फेरि बढ्यो तेलको मूल्य, विभाग भन्छ- थाहै छैन



काठमाडौं । तीन महिना अघि उद्योगीहरूले वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागसमक्ष अन्तर्राष्ट्रिय बजारमै तेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्य वृद्धि भएकाले तेलको मूल्य वृद्धि भएको भन्दै छलफल गर्न पुगेका थिए ।

उक्त छलफलमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको अभाव र मूल्य बढेकाले नेपालमा पनि आयात गरी उत्पादन गर्दा मूल्य वृद्धि भएको जनाएको थियो ।

तर, बिस्तारै बजारमा अत्यधिक मात्रामा तेलको मूल्य बढेपछि उपभोक्ताहरूले मूल्य वृद्धिबारे गुनासो गरे । उपभोक्ताकर्मीबाट गुनासो आएपश्चात विभागले अनुगमनका लागि देशभरका उद्योगको विवरण मगाएर अध्ययन गर्यो ।

अध्ययनको क्रममा केही उद्योगले अत्यधिक मूल्य बढाएको पाइयो भने केहीले मूल्य नबढाएको पायो । साथै, अत्यधिक मूल्य बढाएको दुई उद्योगलाई कारबाही पनि गर्यो । त्यसँगै कारबाही भएपश्चात

केही उद्योगहरूले मूल्य घटाएको पनि थियो । विभागले देशभरको उद्योगको विवरण माग गरेर अध्ययन गर्दा दुई वटा बाहेक अन्य उद्योगी कारबाहीमा परेनन् ।

लगातार तेलको मूल्य बढ्दै जाँदा विभागले अध्ययन गर्न मगाएको प्रतिवेदनबाट कच्चा पदार्थको मूल्य वृद्धि भएका कारण नै मूल्य वृद्धि भएको निष्कर्ष निकालेका थिए । साथै, अनुगमन पनि तीव्र गरेको विभागले जनाएको छ ।

विभागको अनुगमनपश्चात केही मात्राले बजारमा तेलको मूल्य घटेको दावी गर्छन । जसमा विभिन्न उद्योगले करिब १० देखि २० रुपैयाँसम्म मूल्य घटाएको विभागले जनाएको छ ।

तर, पछिल्लो समय घटाएको मूल्यमा पनि पुनः मूल्य बढाएको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार उद्योगीहरूले बीचमा मूल्य घटाएजस्तो गरेपनि पछिल्लो समय पुनः मूल्य बढेको बताए ।

हाल बजारमा विभिन्न कम्पनीका तेलहरू उपलब्ध छन् । जसमा विगतको दिनमा अधिकतम प्रतिलिटर १७५ रुपैयाँ पर्ने सनफ्लावर तेलको मूल्य बढेर अहिले प्रतिलिटर २१० रुपैयाँदेखि २४० रुपैयाँसम्ममा बजारमा बिक्री भइरहेको छ ।

‘बजारमा भान्सामा प्रयोग हुने तेलको मूल्य अत्याधिक बढेको गुनासो आएपश्चात उद्योगीहरूले बीचमा घटाएको थियो । तर, अहिले घटाएको तेलको मूल्य पुनः बढेर बजारमा आएको छ,’ उनले भने ।

बजारमा बिनाकारण मूल्य बढाएको विभिन्न तहबाट गुनासो तथा आक्रोस पोखे पनि सरकारी निकायलाई यसप्रति गम्भीरताका साथ नलिँदा दिन प्रतिदिन मूल्य बढेर व्यवसायी तथा उपभोक्ता मारमा परेको उनको भनाइ छ । साथै, संघले मूल्य वृद्धिबारे ध्यानाकर्षण गराएपनि उपयुक्त ढङ्गले अनुगमन नगरेको उनको अनुभव छ ।

‘पछिल्लो समयमा बजारमा उपलब्ध भएको तोरीको तेल, सोयाबिन, सनफ्लोलगायत अन्य विभिन्न प्रकारका तेलमा करिब उद्योगले नै प्रतिलिटर १० देखि १५ रुपैयाँ बढाएको छ,’ उनले भने, ‘बजारमा अहिले तेलको मूल्य बढाउनुपर्ने कुनै कारण छैन भनिरहँदा उद्योगीहरूले भने मनपरी मूल्य कायम गरिरहेको छ ।’

