कोरोनापछि ह्वात्तै बढ्यो डिजिटल बैंकिङ कारोबार, क्यूआर कोडमा आकर्षण



काठमाडौं । कोरोनाको संक्रमण तथा संक्रमण भय र लकडाउनले मानविय तथा अर्थतन्त्रमा नकारात्मक असर देखियो । कोरोना संक्रमणको भय र लकडाउनमा सबै सरकारी र निजी सेवा केन्द्र, शैक्षिक संस्थाहरु, बैंक तथा वित्तीय संस्था, कलकारखाना, उद्योग लगायत पसल र व्यापारिक केन्द्र बन्द हुँदा विद्युतीय भुक्तानीले समेटेका क्षेत्रमा भने सकारात्मक प्रवाभ परेको छ ।

सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यतामा मानिसहरु भीडभाडबाट टाढा रहेर आफ्नो आवश्यकता परिपुर्ति गर्दा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्युआर पेमेन्ट, अनलाइन सपिङलगायतका विद्युतीय भुक्तानीका कारोबारले फड्को मारेको छ ।

कोरोनापछि विद्युतीय भुक्तानी कारोबारमा अकर्षण बढ्योः राष्ट्र बैंक

कोरोना संक्रमणपछि नै मानिसहरुमा विद्युतीय भुक्तानीमा अकर्षण बढेको पाइएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए ।

‘प्रविधिको सरलता अथवा चाहनाले होस् या बाध्यताले जानी नजानी हामी सबै त्यसतर्फ उन्मूख हुँदा बजार नै अहिले विद्युतीय भुक्तानीको भइसकेको छ,’ कँडेलले क्लिकमाण्डूसँग भने, ‘ढिलो चाँडो सबै त्यसैमा पुग्नुपर्ने थियो । तर, कोरोनाको संक्रमणपछि मानिसमा विद्युतिय भुक्तानीतर्फको अकर्षण बढेको छ ।’

कोरोना संक्रमणपछि नेपालमा क्यूआर कोड पेमेन्टतर्फ सर्वसाधारणको आकर्षण धेरै बढेको उनले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणअघि मोबाइल र इन्टरनेट बैंकिङतर्फको आकर्षण र प्रयोगकर्ता क्यूआर प्रयोगकर्ताको तुलनामा बढी थियो,’ उनले थपे, ‘कोभिडले विद्युतिय भुक्तानीमा जान धकेल्दा क्यूआर कोर्ड भुक्तानीमा मानिसको आकर्षण अझ बढेको छ ।’

क्यूआर कोर्डबाट भुक्तानी भौतिक दुरी कायम राखी कार्ड नछोइ भुक्तानी गर्न मिल्ने भएको हुँदा कोरोना संक्रमणको जोखिम कम हुँदा यसमा आकर्षण बढेको उनको भनाइ छ ।

सरकारले नीति तथा कार्यक्रममा आगामी ५ वर्षभित्र डिजिटल नेपालको फ्रेमवर्क सम्पन्न गरी देशलाई डिजिटलतर्फ उन्मुख गराउने घोषणा गरेको छ । सोहीअनुसार राष्ट्र बैंकले समेत क्युआर पेमेन्टलाई प्राथमिकतामा राखी बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी ‘नगदरहित’ कारोबार अभियान नै चलाएको छ ।

उक्त अभियानको लक्ष्यलाई पुरा गर्न कोरोनापछि मानिसहरुको विद्युतीय भुक्तानीतर्फको आकर्षणले सहयोग गरेको राष्ट्र बैंकले जनाएको छ ।

‘डिजिटल नेपाल अन्तरगर्त ‘नगदरहित क्यूआर भुक्तानी’ कार्यक्रम सहभागीहरुले यस्तो कार्यक्रम ढिलो आयो, कोरोनाभन्दा अघि यस्तो कार्यक्रम आएको भए यसबीच यसको प्रभाव अझै बढ्ने उनीहरुले प्रतिकृया दिने गरेका छन्,’ उनले भने ।

कोरोनापछि विद्युतिय कारोबारको अवस्था

कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि सरकारले गत वर्षको चैत ११ गतेबाट ०७७ साउन ६ गतेसम्म लकडाउन गरेको थियो । सो पछि पनि विभिन्न स्थानीय निकायहरुले समय-समयमा डाउन गरेका थिए ।

