रित्तियो अधिक तरलता, बढ्न थाल्यो बैंकको ब्याजदर



काठमाडौं । लामो समयदेखि बैंकमा थुप्रिएर बसेको लगानी योग्य पुँजी (अधिक तरलता) केही सातामै सकिएको छ । बैंकहरु कर्जा विस्तारमा आक्रमक भएपछि अहिले अधिक तरलताको समस्या नरहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

‘अहिले बैंकिङ क्षेत्रमा अधिक तरलताको समस्या छैन,’ प्रवक्ता भट्टले क्लिकमाण्डूसँग भने ।

बैंकहरु कर्जा विस्तारमा आक्रमक भएसँगै ब्याजदर पनि बढ्न थालेको छ । केही सातामै अन्तर बैंक ब्याजदर (एक बैंकले अर्को बैंकसँग लिने सापटी)को ब्याजदर ह्वात्तै बढेको छ ।

अहिले बजारमा अन्तर बैंक कारोबारको ब्याजदर ४ देखि साढे ४ प्रतिशतसम्ममा कारोबार भइरहेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

‘अन्तर बैंक कारोबारको ब्याजदर अस्वाभाविकरुपमा बढेर ४ देखि साढे ४ प्रतिशतसम्ममा पनि कारोबार हुन थालेको छ,’ शेरचनले क्लिकमाण्डूसँग भने, ‘यसले अब बजारमा ब्याजदर बढ्ने प्रष्ट संकेत गरेको छ ।

आइतबार दिउँसो १ बजेसम्म बैंकिङ प्रणालीमा जम्मा ४० अर्ब रुपैयाँ मात्रै तरलता रहेको प्रवक्ता भट्टले जानकारी दिए । राष्ट्र बैंकका अनुसार पुसको मध्यसम्म २ खर्ब र माघको पहिलो साता १ खर्ब रहेको तरलता त्यसपछि क्रमशः घट्दै अहिले ४० अर्ब रुपैयाँमा सीमित भएको हो ।

प्रवक्ता भट्टका अनुसार अन्तर बैंक कारोबारको ब्याजदर ३.११ प्रतिशत पुगिसकेको छ । फागुन १५ सम्म पनि अन्तर बैंक कारोबारको ब्याजदर जम्मा ०.५ प्रतिशत थियो ।

दैनिक २०/२५ अर्ब रुपैयाँका हाराहारीमा अन्तर बैंक कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक कारोबार बैंकको ब्याजदर अब के हुँदै छ भनेर मापन गर्ने एउटा बलियो औजार हो ।

‘पछिल्लो समय आयात बढेको छ, कोरोनाले ठप्प भएका आर्थिएक गतिविधिहरु पुन चलायमान हुन थालेका छन्,’ भट्टले भने, ‘जसकारण कर्जाको माग बढेको हो ।’

कर्जाको मागअनुसार निक्षेप बढ्न नसकेपछि तलतामा कमी आएको हो । बैंकिङ प्रणालीमा ०७६ चैतयता लगातार डेढ देखि २ खर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता थियो ।

तरलता टाइट हुने देखिएपछि बैंकहरुले ब्याजदर बढाउन थालेका छन् । केही बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाइसकेका छन् भने केहीले बढाउने तयारी गरिरहेका छन् ।

‘अर्थतन्त्र पूरानै लयमा फर्किन थालेको छ, अधिक तरलता सकिएको छ, अब बैंकको ब्याजदर बढ्छ,’ भट्टले भने ।

चालू आर्थिक वर्षको साउनदेखि फागुन अन्तिम साता अर्थात् करिब ८ महिनामा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ३ खर्ब ३२ अर्ब ७४ अर्ब रुपैयाँ निक्षेप र ४ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ कर्जा थप गरेका छन् ।

०७७ असार मसान्तमा ३४ खर्ब ८९ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले फागुन तेस्रो सातासम्ममा ३८ खर्ब २२ अर्ब ७२ करोड रुपैयाँ पुर्याएका छन् ।

त्यसैगरी, ०७७ असार मसान्तमा रहेको कर्जा बढाएर फागुन तेस्रो सातासम्ममा ३३ खर्ब ८७ अर्ब ५० करोड रुपैयाँ पुर्याएका छन् ।

दुई महिनायता बैंकहरुले आक्रमकरुपमा कर्जा विस्तार गरेका छन् । गत माघ २ गते ३२ खर्ब ३६ अर्ब रुपैयाँ रहेको कर्जा फागुनको पहिलो साता ३३ खर्ब ३५ अर्ब हुँदै तेस्रो साता ३३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको हो ।

करीब २ महिनाको समयमा मात्रै डेढ खर्ब रुपैयाँले कर्जा बढेको छ । यो अवधिमा निक्षेप भने जम्मा ४४ अर्ब रुपैयाँले मात्रै बढेको छ ।


पुष्प दुलाल