बालुवाटारमा प्रधानमन्त्री ओलीको व्यवसायीलाई क्लासः विद्युतीय गाडी उद्योग खोल्न सुझाव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शासकिय अव्यवस्था र सरकारले जनतालाई विकासमा मार्गदर्शन गर्न नसकेका कारण नेपाल गरिब देश भएको बताएका छन् ।

शुक्रबार सांझ बालुवाटारमा उद्योगी व्यवसायीहरुसंगको भेटघाटमा उहाँले शासकिय अव्यवस्था र सही नीतिवि निर्धारण हुन नसक्नु तथा भएका नीतिको पनि सही कार्यान्वयन हुन नसक्नु लगायतले मुलुकलाई गरिब बनाएको तर्क गरे । तर वर्तमान सरकार विकासको गतिमा अघि बढेको र सोही अनुसार पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेकाले अब मुलुक आधुनिकता तर्फ लम्केने आश्वासन दिए ।

‘हामी देश विकास गर्न चाहन्छौ । यो गरिब हुनै नहुने देश । गरिब हुनै नसक्ने देश । गरिब हुनै नपर्ने देश तर यथार्थमा गरिब छ । शासकिय अव्यवस्था र जनतालाई विकासमा सरकारले मार्गदर्शन गर्न नसक्नु, सही नीति निर्धारण गरेर त्यसबाटोमा अघि बढ्न नसक्दा भएको हो, ‘ प्रधानमन्त्री ओलीले भने ।

विभिन्न नीतिगत व्यवस्था सहि बन्न नसक्दा आर्थिक उन्नति हुन नसकेको र देशले विकासका गति समात्न नसकेको तथा मुलुकमा पुर्वाधार विकासका पक्षमा उल्लेख्य काम भएको भन्दै इतिहास झल्कने आधुनिकता टल्कने दिशामा नेपाल अगाडि बढेको दाबी प्रधानमन्त्रीको छ ।

समग्र राष्ट्रिय सामाजिक जीवनको सम्पुर्ण क्षेत्र कृषि, उद्योग, व्यापार,पर्यटन, शिक्षा,स्वास्थ्य लगायतको उत्थानबाट सम्मृद्ध नेपाल र आधुनिक नेपाल बनाउन चाहेको तथा उत्पादन, उद्योग लगायतको समग्र उत्थानका लागि सरकार आवश्यक काम गर्न तयार रहेको भन्दै उपयुक्त र तथ्यपरक आधार सहित सुझाव दिन प्रधानमन्त्रीले व्यवसायीलाई आग्रह गरे ।

उद्योग व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार सधै तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग व्यवसाय गतिशिलताकासाथ अघि बढ्नुपर्ने स्पष्ट पारे । स्वदेशी उत्पादनको प्रयोग मात्रै नभई गुणस्तरीय स्वदेशी उत्पादन बढाउन पनि प्रधानमन्त्रीले सुझाव दिए ।

प्रधानममत्री ओलीले ‘कोही पनि पछाडि छोडिनु हुदैन, पछाडि पर्नु ÷पारिनु हुदैन” भन्ने भनाईलाई सार्थक रुपमा अगाडि बढाउने बताए ।

अटोमोबाइल्सका समस्याको कुरा भन्दा पनि नेपालमै अटोमोबाईल्स खोल्ने योजनामा लाग्न उद्योगीलाई सुझाव दिए ।  त्यसैगरी रोजगारी दिनेखालका इन्ड्रष्ट्रिज खोल्न पनि उहाँले उद्योग व्यवसायीलाई आग्रह गरे ।

‘अटोमोबाइल्स यही खोल्नुभयो भने तपाईहरुले सोचेको भन्दा बढी सुविधा दिन्छौ । खोल्नुहोस् र एउटा अटोमोबाइल्स । के सुधार गर्नुपर्यो ? कसैले अध्यादेश ल्याउनै हुदैन भन्यो भने पनि जरुरी पर्यो भने अध्यादेश ल्याउछ सरकारले । ६ महिना संसद श्रद्धाञ्जली दिदै उठ्दै गर्दा अनि हामीले अत्यावश्यक कुरामा यस्तो कुराहरुमा बिलम्ब गर्न सक्तैनौ, ‘ उनले भने ।