सो अघिसम्म भौतिकरुपमै उपस्थित भएर बिजुली, खानेपानी, इन्टरनेट आदीको बिल झुक्तानीदेखि दैनिक उपयोग्य वस्तु र प्रयोगका सामान खरिद गर्ने उपभोक्ताले समेत संक्रमणको भय र परिस्थिति अनुकुल हुन विकल्पमा विद्युतीय भुक्तानीका माध्यममा आवद्ध भएको पाइन्छ ।

कोरोना संक्रमण र लकडाउनकै कारणले कनेट आइपिएस, इ- कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार ०७६ चैत ११ गते यता ०७७ माघ ३० गतेसम्म कनेट आइपिएस, इ- कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) मार्फत् १२ खर्ब ६७ अर्ब ५४ करोड ७० रुपैयाँ बराबरको कारोबार भएको छ । ०७६ चैत महिनामा भएको कारोबारको तुलना ०७७ माघ मसान्तमा यस्तो कारोबार ६ सय ५७. ९३ गुणाले बढेको छ ।

कनेट आइपिएस, इ-कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पिएसओमार्फत ०७६ चैत महिनामा ३५ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन ०७७ माघ महिनामा आइपुग्दा २ अर्ब ३६ अर्ब ५१ करोड ६० लाख रुपैयाँले बढेर २ खर्ब ७२ अर्ब ४६ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार विद्युतीय भुक्तानीका यस्ता माध्यममार्फत् ०७७ बैशाख महिनामा ४८ अर्ब ३२ करोड ८० लाख रुपैयाँ, जेठ महिनामा ७९ अर्ब ४९ करोड ९० लाख रुपैयाँ, असार महिनामा ९९ अर्ब ४१ करोड ५० लाख रुपैयाँ, साउन महिनामा ८० अर्ब ६ करोड ९० लाख रुपैयाँ र भदौ महिनामा ९६ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

साथै, असोज महिनामा १ खर्ब ३८ अर्ब ९ करोड २० लाख रुपैयाँ, काक्तिक महिनामा १ खर्ब १८ अर्ब ७ करोड ३० लाख रुपैयाँ, मंसिर महिनामा १ खर्ब ५७ अर्ब २३ करोड २० लाख रुपैयाँ र पुस महिनामा १ खर्ब ५७ अर्ब २३ करोड २० लाख रुपेयाँ बराबरको कारोबार भएको छ ।

राष्ट्र बैंक तथ्यांकअनुसार ०७६ चैत महिना ११३ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ रहेको कनेट आइपिएसको कारोबार ६ सय ५५.६४ गुणाले बढेर ०७७ माघ महिनामा १ खर्ब ४ अर्ब ३९ करोड ४० लाख रुपैयाँ पुगेको छ । साथै, समीक्षा अवधिमा १४ करोड ३९ लाख रुपैयाँ रहेको इ-कर्मशको कारोबार ५ सय ४७.६५ गुणाले बढेर ९३ करोड २० लाख रुपैयाँ पुगेको छ ।

यसैगरी ०७६ चैत महिनामा ६२ करोड ६३ लाख रुपैयाँ रहेको इन्टरनेट बैंकिङको कारोबार ०७७ माघ महिनामा १ हजार ३ सय ७३.२५ प्रतिशतले बढेर ९ अर्ब २२ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

साथै, समीक्षा अवधिमा ५ अर्ब ६४ करोड २९ लाख रुपैयाँ रहेको मोबाइल बैंकिङको कारोबार समीक्षा अवधिमा ५ सय ८३.९९ प्रतिशतले बढेर ३८ अर्ब ५९ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

०७६ चैत महिनामा १ अर्ब २६ करोड २३ लाख रुपैयाँ रहेको वालेटमार्फतको कारोबार ०७७ माघ महिनामा ६ सय ८८.०६ गुणाले बढेर ९ अर्ब ९४ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

साथै, समीक्षा अवधिमा २० करोड १६ लाख रुपैयाँ रहेको क्यूआर पेमेन्टमार्फतको कारोबार ७ सय ४९.३० गुणाले बढेर १ खर्ब ७१ अर्ब २० करोड रुपैयाँ र ४४ करोड रुपैयाँ रहेको पिएसओमार्फतको कारोबार ६ सय ४०.३० गुणाले बढेर ३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

