यी पाँच काम गरे सेयर बजारमा कहिल्यै हुन्न घाटा



सेयर बजारमा लगानी जान्नेका लागि असाध्यै राम्रो र नजान्नेका लागि नराम्रो पनि हुन सक्छ । पछिल्ला दिनमा नेपालको सेयर बजार समेत बिस्तारित भएको छ ।

नयाँ-नयाँ लगानीकर्ता बजारमा प्रवेश गरिरहेका छन् । साधारण सेयरमा लगानी गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भई १८ लाखमाथि पुगेको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयरमा कूल १८ लाख बढीको आवेदन हालसम्मकै सबैभन्दा बढी हो । यसले बजार बिस्तारित हुँदै गएको देखिन्छ ।

यस्तो अवस्थामा कसरी सेयर बजारमा प्रवेश गर्ने र कसरी लगानी गर्ने भन्ने विषयमा मानिसहरुले अनेकन खोज गरेका छन् । आ–आफना विचार समेत प्रस्तुत गर्दै आएका छन् । सबैका फरक फरक खालका धारणा छन् ।

तर त्यसलाई कार्यान्वयन गर्ने विषय भने आफनै हो । जसले लगानी गर्छ, उसैले नै सोच विचार गर्नु जरुरी छ । हरेक लगानीकर्ताले सेयर बजारमा मोटो कमाई गर्ने चाहना राख्छन् ।
लगानीकर्ताको अनुभव कम होस् वा ज्यादा जे होस्, उनीहरुको ध्यान कसरी कमाई गर्ने भन्नेमा नै हुन्छ । भारतको सेयर बजारका बारेमा जानकारी राख्ने एक अध्ययनकर्ता समूहले तयार पारेको एक विवरण अनुसार कसरी लगानी गर्दा फाइदा निकाल्न सकिन्छ भन्ने बारेमा बताउने प्रयास गरेको छ । नेपालमा पनि ती केही आइडिया काम लाग्न सक्छ ।

आफनो पैसाको सुरक्षा एवम् राम्रो कमाई गर्नका लागि रणनीति बनाउनु जरुरी हुन्छ । यस्तै, विवेक पनि उत्तिकै पुर्याउनु जरुरी पनि छ । सेयर बजारमा लगानी गर्नेले धैर्य राख्नु नै सबैभन्दा राम्रो हुन्छ । हतारमा गरिने निर्णयले लगानी डुब्नसक्छ । राम्रो कमाईका लागि मूलमन्त्र नै त्यसमा लुकेको हुन्छ । विवेक, धैर्यता तथा सोच राखेर लगानी गर्नेले नसोचेको सफलता हासिल गर्न सक्छ ।

लगानी गर्नुु आफैमा सरल विषय हो । तर यसलाई खेल भने सम्झनु हुँदैन । तर, बजारको बारेमा जानकारी राख्नु भने जरुरी छ । यसलाई बजारको खेल पनि भनिने अध्ययन समूहको दावी छ । बजारमा सफल हुनका लागि कुनै सर्टकट फर्मूला भने छैन । तर, केही कुरालाई राम्ररी सोच विचार राखेको खण्डमा मुनाफा भने राम्रै बढाउन सकिन्छ ।

१) राम्रो गृहकार्य गर्नुस्ः गृहकार्य भन्ने बित्तिकै विद्यालय, कलेज वा अन्य शैक्षिक क्षेत्रमा दिइने काम होइन । यो सेयर बजारका लागि गरिने गृहकार्य हो । विश्व सेयर बजारका जानकार एवम् विश्लेषक पिटर लिञ्च भन्छन्, ‘यदि तपाईं कुनै कम्पनीको बारेमा अध्ययन गर्नुहुन्न वा गृहकार्य गर्नुहुन्न भने तपाई राम्रो सेयर लगानीकर्ता नै बन्न सक्नुहुन्न ।

राम्रो कम्पनीको सेयर छान्नुस् र लगानी गर्नुस्, तर त्यसभन्दा पहिले राम्रो गृहकार्य गर्नुस् । त्यसको सम्पूर्ण विवरण हेर्नुहोस् र निश्चिन्त बन्नुस् ।’ लिञ्च भन्छन् लगानी केवल त्यसैमा गर, जसको बारेमा तपाईलाई थाहा छ वा जानकारी राख्नुहुन्छ । धैर्यताका साथ आफूले आफैलाई मन्थन गरेर लगानी गरेको खण्डमा सेयर बजारमा कहिल्यै घाटा हुँदैन ।

२) कम्पनीको व्यापारमा गर्नुस् लगानीः धेरैजसो मानिसहरु हल्लाको भरमा सेयर बजारमा लगानी गर्ने गरेको पाइन्छ । फलानोले यति धेरै कमायो, उसले यसरी कमायो भन्दै सेयर बजारमा हाम फाल्ने गरेको पाइन्छ ।

