म्याद सकिनु अगाडि सेक्यूरिटी प्रेस खरिद प्रक्रियाको बोलपत्र संशोधन



काठमाडौं । प्रतिनिधि सभा बिघटन भएको मौका छोपी टेन्डर खुलाइएको सेक्यूरिटी प्रेस खरिदसम्बन्धी ठेक्का संशोधन भएको छ ।

सुरक्षण मुद्रण केन्द्रले २०७७ फागुन २ गते सेक्यूरिटी प्रेस खरिदसम्बन्धी ठेक्का आह्वान गरेको थियो । सेक्यूरिटी प्रेस खरिदका लागि आवेदन बुझाउने समय २०७७ चैत ३ गते सकिदैछ । ठेक्कामा सहभागी हुने म्याद सक्किनु अघि केन्द्रले सेक्यूरिटी प्रेस खरिदसम्बन्धी ठेक्का संशोधन गरेको हो । ठेक्कामा सहभागी हुन चाहने ठेकेदारको योग्यता र प्राविधिक मापदण्ड फेरबदल गरिएको छ । संशोधित बोलपत्रमा सेक्यूरिटी प्रेस खरिद प्रक्रियाकोमा सहभागी हुने ठेकेदारको दायरा घटाइएको छ ।

पछिल्लो समय सेक्यूरिटी प्रेस खरिदसम्बन्धी प्रक्रिया विवादास्पद बनेको थियो । सेक्यूरिटी प्रेस खरिदसम्बन्धमा तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड रुपैयाँ कमिसन बार्गेनिङको अडियो सार्वजनिक भएको थियो । त्यो अडियो बाहिरिएसँगै सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिएका थिए । तत्कालिन समयमा सेक्यूरिटी प्रेस सरकारले बिना प्रतिस्पर्धा सरकारद्वारा सरकारसँग (जीटुजी) प्रक्रियाबाट खरिद गर्न खोजेको थियो । तर मन्त्री गोकुल बाँस्कोटा घूस प्रकरणमा मुछिएपछि सेक्युरिटी प्रिन्टिङ खरिद स्थगन भएको थियो ।

सेक्यूरिटी प्रेस खरिदसम्बन्धमा भएको घोटाको छानबिनगरी मुद्दा चलाउन संसद्को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो ।

समितिले गतवर्ष ८ फागुनमा आर्थिक घोटाला भएको ठहरसहित सेक्यूरिटी खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो । तर, सुरक्षण मुद्रण केन्द्रले प्रतिनिधि सभा विघटन भएको मौका छोपी नयाँ टेन्डर खुलाएको हो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिसेकेको छ ।

सेक्यूरिटी प्रेस खरिद प्रक्रियामा सहभागी हुनका लागि ठेकेदार कम्पनीले पछिल्ला तीन वर्षमा एउटा ठेक्कामा भ्याटबाहेक ४० करोड रुपैयाँको न्यूनतम मूल्यमा सेक्यूरिटी प्रेस सिस्टम आपूर्ति गरेको हुनुपर्ने थियो । तर यो व्यवस्थालाई संशोधन गरेर ३८ करोड रुपैयाँमा झारिएको छ ।

सेक्यूरिटी प्रेस खरिदका लागि भाग लिन पाउने कम्पनीको योग्यतामा फेरबदल भएको छ । फागुन २ गते जारी भएको बोलपत्र दस्तावेजमा पछिल्ला तीन वर्षमा वार्षिक कारोबार औषत ६० करोड रुपैयाँ हाराहारी हुनुपर्ने थियो । संशोधन बोलपत्र दस्तावेजमा वार्षिक ५५ करोड रुपैयाँ कारोबार गर्ने कम्पनीले समेत ठेक्कामा भाग लिन पाउनेछन् ।

सेक्यूरिटी प्रेसका लागि आवश्यक प्राविधिक व्यहोरासम्बन्धी मापदण्डसमेत हेरफेर भएको छ । केन्द्रले प्रेसमा छापिएर आउने सामग्रीको आउटपुट रिसोलुसनु सम्बन्धी मापदण्ड संशोधन गरेको छ । यसअघि ८१२ डीपीआइ २ एट बीटु रहेकोमा अब ६०० डीपीआइ २ एट बीटु वा १ वाईट प्रोसेसिङ राखिएको छ ।

यस्तै मेसिनमा प्रयोग हुने पेपर रोलको आकर पनि फेरबदल गरिएको छ । फागुन २ गतेको बोलपत्र दस्तावेजमा पेपर रोलका न्यूनतम आकार १० इँच थियो । हाल यसलाई बढाएर १०.५ इन्च निर्धारण गरिएको छ । यसको अधिकतम आकार ४० इन्च थियो । तर अब १३.५ इन्च भए पुग्ने भएको छ ।

यो मेसिनमा उपयोग हुने कुनै प्रकारको सर्भर राख्न पाइने व्यवस्था गरिएको छ । पहिला ‘डब्लूएस जेट८जी४’ सर्भर मात्र राख्न पाइने बोलपत्र दस्तावेदनमा उल्लेख थियो ।


क्लिकमान्डु