बीपीसीको मनाङ मर्स्याङदी र विद्युत् प्राधिकरणबीच पीपीए, २०२५ भित्र निर्माण सक्ने लक्ष्य



काठमाडौं । बुटवल पावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता भएको छ । सो सम्झौतालाई लिएर अनेकन आशंका र विवाद पनि भएका थिए ।

प्राधिकरणले अन्य जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता रोकिरहेको बेला मनाङ मस्र्याङदीको भने सहजै रुपमा उक्त सम्झौता गरिएको छ ।

बुटवल पावर कम्पनीले सोमबार नै नेपाल स्टक एक्सचेञ्जलाई विद्युत् खरिद बिक्री सम्झौता भएको जानकारी गराएको छ । कूल १३५ मेगावाट क्षमताको सो आयोजना बुटवल पावर कम्पनीको स्वामित्वमा रहेको मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भएको छ ।

आयोजनामा चिनियाँ लगानी समेत रहेको छ । आयोजनाको बिजुली खरिद गर्ने सम्बन्धमा कसरी सम्झौता भयो भन्ने बारेमा केही बताइएको छैन ।

प्रबर्द्धक कम्पनीले विद्युत् नियमन आयोगमा पेश गरेको विवरणमा भने वर्षायाममा ४ रुपैयाँ ८० पेसा प्रतियूनिट र सुक्खायाममा ८ रुपैयाँ ४० पैसा प्रतियूनिट प्रस्ताव गरेको थियो । यस्तै, सुक्खायाममा पिकिङ ऊर्जाको प्रतियूनिट ८ रुपैयाँ ५० पेसा प्रस्ताव गरेको थियो । पिकिङको अवधि दैनिक १.६६ घण्टा रहेको छ ।

आयोजना अर्ध जलाशय प्रकृतिको हो । आयोजनाबाट कूल ७५ करोड ९ लाख ४८ हजार ८७५ किलोवाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुन्छ । आयोजनाबाट उत्पादन हुने बिजुलीको खरिद बिक्री दरको मूल्यवृद्धि हुने पटक र प्रतिशतः वार्षिक वृद्धि आधार दरमा ३ प्रतिशतका दरले ८ पटकसम्म हुनेछ ।

आयोजनाबाट वर्षायाममा ५२ करोड ४१ लाख ६२ हजार ५४९ किलोवाट घण्टा र हिउँदमा पिकिङ अवधिभर ३ करोड ७८ लाख ८४ हजार २०६ किलोवाट घण्टा ऊर्जा उत्पादन हुन्छ ।

आयोजनाको कूल लागत ३२ करोड २९ लाख ४५ हजार १०० अमेरिकी डलर रहेको छ । आयोजनाको वित्तीय व्यवसथापनको कार्य प्रक्रियामा रहेको छ । सो कार्य छिट्टै सम्पन्न गरी निर्माण कार्य शुरु गर्ने र सन् २०२५ को मार्च महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सो आयोजना चिनियाँ कम्पनीसँगको साझेदारीमा मस्र्याङदी नदीमाक्यासकेड अवधारणामा निर्माण गर्न लागिएको तीन आयोजनामध्येको पहिलो हो ।

आयोजना निर्माणसँगै वार्षिक ७६७ गिगावाट घण्टा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले जानकारी दिएका छन् ।


क्लिकमान्डु