प्रधानमन्त्री ओलीले अत्यावश्यक कच्चा पदार्थ बाहिरबाट ल्याएर उद्योगधन्दा भने स्वदेशमै सञ्चालन गर्न सुझाव दिए ।

‘आयात गर्ने कुरालाई म खास व्यापार ठान्दिनँ । म पनि चामल किनेर खान्ँछु म व्यापारी भएँ ? किनेर गर्ने व्यापार खास व्यापार होइन ।’ प्रधानमन्त्रीले भने ।

पेट्रोलियम इनधनबाट सञ्चालित सबै गाडी २० बर्ष पछि विस्तापित गरिने भएकाले अहिले देखि नै इलेक्टीक भेईकलको उद्योग खोल्न पनि उनले सुझाव दिए ।

इलेक्ट्रीक भेईकलको उद्योग खोल्नुहोस् न अहिलेदेखि नै । पार्टीको घोषणपत्रमा उल्लेख भएका विषयहरु विर्सेको छैन । मेरो घोषणापत्र र मेरा कामहरु सम्झना छ । ढुंगा टिपेर हानिदियो जहाँ झर्यो त्यसैलाई ताकेकै त्यही हो भन्दैनौ । हामी टार्गेट बनाएर हिडेका छौ ।”

उद्योगीले मागेको बिजुली दिन नसकेको स्वीकार गर्दै पहिलेदेखि विग्रिएको स्थितिलाई सरकारले सम्हाल्दै गरेको बताए । क्षमता वृद्धि संगै सहप्रयोगको सिद्धान्त अनुसार तार व्यवस्थापनको काम गर्न लागिएकाले विद्युत्को सवालमा केही समय लाग्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सडक मान्छे, वेसहारा, सडक बालबालिका लगायत सबैलाई वर्तमान सरकारका कारण हटेको भन्दै सडकसञ्जाल विकास लगायतका उपलब्धिको पनि चर्चा गरे ।

उनले व्यवसायीको माग अनुसार सरकार व्युरोक्रेटिक समस्या समाधान गर्न सरकार लागिरहेको बताए । उद्योगीका समस्या सुन्नका लागि मात्रै नभई सम्बोधन गरेर अघि बढ्नका लागि छलफल गरिएको भन्दै सरकार नीजि क्षेत्रको समस्या सुनेर मात्रै नबस्ने बताए । “सुनेर पारित गर्ने हो र ? सुनेर पाप कट्छ भनेर होइन काम गर्न र अवस्थामा परिर्वतन ल्याउनका लागि बसेको हो । नीजि क्षेत्रको समस्या नसुन्ने, त्यत्तिसम्म नि होइन यो सरकार,”प्रधानमन्त्री ओलीले भने ।

विगतमा आफ्नै देश भित्र काम गर्ने अवस्था श्रृजना नभएपनि युवाहरु खाडी मुलुक पस्न बाध्य भएको भन्दै उनले वर्तमान सरकार समग्र समाजको सामाजिक ,राजनीति उत्थानका साथ स्वस्थ्य अर्थतन्त्र मौलाओस् भन्ने पक्षमा रहेको बताए ।

‘खाडीमा मान्छेहरु अहिलेको सरकारले पुराएको हो र ? द्धन्द्धका कारण पुगेको हो नि । ‘ओलीले थपे ।

कार्यक्रममा उद्योग व्यवसायीले आ आफ्नो क्षेत्रको समस्या र सरकारले गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाएका थिए । केही उद्योगीले चुनावको बेलामा घोषणापत्रमा समावेश गरेका कुरालाई सत्तामा पुगेपछि विर्सने गरिएको भन्दै व्यवसायीलाई ससम्मान व्यवसाय गर्ने वातावरण श्रृजना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


क्लिकमान्डु