बुक बिल्डिङ नयाँ आयामः सजग भएर लगानी गरौं- नीरव पुडासैनीको लेख
प्राथमिक सेयर निष्कासनको प्रक्रियालाई वैज्ञानिक मूल्य निर्धारणको आधारमा गर्न बुक बिल्डिङले राम्रो भूमिका खेलेको देखिन्छ ।
मूल्य निर्धारण पद्दतिलाई सरलीकृत गरेर सेयर निष्कासन गर्ने कम्पनीको सेयर मूल्यलाई उक्त कम्पनीको वित्तीय तथा भविष्यमा हुने उत्पादकत्व (मुनाफा)को अनुमानका आधारमा मूल्य निर्धारण गर्न उचित भूमिका खेल्छ ।
बुक बिल्डिङ एउटा यस्तो प्रक्रिया हो जसअनुसार अण्डर राइटरमार्फत् मूल्य निर्धारण गरिन्छ । तसर्थ बुक बिल्डिङ प्रक्रियाले प्राथमिक निष्कासनमा प्रयोग हुने स्थिर मूल्य जस्तै रु १०० प्रतिसेयरको अवधारणलाई हटाएर वैज्ञानिक मूल्य निर्धारणको व्यवस्था गर्दछ ।
नेपालमा हालै यो अवधारणाको थालनी हुने तरखरमा नेपालको सेयर बजार तयार अवस्थामा रहेको छ । तथापि नियमनमा धेरै कुराहरुको प्रष्टताको बावजुत पनि यस प्रक्रियालाई सरलीकृतरुपमा बुझ्न यसका सबै प्रक्रियालाई बुझ्न जरुरी हुन्छ । जसअनुरुप सेयर निष्कासन गर्न चाहने कम्पनीले सर्वप्रथम अण्डर राइटर नियुक्त गर्नुपर्छ ।
जसले संस्थागत लगानीकर्ताहरुमार्फत् उक्त सेयरको मूल्य सीमा निर्धारण गर्न सहयोग गर्छ । नेपालमा बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार यो कार्य गरिन्छ ।
जसअनुसार न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग सेयरको मूल्य र खरिद गर्न चाहने सेयर संख्या सम्बन्धमा राय प्राप्त गर्नुपर्छ । यस आशय मूल्यको आधारमा सेयरको आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्छ भनिएको छ ।
विज्ञहरुमार्फत् छलफल गरेर मूल्य निर्धारण हुने हुँदा साधारण लगानीकर्ताहरुलाई ढुक्क भएर तोकिएको मूल्य सीमाभित्र रहेर प्राथमिक सिेयर किन्न सहज हुन्छ ।
तथापि नेपाल जस्तो वित्तीय अनुशासन तथा साधारण जवाफदेहिता नभएका देशहरुमा यसले थप जटिलता नल्याउला भन्न सकिन्न ।
हुन त सर्वसाधारण लगानीर्तालाई उक्त सेयर कटअफ मूल्यमा १० प्रतिशत छुट दिएर उक्त सेयर निष्कासन गर्नुपर्ने व्यवस्था छ । तर नैतिकता र इन्साइडर ट्रेडिङको प्रश्न फेरि पनि नउठ्ला भन्न सकिन्न ।
नेपालको सन्दर्भमा संस्थागत लगानीकर्ता तथा साधारण लगानीकर्तालाई सेयर बिक्रीको सीमा तोकिएको देखिँदैन । तर साधारणतया ६०–४० प्रतिशत व्यवस्था भएको पाइन्छ ।
भारतको बुक बिल्डिङ विधिअनुसार लगानीकर्ताहरुलाई रिटेल इन्भेष्टर, नन इन्स्टिच्युसनल बिडर्स, क्वालिफाइड इन्स्टिच्यूसनल बिडर्स गरी ३ श्रेणीमा छ्ट्याइन्छ । जसलाई क्रमशः ३५, १५ र ५० प्रतिशत सेयर सीमा तोकेको पाइन्छ ।
बुक बिल्डिङ प्रक्रियाले वैज्ञानिक मूल्य निर्धारण गर्न सहयोग गर्छ । फलस्वरुप सेयर निष्कासन गर्ने कम्पनीको वित्तीय अवस्थाका आधारमा सेयरको मूल्य तोक्न सहज हुन्छ । जसले गर्दा अनावश्यक प्रिमियम जोडेर निष्कासन गर्दाको अन्योल कम हुन्छ ।
साथै हालको वित्तीय अवस्था कमजोर हुँदाहुँदै पनि स्थिर मूल्यका आधारमा सेयर मूल्य १०० प्रतिसेयर तिर्न लगानीकर्ताहरु बाध्य हुन पर्दैन् । यसका साथै सेयरको मूल्य मागको आधारमा निर्धारण हुने हुँदा यो अझै धेरै वैज्ञानिक हुन्छ । साथै संस्थागत लगानीकर्ताहरुको विज्ञताका आधारमा मूल्य समायोजन गर्ने प्रक्रिया सबैभन्दा उत्तम हुन्छ ।
