निजीकरणको विरोधमा भारतमा बैंकले २ दिन हड्ताल गर्ने, दैनिक ७० हजार करोड भारू घाटा



काठमाडौं । भारतमा भोलि सोमबार र पर्सी मंगलबार त्यहाँका बैंकहरुले हड्तालको घोषणा गरेका छन् । सरकारले धमाधम सरकारी सम्पत्ति निजीकरणको तयारी शुरु गरेसँगै बैंकिङ क्षेत्रका संगठनहरुले २ दिन देशव्यापी हड्तालको घोषणा गरेका हुन् ।

जसका कारण १० लाख बैंक कर्मचारी तथा १० हजारभन्दा बढी बैंकका शाखा सहभागी हुने त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

हड्तालका लागि अल इन्डिया बैंक अफिसर्स कन्फेडेरेसन, अल इन्डिया बैंक अफिसर्स एसोसिएसन, नेशनल कन्फेडेरेसन अफ बैंक इम्प्लोइज, बैंक इम्प्लोइज कन्फेडेरेसन अफ इन्डिया, नेशनल अर्गनाइजेसन अफ बैंक वकर्स, नेशनल अर्गनाइजेसन अफ बैंक अफिसर्स, इन्डियन नेशनल बैंक इम्प्लोइजस फेडेरेसन, इन्डियन नेशनल बैंक अफिसर्स कंग्रेस जस्ता संगठन सहभागी छन् ।

उनीहरुले सरकारले विभिन्न कम्पनी, कारखानालाई निजीकरण गर्ने निर्णयको विरोध गरिरहेका छन् ।

भारतमा शनिबार र आइतबार बैंक बन्द भएको र हड्तालका लागि थप २ दिन बैंक बन्द हुने भएपछि ४ दिनसम्म बैंक बन्द हुने भएको छ । जसको असर ग्राहकले भोग्नुपर्नेछ ।

बैंकमा हड्ताल हुँदा दैनिक ५० हजार करोड भारुदेखि ७० हजार करोड भारु नोक्सानी हुनेछ । हरेक दिन ट्रेडर्स, सर्भिस प्रोभाइडर्स, कर्पोरेट हाउसेस, इन्डिष्ट्रिज, साना कारोबारी तथा बाँकी क्षेत्र बैंकिङ सिस्टमको प्रयोग गर्छन् ।

लगातार ४ दिन बैंक बन्द हुँदा नेफ्ट, चेक क्लियरेन्स, एटीएमबाट हुने कारोबारमा सिधा असर गर्नेछ ।

भारतीय वित्त मन्त्री सीतारमणले वर्ष २०२१ को बजेटमा २ वटा सरकारी बैंक तथा एउटा बीमा कम्पनी निजीकरण गरिने घोषणा गरेकी थिइन् । साथै भारतमा मोदी सरकारले एकसयभन्दा बढी कम्पनी तथा सरकारी संस्थान निजीकरण गर्ने घोषणा गरिसकेको छ । जसमा विमान कम्पनीदेखि कैयन उद्योग छन् ।


क्लिकमान्डु