कोभिडका कारण आम्दानी घटेको चन्द्रागिरीको सेयर मूल्य कतिमा पुगेर बढ्न रोकिएला ?



काठमाडौं । पूँजीबजारका लगानीकर्ताका लागि ब्लु चिप कम्पनीका रुपमा चिनिएको चन्द्रागिरि हिल्स कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएयता लगातार बढिरहेको छ ।

१० कित्ता आइपीओ पर्नेहरु १ हजार रुपैयाँको लगानीलाई १४ हजार २ सय १० रुपैयाँ बनाउन सफल भएका छन् । कम्पनीको सेयर सूचिकृत भएयता ३ पटकसम्म प्रि–ओपन सेसनमा घटाउने प्रयास भए पनि त्यो सफल भएन् ।

जसका कारण आइतबारको कारोबार सकिँदासम्म कम्पनीको सेयर प्रतिकित्ता १४२१ रुपैयाँ पुगेको छ । बजारमा चन्द्रागिरि हिल्स कम्पनीको सेयर मागका आधारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम अझै केही दिन निरन्तर रहने देखिन्छ ।

आइतबार पनि कम्पनीको सेयरमा ५ लाखभन्दा बढी कित्ता माग कायमै छ । शुरुवाती दिनमा कम्पनीको कुल सूचिकृत सेयरको तुलनामा डेढ गुणासम्म माग थियो ।

नेप्सेमा कम्पनीको कुल १५ लाख ३४ हजार ९१० कित्ता सेयर सूचिकृत छ तर शुरुवाती दिनमा २५ लाख कित्तासम्म माग थियो । यो आइतबारको कारोबारसम्म आउँदा ५ लाखभन्दा बढी अझै कायमै छ । यही ट्रेण्डलाई हेर्दा कम्पनीको सेयर मूल्य साताको अन्तिम दिन बिहीबारसम्म २ हजारको आँकडा छुने सक्ने देखिएको छ ।

कुल चुक्तापुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार ८ रुपैयाँ भएको कम्पनीको बजार पुँजीकरण आइतबारको कारोबार सकिँदासम्म १९ अर्ब ८२ करोड ४ लाख ५५ हजार ७२० रुपैयाँ पुगेको छ ।

कम सप्लाइ हुँदा सेयर मूल्य बढ्यो

चन्द्रागिरि हिल्स कम्पनीको नेप्सेमा १५ लाख २४ हजार ९१० कित्ता सेयर छ । आइपीओ बाँडफाँट हुँदा १ लाख ३४ हजार जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

अहिले बजारमा कारोबार भइरहेको त्यही १० कित्ता सेयर हो । १० कित्ताभन्दा बढी सेयरको कारोबार अहिलेसम्म हुन सकेको छैन् । अर्थात् लगानीकर्ताहरु सप्लाइ कम भएको फाइदा उठाउँदै कर्नरिङको खेलमा लागेका छन् ।

लक्की ड्रमार्फत् आइपीओ पार्ने मध्येका अधिकांशले आपीओ तत्कालै बिक्री गर्ने अवस्था छैन् । कुल डिम्याट खाता खोल्ने र दोस्रो बजारमा कारोबार गर्नेको संख्यालाई विश्लेषण गर्दा मुस्किलले ३० प्रतिशत लगानीकर्ता दोस्रो बजारमा कारोबार गर्छन् । यस आधारमा कुल सवा १५ लाखभन्दा बढी सेयर कित्ताका ३० प्रतिशतको हाराहारीमा मात्रै बजारमा आउन विश्लेषण गर्न सकिन्छ ।

यही कम सप्लाइ भएको सेयरका आधारमा अहिले कम्पनीको १० कित्ता बटुल्ने नीति कतिपय लगानीकर्ताको रहेको देखिन्छ । भविष्यमा कर्नरिङ गरी मूल्य बढाउने नीति लिएको देखिन्छ । हिजोका दिनमा बिशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन सेयर मूल्यलाई पनि कर्नरिङ गरेरै सेयर मूल्य बढाएको यथार्थ सबै सामू छर्लंगै छ ।

कम्पनी आइपीओ जारी गर्दा प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर नेटवर्थ आर्थिक वर्ष २०७३/७४ मा ९४.५२ रुपैयाँ थियो भने आव २०७४/७५ मा ९६.६३ रुपैयाँ थियो । त्यसैगरी कम्पनीको आव २०७५/७६ मा ९६.६९ रुपैयाँ र आव २०७६/७७ मा ८४.८८ रुपैयाँ थियो । त्यसैगरी प्रतिसेयर आम्दानी आव २०७६/७७ मा अपरिष्कृत विवरण अनुसार १२.६७ रुपैयाँ थियो ।

कोरोना महामारीका कारण सञ्चालन बन्द हुँदा कम्पनीको नाफामा उल्लेख्यरुपमा संकुचन आएको थियो । आर्थिक वर्ष २०७३/७४ मा ५ करोड ४८ लाख ८०८ रुपैयाँ नाफा भएकोमा त्यसयता नाफामा उल्लेख्यरुपमा कमी आएको छ । कम्पनीले आव २०७४/७५ मा ३ करोड ३६ लाख ६३ हजार रुपैयाँ, आव २०७५/७६ मा ३ करोड ३० लाख ९५ हजार र आव २०७६/७७ मा जम्मा २ करोड ४१ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो ।


क्लिकमान्डु