कोरोनाको असर कम भएपछि सवारीसाधनको व्यापार चम्कियो, बजारमा गाडी अभाव



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को प्रकोप कम हुँदै गएसँगै अटो बजारमा चमक देखिन थालेको छ । कोभिड-१९ का कारण भौतिक दुरी कायम गरेर यात्रा गर्नु पर्ने भएकाले पनि निजी सवारी खरिद बिक्रीमा चाप परेको हो । बिक्री बढेसँगै नेपाली बजारमा सवारीसाधनको अभाव देखिन थालेको छ ।

गाडीको अभावका कारण उपभोक्ताको मागअनुसार गाडी उपलब्ध गराउन समस्या भएको नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका सचिव अनुपकुमार बरालले बताए ।

‘गाडी खरिद गर्न आउने उपभोक्ताको संख्या धेरै छ, कम्पनीहरुसँग पर्याप्त मात्रमा गाडीको स्टक छैन, सिमित मात्रमा गाडी आयात भइरहेका छन्’, सचिव बरालले भने, ‘यसले उपभोक्ताको भाग धान्न कठिन छ ।’

कोभिड–१९ को महामारीको समयमा सवारीसाधनको बिक्री घटेको थियो । सोही कारण गर्दा पनि कम्पनीहरुले पार्टस र सेमिकन्डक्टर कम्पोनेन्टको उत्पादनमा कटौती गरेका थिए । बिस्तारै अटो बजारमा चमक देखिन थलेसँगै निर्मातालाई पार्टस र सेमिकन्डक्टर कम्पोनेन्टको अभावको सामना गर्नु परेको हो ।

पार्टस् र सेमिकन्डक्टरको अभावका कारण प्रयाप्त मात्रामा सवारीसाधन उत्पादन हुन सकेको छैन । माग उच्च र आपूर्ति न्युन हुदाँ विश्व बजारमै सवारीसाधनको अभाव देखिएको छ ।

चालु आवको माघ महिनासम्म करिब ३० अर्ब रुपैयाँ बराबरको सवारीसाधन र पाटर्सपूर्जा आयात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ ।

बजारमा हुन्डाई, महिन्द्रा, सुजुकी, जिप, स्कोडा, टाटा, निशान, कियालगायत कम्पनीले गाडी अभावको सामना गर्नु परिरहेको छ ।

मागअनुसार समयमै गाडी उपलब्ध गराउन नसक्दा उपभोक्ता अन्यत्रै मोडिन सक्ने खतरा रहेको सुजुकी चारपांग्रेका वितरक पनि रहेका बरालको भनाइ छ ।

‘कोरोनाअघि कम्पनीहरुले २/३ हप्तामा गाडीको डेलिभरी गर्थे, अहिले डेढदेखि २ महिनासम्म लगाउने गरेका छन्,’ सचिव बरालले भने ।

महिन्द्रा गाडीको अधिकृत विक्रेता अग्नि इन्कर्पोरेटेड मूख्य कार्यालय पानीपोखरीका शाखा प्रमुख रञ्जित क्षेत्रीका अनुुसार बजारमा सवारीसाधनको माग उच्च देखिएकाले महिन्द्रासँगै अन्य कम्पनीले पनि गाडीको अभाव सामना गर्नु परेको छ ।

‘कोभिडपछिको समयमा नेपालमा मात्रै होइन, विश्व बजारमै गाडीको अभाव छ, कोभिडको समयमा कच्चा पदार्थको उत्पादनमा कटौती भएको थियो’, क्षेत्रीले भने, ‘यसले गाडीको उत्पादन भारी मात्रमा घटेको छ ।’

अहिले कोभिडको प्रकोप केही मथर भएसँगै गाडीको माग उच्च रहेको क्षेत्रीले बताए ।

विगतका वर्षहरुमा चाडपर्वको समयमा गाडीको बिक्री उच्च रहन्थ्यो । कोभिडका कारण करिब ६ महिना गाडीको व्यापार सुस्त थियो । त्यस समयमको चाप पनि अहिले बजारमा देखिएको छ । चाडपर्वको सकिएसँगै गाडीको व्यापार पनि क्रमश शिथिल हुने गर्थ्यो ।

तर अहिले परिस्थिति बदलिएको छ । समान्य सिजनको तुलनामा यो वर्ष गाडीको माग दुई, तीन गुणा बढी देखिएको व्यवसायीहरुको भनाई छ । आपूर्तिको तुलनामा माग उच्च भएकाले समस्या देखिएको हो । एमएडब्लु लाइफसँग जिप कम्पसाको स्टक उपलब्ध छैन ।

जिप कम्पास भारतमै अभाव भएकाले नेपाल ल्याउन नसकिएको कम्पनीले जनाएको छ । कम्पनीले उभोक्ताको माग सम्बोधन गर्न जिप कम्पास २०२१ ल्याउने तयारीमा जुटेको छ ।

२०७८ को शुरुवाती महिनामै कम्पनीले जीप कम्पास नेपालमा सार्वजनक गर्ने योजना बनाएको छ । एमएडब्लुले बिक्री गर्ने अर्को गाडी स्कोडा पनि उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिएको कम्पनीले जानकारी दिएको छ ।

हुन्डाईको क्रेटा र ग्राण्ड आई १० नियोसमा उपभोक्ताको माग बढेको लक्ष्मी इन्टरकन्टिनेन्टलका सहायक महाप्रवन्धक बिक्री तथा बजार व्यवस्थापक रुपेश शर्माभट्टले बढेको छ ।

‘हुन्डाईको सबै गाडीमा उपभोक्ताको आकर्षण बढको छ, क्रेटा र ग्राण्डआई १० नियोसमा उपभोक्ताको धेरै आकर्षण छ,’ उनले भने ।

कम्पनीले अपेक्षा गरेको भन्दा धेरै उपभोक्ताले क्रेटा र ग्राण्डआई १० नियोसमा रुची देखाउनु भएकाले यी दुई कारको अभाव छ । भारतमा पनि यी दुई गाडीमा बिक्री चाप परेकोले नेपालमा पनि अभाव भएको भट्टले बताए ।


पुष्प दुलाल