तर लगानीकर्ताले सेयर मूल्यका आधारमा भन्दा पनि कम्पनीको व्यापार हेरेर लगानी गर्न जरुरी हुन्छ । सेयर मूल्य त आज छ भोलि नहुन सक्छ, तर कम्पनीको कमाई राम्रो छ, प्रतिफल धेरै दिन सक्छ भन्ने छ भने त्यस्ता सेयरमा लगानी गर्दा कहिल्यै घाटा हुँदैन । नाफा नै हुन्छ । उदाहरणका लागि वारेन बफेटको लगानीको दर्शन नै यही हो । उनको कम्पनीले जहाँ लगानी गरेको छ, त्यसको आधार पनि त्यही हो ।

जसले कम्पनीको व्यापारको बारेमा जानकारी राख्छ, यसले प्रतिफल पनि राम्रो निकाल्न सक्छ । बफेटले १९८८ मा कोलाकोला कम्पनीमा १ बिलियन डलर लगानी गरेका थिए । कम्पनीले ३० वर्षसम्म लगातार १० प्रतिशतको दरले प्रतिफल दियो ।

३) हल्लाको पछाडि नदौडनुस्ः सेयर बजारलाई अर्को शब्दमा भन्दा हल्लाको बजार पनि भनिन्छ । कुनै परिचित वा साथीको कुरामा लागेर बेकार कम्पनीको सेयरमा लगानी नगर्नुस् । त्यसो गर्नु पैसामा आगो लगाउनु जस्तै हो । मानिसहरु लगानी गरिरहेका छन्, त्यसकारण म पनि लगानी गर्छु भन्नुभयो भने त्यसले फाइदा होइन घाटा पनि दिलाउन सक्छ ।

यस्तोे सोचबाट बच्न जरुरी छ । मानिसहरु अरुहरुको दखासिकी गरेको भरमा कयौं कम्पनीको सेयरमा लगानी गर्ने गरेका छन् । यसो गरिएको खण्डमा नाफा होइन घाटा पर्न सक्छ । त्यसकारण हल्लाको पछाडि होइन, सोची सम्झी विचार गरेर मात्रै लगानी गर्नुस् ।

३) अनुशासनमा बस्नुसः लगानी गर्ने कुराले अनशासनको पनि माग गर्छ । संयम तथा अनुशासन आफैमा महत्वपूर्ण विषय हो । सेयर बजार हरेक समय अस्थिर नै रहन्छ । बजार उच्च बिन्दुमा बढ्दा समेत तपाईंले लगानी गरेको कम्पनीको सेयर मूल्य नबढ्न सक्छ ।

यस्तै, बजार ओरालो लाग्दा तपाईंले लगानी गरेको कम्पनीको सेयर मूल्य बढेको हुन सक्छ । लगानीकर्ताले आफनो जोखिम क्षमता बहन गर्ने साहस राख्नुपर्छ । त्यसो भनेर अनावश्यक जोखिमबाट पनि बच्नेतर्फ ध्यान दिन जरुरी छ । टर्म एमएफका प्रमुख कार्यकारी अधिकृत वकार नकवी भन्छन्- धैर्य तथा संयम लगानीकर्ताले दीर्घकालीनरुपमा नाफा कमाउने सोच राख्छन् र सोही दृश्य देखिरहेका हुन्छन् ।

५) विस्तृत पोर्टफोलियो हेर्नुसः लगानीकर्ताले खासरुपमा हेर्नुपर्ने अर्को महत्वपूर्ण विषय हो कम्पनीको पोर्टफोलियो । यसलाई राम्रोेसँग हेरिएको खण्डमा राम्रो कमाई गर्न सक्ने अवस्था रहन्छ । त्यसबाट बजारको अवस्था बुझन पनि सकिन्छ ।

लगानीका लागि एसेट क्लासको प्राथमिकतालाई पनि सावधानीपूर्वक चयन गर्न सकिन्छ । वास्तविकता जानेर मात्रै लगानी गरेको खण्डमा राम्रो कमाई गर्न सकिन्छ । बजारले बिस्तारै बिस्तारै प्रतिफल दिन्छ । कमाई गर्नु आफैमा सरल विषय होइन ।

बजारमा प्रवेश गर्ने वा निस्कनेको पनि समय हुन्छ । यो अवस्था बजारको अवस्था अनुसार पटक–पटक आउने जाने हुन्छ । त्यसकारण तपाईले आफनो साथमा केही पैसा राख्नु जरुरी हुन्छ । यदि बजार आफनो आधारमा मजबूत रहिरहन्छ, तब गिरावटबाट आत्तिनु हुँदैन ।


क्लिकमान्डु