जा वापतको पैसा, सरकारी खर्च, विभिन्न क्षेत्रको बक्यौता भुक्तानीले प्रणालीमा पर्याप्त तरलता हुँदा बैंकहरुको सर्वसाधारणबाट निक्षेप संकलन गरी तरलता बढाउन ध्यान नगएको उनको भनाइ छ ।

बैंकर्स संघको तथ्यांकअनुसार बैंकहरुले चैतको पहिलो सातामा १४ अर्ब ९ करोड रुपैयाँ निक्षेप थप गर्दा २३ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह थप गरेका छन् । सो अवधिमा १० वटा बैंक निक्षेप संकलन घट्दा कर्जा प्रवाह भने थप भएको छ ।

बैंकहरुले दिगो स्रोत नै सर्वसाधारणको निक्षेप भएकाले केही समयपछि बैंकहरुले ब्याजदर बढाएर नै भएपनि निक्षेपकर्तालाई आकर्षित गरी स्रोत संकलन गर्नुे उनको भनाइ छ ।


क्लिकमान्डु