त्यसैगरी केराउको मूल्य पनि बढ्दै गएको उनले जानकारी दिए । तेलको मात्रै नभएर पछिल्लो समय केराउको मूल्य प्रतिकेजी १५० रुपैयाँमा बिक्री भइरहेको बताए ।

यसले गर्दा बजारमा मूल्य घट्नुभन्दा पनि बिनाकारण दिनप्रति दिन खाद्यान्नको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको उनको बुझाइ छ । हाल बजारमा अधिकांश खाद्यान्नको मूल्य वृद्धि भइरहेको छ । तर, यस विषयमा अध्ययन अनुसन्धान गर्ने निकायनै बेखबर भए जसरी बसेको उनले बताए ।

सरकारको वेवास्थाले उपभोक्ता सँधै मारमाः उपभोक्ताकर्मी
पछिल्लो समय मूल्य घटाएजस्तो गरेर पुनः मूल्य बढाएकाले बजारका मूल्य घटाउनेमा सरकारले जोड दिनुपर्ने उपभोक्ताकर्मीहरूको भनाइ छ । उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार सरकारी निकायले मात्रै अनुगमन गरेर मात्रै प्रभावकारी नभएको बताए ।

‘विभागले गरेको अनुगमनले मात्रै बजारको मूल्य घट्दैन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘बजार अनुगमन गर्दैमा, कारबाही गर्दैमा मूल्य नघट्ने र सुधार पनि हुँदैन् ।’ अध्यक्ष महर्जनले बजार अनुगमन भनेको गुनासो आएको अवस्थामा र मौसमी अनुगमन मात्रै भएको बताए ।

यस्तै, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाका अनुसार विभिन्न बाहाना बनाएर उद्योगीले मूल्य बढाएकोमा विभागले अध्ययन तथा अनुसन्धान गरेर अनुगमन गर्नुपर्ने बताए ।
पछिल्लो समय विभिन्न तेलको मात्रै नभएर खाद्यान्नको मूल्य पनिा अत्याधिक बढेको हुनाले अध्ययन तथा अनुसन्धान गरेर मूल्य बढाउनेमा हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ । साथै, सरकारले नै बजार अनुगमनमा तीब्रता नदिँदा उद्योगीहरूले खुलेआम विभिन्न बाहानामा मूल्य बढाउने प्रवृत्ति कायमै रहेको उनको भनाइ छ ।

मूल्य बढेको थाहा छैनः विभाग
बजार अनुगमन तथा नियमन गर्ने सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई भने पछिल्लो समय तेलको मूल्य बढेकोबारे थाहा नभएको विभागका निर्देशक एवं प्रवक्ता शिवराज शेडाईंले जानकारी दिए ।

उनका अनुसार विभागले अनुगमन गरेपश्चात तेलको मूल्य घटेको थियो । तर, पछिल्लो समय उद्योगीले पुनः बढाएकोबारे थाहा नभएको बताए ।

‘बजारमा अन्तर्राष्ट्रिय सिद्धान्तले बजारको मूल्य निर्धारण गर्ने गर्दछ । यसमा सरकारले तोकेभन्दा बढी मुनाफा राखेर बजारमा सामग्री बिक्री वितरण गर्छ भने त्यस्ता उद्योगी तथा व्यवसायीलाई कारबाही गर्छौ,’ उनले भने, ‘तेल उद्योगीहरूको बारेमा यस अघि पनि अध्ययन गरेको हुनाले बजारमा पुनः मूल्य बढाएको छ भने पुनः अनुगमन गरी कारबाही गर्छौं ।’

सेढाइले तेल उद्योगीले कृत्रिम हो वा प्राकृतिक रुपले मूल्य बढाएको भन्ने विषयमा अध्ययन गरी निष्कर्ष निकाल्ने र सोही अनुसार उद्योगीहरूलाई कारबारी गर्नुपर्ने अवस्थामा कारबाही गर्ने बताए ।


क्लिकमान्डु