बिजुली, खानेपानी बिल भुक्तानी गर्ने, मोबाइल रिचार्ज, फण्ड ट्रन्सफर, हावाइ टिकट तथा लामो दुरीका सवारीसाधनको टिकट खरिद इन्टरनेटको पहँच भएको स्थानबाट सजिलै विभिन्न मोबाइल बैंकिङ र वालेट प्रयोग गरी गर्न सकिने सुविधा छ ।

साथै, खाद्यान्नलगायतका अन्य दैनिक प्रयोगका सामान इ–कर्मशमार्फत् घरमै मगाउने कार्य प्रचलन बढ्दा पनि विद्युतीय कारोबार र यससँग सम्बन्धित कम्पनीको एप प्रयोगकर्ता बढ्दो छ ।

मोबाइल बैंकिङ एप डाउनलोड दोब्बरले बढ्यो

लकडाउन अवधिमा इसेवाजस्ता फोनपे र मोबाइल बैंकका एपहरू डाउनलोड, एपको प्रयोगकर्ता, कारोबार संख्या दोब्बरले बढेको डिजिटल फाइनासिङका मध्यस्थताकर्ता तथा मोबाइल बैंकिङ एप निर्माण कम्पनी एफ वान सफ्टका कार्यकारी अधिकृत सुवास शर्माले बताए ।

‘नेपालमा कोरोना संक्रमण अर्थात् लक डाउन शुरु हुन अघि ०७६ फागुनमा मोबाइल बैंकिङ डाउनलोड गर्ने र रजिष्टर गर्ने कस्टमर धेरै थिए तर प्रयोग भने गर्दैनन् थिए,’ उनले क्लिकमाण्डूसँग भने, ‘तर कोरोना शुरु भएपछि हालसम्मको तथ्यांक हेर्दा मोबाइल बैंकिङ एप डाउनलोड गर्नेको संख्या दोब्बरले बढेको छ ।’

कोरोनापछि घरै बसेर इन्टरनेट, खानेपानी बिजुली लगायतका बिल भुक्तानी र अनलाइन सपिङ गर्नै भएपनि मानिसहरुमा मोबाइल बैंकिङ एपमा भएको सुविधाहरु उपयोग गर्न इच्छुक हुँदा डाउनलोड र प्रयोग कर्ता बढेको उनको भनाइ छ ।

कोरोना संक्रमण शुरु हुन अघिको समयमामोबाइल बैंकिङ एपको फोन पे को क्यूआर स्क्यानमार्फत् दैनिक ८ हजार कारोबार हुनेमा अहिले दैनिक २३ हजार पुगेको उनले जानकारी दिए । साथै इन्टर बैंक कारोबार कोरोना अघि दैनिक ९ हजारको हाराहारीमा हुनेमा अहिले ४० हजारसम्म पुगको उनले जाकारी दिए ।

‘कोरोना संक्रमण शुरु हुनपुर्व कतिपयले मोबाइल बैंकिङ डाउनलोड गरेपनि चलाउन सिकेका पनि थिएनन्,’ उनले थपे, ‘यसबीचमा मानिसहरु घर बाहिर निस्किन नपाउँदा मोबाइल बैंकिङ एप प्रयोगको आवश्यकता महशुस भएपछि आफैं चलाउन सिकेर प्रयोग बढाए, सो अघि हामीले बैंकहरुसँग समन्वय गर्दै ग्राहकलाई एप प्रयोगबारे विज्ञापन तथा कार्यक्रम नै राख्नु पर्यो ।’

अहिले लकडाउनको अवस्था नभएपनि मानिसहरुलाई आवश्यकता महशुस भएर बढाएको डिजिटल पेमेन्टको प्रयोगलाई छोडेर पुनः नगद भुक्तानीमा नफर्किने उनको विस्वास छ ।