यति हुँदा हुँदै पनि बुक बिल्डिङ प्रक्रियाका केही हानीहरु (खराबीहरु) पनि छन् । स्थिर मूल्य सेयर निष्कासनको तुलनामा यो प्रक्रियामा प्रशासनिक तथा अनुपालन खर्च धेरै हुन्छ । साथै यसको प्रक्रिया धेरै समय लाग्ने हुन्छ । धेरै अनुपालन प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण यस्तै हुन गएको हो ।
बुक बिल्डिङ सबैभन्दा प्रभावकारी संयन्त्र हो । जसको सहयोगले कम्पनीहरुले अण्डर राइटरमार्फत् प्राथमिक सेयर निष्कासनको मूल्य निर्धारण गरेर सेयर निष्कासन गर्न सक्छन् । यसले सेयरको मूल्य स्थिर रु १०० प्रतिकित्ता तिर्नुपर्ने बाध्यता पूर्णरुपले हटाउँछ ।
अन्त्यमा बुक बिल्डिङ प्रक्रियामार्फत् मूल्य कसरी निर्धारण गरिन्छ, एउटा उदाहरणबाट प्रष्ट पारौं ।
उदाहरणस्वरुप हालै यही प्रक्रियामार्फत् प्राथमिक सेयर जारी गर्ने निर्णय गरेको सर्वोत्तम सिमेन्टको उदाहरण हेरौं । अण्डर राइटमार्फत् आएको कटअफ मूल्य सीमाको आधारमा २००००० आवेदकले उक्त सेयर १८०, १८०००० आवेदकले १७०, २२०००० आवेदकले २००, त्यस्तै १९०००० आवेदकले २१० र अन्त्यमा १४०००० आवेदकले २३० मा किन्न आवेदन दिएको सन्दर्भमा बुक बिल्डििङ मूल्य २०० मा धेरै आवेदकहरु भएको कारण कटअफ मूल्य २०० हुन्छ ।
जसको अर्थ सेयर खरिद मूल्य २०० हुन्छ । अब उक्त मूल्यभन्दा कममा आवेदन दिने ३८०००० आवेदन रद्द हुन्छ । किनभने कटअफ मूल्यभन्दा तलको मूल्यमा आवेदन दिनेलाई कम्पनीले सेयर बेच्नु पर्दैन् । तसर्थ ५५०००० आवेदकलाई मात्रै सेयर प्रदान गरिन्छ । यदि सेयर बाँकी रहेको खण्डमा बाँकी सेयर अण्डर राइटरले सकार्नु पर्छ अर्थात् किन्नु पर्छ । बुक बिल्डिङ प्रक्रिया ठूला खरिदकर्ताहरु र संस्थागत लगानीकर्ताहरुको पक्षमा उभिएको देखिन्छ ।
किनभने मूल्य निर्धारणको पहिलो प्राथमिकता उनीहरुले पाएका हुन्छन् । यस्ता लगानीकर्ताहरुलाई मूल्य निर्धारण गर्न सहज हुन्छ । किनभने उनीहरुको वित्तीय विश्लेषण गर्ने क्षमता राम्रो हुन्छ । त्यसका साथै साना रिटेल लगानीकर्ताहरुको वित्तीय विश्लेषण गर्ने क्षमता र लगानी गर्ने पुँजीको सीमा न्यून हुन्छ ।
त्यसैकारण संस्थागत लगानीकर्ताहरुले बिडिङ गरेर निर्धारण गरेको मूल्यमा आम रिटेल लगानीकर्ताहरुलाई लगानी गर्न सुरक्षित महसुस हुन्छ । माथि शुरुमा नै उल्लेख गरे जस्तै नेपाल जस्तो देशमा यसको ग्यारेन्टी दिन सकिन्न । किनभने संस्थागत लगानीकर्तामार्फत् नै सेयर निष्कासन गर्ने कम्पनीले सेयरको मूल्यमा चलखेल नगर्लान भन्न सकिन्न ।
तसर्थ नियामकले पुँजीबजारसँग सम्बन्धित कुनै पनि नयाँ औजार तथा अवधारणाहरुको कार्यान्वयन गराउनुभन्दा पहिले त्यसबाट हुन सक्ने जोखिमको विश्लेषण गरेर मात्रै लागू गर्नुपर्छ । साथै गलत कार्यहरुलाई कसरी पत्ता लगाउने र कानूनी दायरामा ल्याउने त्यसको पनि शुरुमै व्यवस्था गर्न सक्नुपर्छ । यसका लागि अमूख कम्पनीको सेयर निष्कासन हुँदा उक्त कम्पनीसँग आर्थिक तथा अन्य सम्बन्ध भएका व्यक्तिहरु रहेको संस्थागत लगानीकर्तालाई उक्त सेयरको बिडिङ प्रक्रियामा सामेल हुने अनुमति दिनु हुँदैन ।
त्यस्तै बुक बिल्डिङ प्रक्रियामार्फत् गलत मनसायले सेयरको बिडिङ गरेको पाइएमा यसलाई कानूनी दायरमा ल्याउन सक्नुपर्छ । यसको जाँच गर्ने सीमा तोकिनु हुँदैन । त्यस्तै कम्पनीलाई ऋण प्रवाह गर्ने बैंकले खोलेको मर्चेन्ट बैंकरहरुलाई बुक बिल्डिङ प्रक्रियामा सामेल हुने अनुमति दिनु हुँदैन । संस्थागत लगानीकर्ता (व्यक्तिगत)को हकमा यो व्यवस्था अझ धेरै कडा पारिनु पर्छ ।