भुक्तानी सेवा प्रदायक ‘उनेल्मा पे’को अवैध धन्दा: राष्ट्र बैंकबाट अनुमतिबिनै १ वर्षदेखि सञ्चालनमा



काठमाडौं । भुक्तानी सेवाप्रदायक ‘उनेल्मा पे’ले राष्ट्र बैंकबाट अनुमति नलिइ कारोबार गरेको पाइएको छ । कुनै पनि भुक्तानी सेवा प्रदायकले कारोबार गर्नुअघि राष्ट्र बैंकबाट सञ्चालनका लागि अनुमति लिनुपर्ने नियम छ ।

उक्त कम्पनीले एक वर्षदेखि अनुमति नलिइ कारोबार गरेको पाइएको हो । उक्त कम्पनी गत वर्ष लकडाउन शुरु हुनपूर्व औपचारिकरुपमा सञ्चालनमा आएको कम्पनीका एक कर्मचारीले जानकारी दिए ।

हाल राष्ट्र बैंकबाट १० वटा भुक्तानी प्रणाली सञ्चालक र २३ वटा भुक्तानी सेवा प्रदायक कम्पनीले सञ्चालनका लागि अनुमति पाएका छन् । हाल २ वटा कम्पनी अनुमतिको पाइपलाइनमा रहेको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार उक्त कम्पनीले हालसम्म अनुमति पनि नपाएको र अनुमतिका लागि पाइपलाइनमा समेत छैन भने यसका लागि आवेदन समेत दिएको छैन ।

‘मौद्रिक नीतिबाटै नयाँ भुक्तानी प्रदायक कम्पनीलाई लाइसेन्स वितरण बन्द गरिएको हो, पाइपलाइनमा भएका कम्पनीहरुमा पनि कतिपयलाई हटाएर २ वटा बाहेक केही कम्पनीलाई लाइसेन्स दिइसकिएको छ’ उनले क्लिकमाण्डूसँग भने, ‘उनेल्मा पे नामक कम्पनी पाइपलाइनबाट हटाएको सूचीमा समेत थिएन । र, हाल पाइपलाइनमा भएका कम्पनीको सुचीमा पनि छैन ।’

नियामकको इजाजतबिनै भुक्तानी सम्बन्धी कारोबार गर्ने कम्पनीहरुलाई राष्ट्र बैंकले कानूनी कारबाहीका दायरामा ल्याउने उनको भनाइ छ ।

‘यसबाहेक पनि केही कम्पनीहरु अवैधरुपमा सञ्चालनमा आएको पाइएको छ, राष्ट्र बैंकले त्यसमा आवश्यक छलफल गरिरहेको छ,’ उनले थपे, ‘त्यस्ता वेवसाइटमाथि आवश्यक अध्ययन तथा अनुगमन गरी कानून विपरीत सञ्चालनमा आएको ठहर भएमा भुक्तानी तथा फछ्र्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार कारवाही हुनेछ ।’

राष्ट्र बैंकको अनुमतिबिनै सञ्चालनमा आएका भुक्तानी सेवा प्रदायक कम्पनीसँग आवद्ध भएर कारोबार गर्ने बैंक तथा वित्त कम्पनीलगायत अन्य सम्बन्धीत निकाय समेत सजायको भागिदार हुने उनको भनाइ छ ।

उनले यस्ता कम्पनीले ग्राहकबाट पैसा लिने तर सम्बन्धितलाई भुक्तानी नगर्दा ग्राहक ठगिने हुन सक्ने भएकाले ग्राहकसमेत यस्ता कम्पनीमार्फत् कारोबार गर्नुअघि सावधान रहनुपर्ने उनको भनाइ छ ।

के छ जरिवानाको व्यवस्था ?

राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट सम्बन्धमा बनेको ऐनमा अनुमति बिना नगद, चेक, ई-बैंकिङ, भुक्तानी कार्ड, वालेट, मोबाइल बैंकिङलगायत अन्य भुक्तानीको उपकरणमार्फत् कारोबार गर्ने कम्पनीलाई सञ्चालकलाई १० वर्षसम्मको जेल सजाय र १ करोड रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । साथै, कम्पनी खारेजीसम्मको व्यवस्था ऐनले गरेको छ ।

सोही व्यवस्था अनुसार त्यस्ता कम्पनीउपर आवश्यक अनुगमन गरी कारवाहीका लागि प्रहरी प्रशासनमा पत्राचार गरी कारवाहीको दायरामा राष्ट्र बैंकले ल्याउने कडेँलको भनाइ छ ।

के हो ‘उनेल्मा पे’ ?

राष्ट्र बैंकको अनुमतिबिनै सञ्चालनमा आएको ‘उनल्मा पे’ डिजिटल भुक्तानी वालेट कम्पनी हो । यसको सञ्चालक राजेश कल्वार हुन् भने कम्पनी चितवनको टाँडीमा छ । गत वर्षको फागुनबाट औपचारिकरुपमा सञ्चालनमा आएको भनिएको सो एपबाट प्रयोगकर्ताले ‘ईसेवा, खल्ती, सेल पे, प्रभु पे, आइएमई पे’ जस्तै सेवा प्रयोग गर्न पाउने सुविधा छ ।

प्ले स्टोर र एप स्टोरबाट ‘उनेल्मा पे’ एप डाउनलोड गर्न सकिन्छ । राष्ट्र बैंकले सञ्चालनका लागि अनुमति नै नदिएको यो एप हालसम्म १० हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् ।

यो उनेल्मा कम्पनीले हाल उनेल्मा डट कम र उनेल्मा डट कम डट एनपी गरी दुईवटा वेवसाइट सञ्चालनमा ल्याएको छ भने उनेल्मा डट कम डट एनपी कै ‘उनेल्मा पे’ वालेट एप सञ्चालनमा गरिरहेको कम्पनीका कर्मचारी राजेश गुप्ताले जानकारी दिए ।

कम्पनीका कर्मचारी राजेश गुप्ताका अनुसार ‘उनल्मा पे’ एपमार्फत् हाल प्रयोगकर्ताले युटिलिटी पे अन्तर्गत खानेपानीको बिल, विजुलीको र बिल भुक्तानी गर्न सक्ने व्यवस्था समेत गरेको छ ।

साथै टप अपमा एनटीसी र एनसीएलको रिचार्ज गर्न सकिने व्यवस्था गरिएको छ । प्रयोगकर्ताले सो एप प्रयोग गरी बिल भुक्तानी र रिचार्ज गर्दा ०.५ रुपैयाँदेखि ३.५ रुपैयाँसम्म क्यास ब्याक पाउने उनले बताए ।

हाल फण्ड ट्रान्सफर, रेमिट्यान्स, कस्टमरको कार्ड पेमेन्टलगायतका सुविधा एपबाटै गर्न मिल्ने व्यवस्था गर्ने कम्पनीको तयारी छ । यही २०७८ बैशाखबाटै यस्ता सुविधा ग्राहकलाई दिइने कम्पनीका कर्मचारी गुप्ताले बताए ।

उनका अनुसार वालेट एप बाहेकका २ वटा वेवसाइट उनेल्मा डट कम डट एनपी नेपालभरका प्रयोगकर्ता लक्षित वेवसाइट हो भने उनेल्मा डट कम नेपाललगायत विश्वका ५३ वटा देशका ग्राहक लक्षित गरी बनाइएको वेवसाइट हो ।

वेवसाइटमा राखिएको जानकारीअनुसार यी देशका विभिन्न मोबाइल एप, वालेट तथा मोबाइल नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको छ । यसरी कम्पनीले राष्ट्र बैंकको अनुमतिबिनै देशभित्र र विदेशी वालेटमा पनि पैसा डिपोजिट गराइरहेको छ ।


पुष्प दुलाल