मोबाइल बैंकिङ एप डाउनलोड रजिष्टर र कारोबारको विवरण

नेपालमा सञ्चालनमा रहेका प्रायः बैंक तथा वित्त कम्पनीका मोबाइल बैंकिङ एप एफ वान सफ्टले जिर्माण गरेको हो । जसमा हिमालन बैंक, नेपाल इभेष्टमेन्ट बैंक र स्ट्यान्डर्ट चार्डर्ट बैंक र १/२ जिल्ले विकास बैंकहरु बाहेक सबै बैंक तथा वित्त कम्पनी र ४ वटा सहकारी संस्था सहित ५४ वटा बै्क तथा वित्त कम्पनी र सहकारीको मोबाइल बैंकिङ एप निर्माण गरेको उनले जानकारी दिए ।


एफ वान सफ्टका अनुसार यी ५४ वटा बैंक तथा वित्त कम्पनीका मोबाइल बैंकिङ एप ०७६ फागुन मसान्तसम्म ११ लाख १५ हजार ५ सय ५९ प्रयोगकर्ताले डाउनलोड गरेका छन् । जुन ०७७ फागुन मसान्तमा आइपुग्दा १ सय ३४ प्रतिशतले वृद्धि भएर २६ लाख १४ हजार ३ सय १७ पुगेको छ ।

यसैगरी, ०७६ फागुन मसान्तसम्म डाउनलोड भएका मोबाइल बौकिङ एप दर्ता गर्नेको संख्या ९७ लाख ७२ हजार ३ सय ५७ थियो भने सो संख्या ०७७ फागुन मसान्तसम्म आइपुग्दा ३५ प्रतिशतले वृद्धि भएर १ करोड ३१ लाख ७७ हजार ४ सय ९४ पुगेको छ ।

साथै, मोबाइल बैंकिङ एपमार्फतको कारोबारको संख्या ०७६ साल फागुन मसान्तमा १० लाख ३७ हजार ८९ थियो । जुन ०७७ फागुन मसान्तमा आइपुग्दा ५२ प्रतिशतले वृद्धि भएर २१ लाख ५९ लाख ८ सय ३७ पुगेको छ ।

एफ वान सफ्टले उपलब्ध गराएको तथ्यांकअनुसार ०७६ फागुन मसान्तमा वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एप डाउनलोडको संख्या १० लाख १४ हजार ७ सय ५१, विकास बैंकहरुको ८९ हजार ३ सय ६५ र अन्य वित्त कम्पनीको ११ हजार ४ सय ४३ थियो । जुन ०७७ फागुन मसान्तमा आइपुग्दा वाणिज्य बैंकहरुको २३ लाख ९९ हजार २ सय ४४, विकास बैंकहरुको १ लाख ८४ हजार १ सय ७३ र अन्य वित्त कम्पनीको ३० हजार ९ सय पुगेको छ ।

यस्तै, ०७६ फागुन मसान्तमा वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एप रजिष्ट्रारको संख्या ८५ लाख ७० हजार ६ सय २८, विकास बैंकहरुको ११ लाख ९ हजार ६ सय ७ र अन्य वित्त कम्पनीहरुको ९२ हजार १ सय ३३ थियो । जुन ०७७ फागुन मसान्तमा वाणिज्य बैंकहरुको १ करोड १७ लाख ३८ हजार ३५, विकास बैंकहरुको १२ लाख ९८ हजार १ सय ५ र अन्य वित्त कम्पनीहरुको १ लाख ४१ हजार ३ सय ५४ पुगेको छ ।

साथै, ०७६ फागुन मसान्तमा मोबाइल बैंकिङ एपमार्फत् दैनिक कारोबार गर्नेको संख्या वाणिज्य बैंकहरुको ९ लाख ५६ हजार ९ सय ७९, विकास बैंकहरुको ७१ हजार ७ सय ६४ र अन्य वित्त कम्पनीहरुको ८ हजार ३ सय ४६ थियो । जुन ०७७ फागुन मसान्तमा वाणिज्य बैंकहरुको २० लाख १ हजार ६ सय ४४, विकास बैंकहरुको १ लाख ३६ हजार ९ सय ३४ र अन्य वित्त कम्पनीहरुको २१ हजार २ सय ५९ पुगको छ ।

डिजिटल बैंकिङ कारोबारका तथ्यांकले भौतिक उपस्थितिमा दिनभर अथवा घण्टौं समय खर्चेर आवश्यकताका वस्तु तथा सेवा खरिद गर्ने तथा प्रयोग गर्ने प्रचलन विस्तारै घट्दै गएको प्राष्ट हुन्छ ।


पुष्प दुलाल