महाशिवारात्रीमा पशुपतिमा ४ हजार स्वयंसेवक, यसरी गर्न सकिन्छ दर्शन



काठमाडौं । फागुन २७ गते बिहीबार दिन पर्ने यस वर्षको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले ४ हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।

कोषले आज प्रेस सम्मेलन गर्दै नेपाल स्काउट समेतका गरी करिब ४ हजार संख्यामा स्वयंसेवकहरू परिचालन गर्ने भएको जनाएको छ ।

कोषका अनुसार नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्त्रान विभाग समेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्री पर्वलाई व्यवस्थित गरिने जनाएको छ ।

कोषमा अनुसार पशुपतिनाथको मन्दिर नजिक कोर क्षेत्रमा डाक्टर, नर्स, औषधी र वेडसहितको नेपाली सेनाको मूल्य स्वास्थ्य शिविर रहनेछ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरीसमेतका गरी करिब ३० वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्नेछन् । साथै, एम्बुलेन्स र आपतकालिन अवस्थाका लागि दमकलसमेत स्ट्याण्डवाइ रहने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

यस वर्षको महाशिवरात्री पर्वमा लाखौंको संख्यामा आउने दर्शनर्थी, भक्तजनहरुको संख्यालाई मध्यनजर राखी नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्दै भौतिक दुरी कायम गर्दै, स्यानिटाइजरको प्रयोग गरी मास्कको प्रयोगलाई अनिवार्य गरी समग्र रुपमा दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न कार्य अघि सारेको कोषले जानएको छ ।

जसमा जुत्ताचप्पलका लागि कोषले भुवनेश्वरमा एक स्थायी जुत्ताचप्पलको व्यवस्थाका अतिरिक्त दर्शनलाइनलाई पायक पारेर दक्षिणमूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग–१, भुवनेश्वर नजिक–१, बज्रघर दक्षिण तर्फ–१, राममन्दिर नजिक (बाग्मति पारी)–१ गरीपाँच ठाउँमा जुत्ताचप्पल कक्षको व्यवस्था मिलाइएको छ ।

साथै, दर्शनार्थीहरू मन्दिर प्राङ्गणबाट बाहिर निस्कने प्वाइन्ट नजिकै कोर क्षेत्र बाहिर समेत चन्दा वितरणको व्यवस्था मिलाइएको छ ।

आवास, भोजन तथा भौतिक पूर्वाधारका लागि हंशमण्डपमा ५० वटा समेत गरी वनकाली र तीलगंगाको क्षेत्रलाई आवास क्षेत्र तोकी करिब ९५ वटा संघसंस्थाले निःशुल्क भोजन, पानी, चिया वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

साधुसन्तहरुका लागि आवश्यक निःशुल्क भोजन, पानी, चिया र बसोबास समेतको व्यवस्था मिलाइएको साथै चिसोबाट बच्नका लागि धुनीको व्यवस्था समेत मिलाइएको छ । महाशिवरात्रि पर्व सम्पन्न भएपछि गुठी संस्थानले निर्धारण गरे बमोजिक केही रकम बाटो खर्चसहित साधुसन्त, जोगी–बाबाहरुका लागि बिदाइका व्यवस्था कोषले समेत गर्नेछ ।

यस्तो हुनेछ दर्शन मार्ग
दर्शन मार्गको लागि कोषले विभिन्न रुट छुट्टाइएको छ । जसमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट–१ लाइन, जगवागेश्वरी–ईट्टापाखा भएर भवनेश्वरस्थित फलामको सानो ढोकाहुँदै पश्चिम ढोकाबाट–१ लाइन, बत्तिसपुतली–गौसला, एअरपोर्ट–तीलगंगा भएर पिङ्गलस्थान–सुगार्मी भवन अगाडिबाट चारशिवालय–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुई वटा लाइन गरी बाहिरी रुपमा तीनस्थानबाट दर्शन लाइनहरु रहनेछन् ।

तीलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एक लाइन हुनेछ । नित्य दर्शनार्थीहरुका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । साथै जुन दर्शनमार्गबाट प्रवेश गरेको हो सोही मार्ग हुँदै मन्दिरबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

साथै, पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तीलगंगा कोरिडोरको उपलब्ध ठाउँ–१, पशुपति क्षेत्र विकास कोषको कार्यालय गरी पाँच स्थानका पार्किङको व्यवस्था मिलाइएको छ ।

एअरपोर्ट, गौसला, चावहिलको रिङ्रोडमा दर्शनार्थीहरुको चापलाई ध्यानमा राखी सडकको आधा भएमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकता अनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइनेछ । सडकछेउ फुटपाथमा कुनै पनि पसलहरु राख्ने अनुमति दिइने छैन ।

साथै, हंशमण्डप वनकालीमा नेपाल र भारतका ख्यातीप्राप्त कलाकारहरुद्धारा भरत नाट्यम एवं ताण्डपसहितको भक्तिसंगीतको प्रस्तुतीका साथै पशुपति संगीत कला प्रतिस्ठानको आयोजनामा बाग्मती पारी तीन दिनसम्म धार्मिक कार्यक्रम सञ्चालन हुनेछ ।

पशुपति क्षेत्र कानुनद्वारा नै माँस, मदिरा तथा कुनै पनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्री पर्व समेतमा गाँजा–भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थहरुको बिक्रीवितरण, ओसारपसार भण्डारण एवं प्रयोग वा सेवन नगर्न अनुरोध गरेको छ ।

साथै, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त एवं आपङ्गता भएका व्यक्तिलाई लाइनमा नराखी स्वयंमसेवकहरुको माध्यमबाट सिधै दर्शनको व्यवस्था मिलाईएको छ । वनकालीदेखि २ नं गेट (पोडेपाटी)सम्म इलेक्ट्रिक टेम्पोबाट आवतजावत गर्ने व्यवस्था समेत मिलाउने कोषले जनाएको छ ।


क्लिकमान्डु