पूर्व-पश्चिम राजमार्ग ४ लेनमा विस्तार हुँदै, २५ प्रतिशत डीपीआर सम्पन्न



काठमाडौं । पूर्व-पश्चिम राजमार्गको काँकडभित्ता-लौकी, नारायणघाट-पथलैया र बुटवल–गोरुसिंहे सडक खण्ड ४ लेनमा विस्तार हुने भएको छ । सडक विभाग आयोजन निर्देशनालय (एडीबी)ले यी सडक विस्तार विस्तार गर्न लागेको हो ।

निर्देशानलयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने परामर्शदात छनोटगरी ठेक्का लगाइसकिएको आयोजनाका उपनिर्देशक राकेश महर्जनले जानकारी दिए ।

सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङले यी तीन खण्डको डीपीआर बनाउने जिम्मा पाएको हो । दक्षिण कोरियाली परामर्शदाता सुसङ इन्जिनियरिङले काठमाडौं-तराई मधेस द्रुत मार्गको डीपीआर तयार गरेको हो ।

दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्न आवश्यक डीपीआर बनाउने जिम्मा सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङले पाएको हो । २०७७ असोज १८ गते जिम्मा सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङ र सडक विभाग आयोजना निर्देशनलय (एडीबी) बीच सम्झौता भएको हो ।

परामर्शदाताले भ्याट बाहेक २३ करोड ६५ लाख रुपैयाँ र १५ लाख ५७ हजार अमेरिकी डलरमा डीपीआरको जिम्मा पाएको आयोजनाले जानकारी दिएको छ ।

सम्झौता बमोजिम परामर्शदाताले दुई वर्षभित्रमा डीपीआर तयार गरि निर्देशनालयलाई हस्तान्तरण गर्नेछ । काँकडभिट्टा-लौकी १२० किलोमिटर, पथलैया-नारायणघाट १०६ किमी र बुटबल-गोरुसिंहे ४४ किमी रहेको छ ।

शहरी क्षेत्रमा ६ लेनको सडक

पूर्व-पश्चिम राजमार्ग २ लेनको छ । यसलाई विस्तारगरी ४ लेनको बनाउन लागिएको हो । उपनिर्देशक महर्जनका अनुसार बस्ती क्षेत्रमा सर्भिसलेन सहित ६ लेनको सडक विस्तार गरिनेछ । जंगल तथा बस्ती नभएको क्षेत्रको सडक भने ४ लेनको हुनेछ ।

स्थानीय सवरीको चाप धेरै हुने स्थानमा आवश्यकताका आधारमा फ्लाईओभर र अण्डरपास पनि निर्माण गरिनेछ । फ्लाई ओभर र अन्डरपासले राजमार्गमा गुड्ने सवारीको आवगमनमा स्थानीय सवारीको अवरोध हुनेछ ।

काँकडभित्ता–लौकी सडक खण्डको वातावरण तथा सामाजिक प्रभाव मूल्यांकन गर्न परामर्शदाताले सार्वजनिक सूचना पनि प्रकाशित गरिसकेको छ ।

नारायणघाट-पथलैया र बुटवल–गोरुसिंहे खण्डको पनि वातावरण तथा सामाजिक प्रभाव मूल्यांकन गर्न सूचना जारी गर्ने तयारीमा रहेको उपाध्यायले जानकारी दिए ।

२५ प्रतिशत डीपीआर सम्पन्न

यी तीन सडकको डीपीआर तयार गर्न ५४ वटा परामर्शदाताले आसय पेस गरेका थिए । प्राविधिक रुपमा सवलदेखिएका ६ वटा परार्मशता सूचीकृत भएका थिए ।

सूचीकृत परामर्शदाता मध्ये सबैभन्दा थोरै रकम कबुल गरेर सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङ डीपीआरका लागि योग्य ठहरिएको हो ।

परामर्शदाताले डीपीआरको जिम्मा पाएको ६ महिना भइसकेको छ । सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङ डेपुटी टिम लिडर प्रकाश उपाध्यायका अनुसार डीपीआरको २५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
एडीबी र बिश्व बैंकको सहयोग

एसियाली विकास बैंक एडीबी र विश्व बैंकको सहयोगमा पूर्वपश्चिम राजमार्ग विस्तार हुँदै छ । मुलुकको प्रमुख राजमार्गलाई एसियाली हाइवे स्ट्यान्डर्ड अनुरुप चार लेनमा विस्तार गर्न लागिएको हो । यो राजमार्गको बुटवलदेखि पूर्वी खण्डको विस्तार प्रक्रिया अघि बढिरहेको छ ।

बुटबल-नारायणघाट सडक खण्डको ठेक्का लागेर निर्माण सुरु भइसकेको छ । चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बुटबल-नारायणघाट सडक खण्ड निर्माण गरिरहेको छ ।

कमला-कञ्चनपुर सडक खण्ड विस्तार गर्ने निर्माण कम्पनी छनोट भइसकेको छ । चाइना रेल्वे नम्बर २ ग्रुपले कमला-कञ्चनपुर सडकलाई ४ लेनको बनाउनेछ ।

पथलैया-ढल्केबहर सडक खण्डको डीपीआर बनाउन सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले प्रक्रिया अघि बढाएको छ । यो सडक खण्ड विश्व बैंकको ऋण सहयोगमा निर्माण हुनेछ ।


पुष्प दुलाल