सामाजिक सुरक्षा कोषमा आबद्ध हुने रोजगारदाता बढे



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहिलो चरणमा ल्याएको कार्यविधि प्रभावकारी नभएको भन्दै कार्यविधि, २०७५ (दोस्रो संशोधन) कार्यान्वयनमा ल्याएपश्चात कोषमा आबद्ध हुने रोजगारदाताको संख्या दैनिक बढ्दै गएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको सामाजिक सुरक्षा कोषले चार वटै योजनामा रोजगारदाता र श्रमिकको हितलाई समेटेर संशोधन गरेपछि आबद्ध हुने रोजगारदाताको संख्या बढ्दै गएको हो ।

कोषले विगतको दिनमा विभिन्न क्षेत्रमा छलफल तथा अन्तक्रिया कार्यक्रम गर्दा पनि सूचिकृत हुन अन्कनाइरहेको रोजगारदाता संशोधनपश्चात रोजगारदाता स्वयं सूचिकृतका लागि लाभान्वित भएको कोषले जनाएको छ । साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साप्तहिक प्रगति विवरणको तथ्याङ्कले पनि कोषमा रोजगारदाताको संख्या बढेको प्रष्ट पार्दछ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार गत फागुन २१ देखि फागुन २८ गतेसम्ममा ११० रोजगारदाता र ८०८ जना श्रमिक आबद्ध भएका छन् । जुन साप्ताहिक रुपमा हालसम्मकै उच्च हो ।

उक्त सूचिकृत रोजगारदाता र श्रमिकबाट ८ करोड ६८ लाख रुपैयाँ कोषमा रकम संकलन भएको तथ्याङ्कले देखाउँदछ ।

यस्तै, यसभन्दा अगाडिको हप्तामा जम्मा ३२ वटा रोजगारदाता मात्रै आबद्ध भएका छन् । जसमा गत २१ गते सम्मको साप्ताहिक विवरण र २१ गतेदेखि २८ गतेसम्मको विवरण तुलना गर्दा दोब्बरले रोजगारदाताको संख्या बढेको पाइन्छ ।

त्यसैगरी कोषले एक हप्तामा ८८ जना योगदानकर्तालाई योजना अनुसार ५३ लाख १९ हजार दावी भुक्तानी गरेको तथ्याङ्कले उल्लेख गरेको छ ।

त्यसैगरी, कार्यविधि संशोधनपश्चात पछिल्लो समय कोषमा रोजगारदाता र श्रमिक सूचिकृत हुनेको संख्या दैनिक रुपमा बढ्दै गएको कोषको सूचना अधिकारी डा.रोशन कोजुले जानकारी दिए ।

उनका अनुसार विगतको दिनमा दैनिक ३,४ जना रोजगारदाता र ७० जना जति श्रमिक हुन्थ्यो भने अहिले दैनिक रुपमा २० जनाभन्दा बढी रोजगारदाता आबद्ध हुन थालेको बताए ।

‘कोषले कार्यविधि संशोधनपश्चात देशभरका रोजगारदाता र श्रमिकसमक्ष अन्तक्रिया र छलफल तीब्र रुपमा बढाएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘कोषले पछिल्लो संशोधनमा रोजगारदाता र श्रमिकको हतहितको समेटेको छ । अहिले शुरुवाती चरणमा छौं । तर विस्तारै दिन प्रतिदिन बढ्दै गएको छ ।’

कोषले सबै निजी क्षेत्रलाई आबद्ध गराई सूचिकरण बढाउने भएकाले देशको पूर्व, पश्चिमदेखि सबै स्थानमा कार्यक्रमहरू भइरहेको बताए । त्यस्तै, आगामी दिनमा सूचिकृत रोजगादाता र श्रमिकलाई प्रदान गर्ने सेवा सुविधालाई सहज बनाउने गरी कोषले कार्य अघि बढाएको उनको भनाइ छ ।

हालसम्म कोषमा १३ हजार ५ सय २६ रोजगारदाता र १ लाख ९३ हजार ७२ जना श्रमिक आबद्ध भएका छन् । उक्त आबद्ध भएका रोजगारदाता र श्रमिकबाट कोषमा ४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ जम्मा भएको कोषले जनाएको छ । साथै, कोषले हालसम्ममा २३ सय ९३ जनालाई ४ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत् ६ हजार बढीले पाए रोजगारी
श्रम मन्त्रालयले सार्वजनिक गरेको साप्ताहिक विवरणमा फागुन २१ देखि फागुन २८ गतेसम्ममा ५ हजार ४ सय ९ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाएका छन् । सोही हप्तामा कार्यक्रममार्फत ५ हजार ८ सय ९३ जना बेरोजगारहरूको सूचीमा दर्ता भएका छन् ।

मन्त्रालयका अनुसार गएको एक हप्तामा २ जना गैर नेपाली नागरिकलाई नयाँ श्रम स्वीकति दिएका छन् भने ३ जना गैर नेपाली नागरिकको श्रम स्वीकृति नवीकरण गरिएको छ ।

त्यस्तै, एक हप्ताको अवधिमा वैदेशिक रोजगार कार्यलय ताहचलले संस्थागत र व्यक्तिगत रुपमा २ हजार २ सय ६२ जनालाई नयाँ श्रम स्वीकृति र २ हजार ९ सय ८८ जनालाई पुनः श्रम स्वीकृति दिएको मन्त्रालयले जनाएको छ । साथै, १ सय ९७ जनालाई बैधानिकरण गरिएको मन्त्रालयले उल्लेख गरेको छ । तर, इपीएसमार्फत भने कुनै पनि श्रम स्वीकृति लिएका छैनन् ।

वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारलाई ७० लाख वितरण
मन्त्रालयका अनुसार फागुन २१ गतेदेखि फागुन २८ गतेसम्मको प्रगति विवरणमा वैदेशिक रोजगारीमा मृत्यु भएका १० जना मृतकका परिवारलाई ७० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

साथै, वैदेशिक रोजगारीको सिलसिलामा असक्त भएका ७ जना कामदारहरुलाई ४२ लाख ७० हजार रुपैयाँ रकम उपलब्ध गराएको छ । त्यसैगरी एक हप्ताको अवधिमा ३ सय ३६ जनालाई ईपीएस अभिमुखीकरण प्राप्त गरेका छन् ।


क्लिकमान्डु