सेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? जान्नैपर्ने ७ वटा कुराहरु



काठमाडौं । पछिल्लो एक वर्षको तथ्यांकलाई हेर्ने हो भने पुँजीबजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या ठूलो छ । अझ यसलाई कोरोना अघि र कोरोनापछिको अवस्थाका रुपमा पनि बुझ्न सकिन्छ ।

कोरोना महामारीका कारण मुलुकका चैत ११ गतेदेखि लकडाउन भयो । त्यसपछि घरबाहिरका सबै खाले गतिविधिहरु ठप्प भयो । सेयर बजार पनि बन्द भयो । तत्कालीन समयमा घरभित्रै बसेका मानिसहरुले आम्दानीको अनेकन बाटा खोज्न थाले । यसैबीच विभिन्न कम्पनीहरुले जारी गरेको आइपीओमा लगानीकर्ताको आकर्षण देखिन थाल्यो । अहिले हरेक दिन १० हजारभन्दा बढी डिम्याट खाताहरु खोलिएको तथ्यांकले देखाउँछ ।

सीडीएससीका अनुसार हाल ३० लाखभन्दा बढीले डिम्याट खोलेका छन् भने करिब ४ लाख ५० हजारले अनलाइन कारोबारका लागि टीएमएस लिएका छन् । नेप्सेका अनुसार ४ लाख ५० हजारमध्ये २ लाख २२ हजारबढी अनलाइनमा सक्रिय प्रयोगकर्ता छन् भने अनलाइन र अफलाइन दुबै गरी सक्रिय प्रयोगकर्ता करिब ६ लाख छन् । यसको अर्थ आइपीओ भर्नेहरु १५ लाखभन्दा बढी पुगे पनि दोस्रो बजारमा कारोबार गर्नेहरुको संख्या करिब ४० प्रतिशतको हाराहारीमा छ ।

तर के तपाईंलाई थाहा छ पुँजीबजारमा प्रवेश गर्नुभन्दा अघि के कस्ता कुरामा ध्यान दिनुपर्छ ? तपाईं यस क्षेत्रमा नयाँ हुनुहुन्छ भने तपाईंले केही आधारभूत विषयमा जानकारी लिनैपर्छ । ताकी प्रक्रियागत विषयमा तपाईं जानकार हुनुहोस् ।

आज हामी यस लेखमार्फत् सेयर बजारमा प्रवेश गर्नु पूर्व जान्नैपर्ने केही आधारभूत विषयमा चर्चा गर्दैर्छौ ।

१) डिम्याट अकाउन्ट
सेयर कारोबार गर्नका लागि डिम्याट अकाउन्ट हुनैपर्छ । डिम्याट अकाउन्ट भनेको बैंक अकाउन्ट जस्तै हो । तपाईंले कुनै बैंकमा गएर पैसा जम्मा गर्नका लागि विभिन्न प्रकारका खाता खोले जस्तै यो पनि सेयर कारोबारका लागि खोलिने खाता हो जसलाई डिम्याट अकाउन्ट भनिन्छ । डिम्याट १६ अंकको हुन्छ । डिम्याट अकाउन्ट बैंक, ब्रोकर कार्यालय र मर्चेन्ट बैंकमा मात्रै गएर खाता खोल्न सकिन्छ । डिम्याट अकाउन्टमा तपाईंसँग विभिन्न कम्पनीमा भएको सेयर राखिएको हुन्छ । तपाईंले मन लागेको बेलामा डिम्याट अकाउन्टको सहायतमा कुन कम्पनीको कति सेयर छ भनेर हेर्न सक्नु्हुन्छ । डिम्याट अकाउन्ट लागू हुनुभन्दा अघि कम्पनीको सेयर प्रमाणपत्रमा उपलब्ध गराइन्थ्यो । तर अहिले उक्त प्रमाणपत्रको साटो डिम्याट अकाउन्टमा सेयर राखिन्छ ।

२) सीआरएन नम्बर
सीआरएन नम्बरको अर्थ हो सी-आस्बा रजिस्ट्रेसन नम्बर । यो बैंक वा वित्तीय संस्थाले प्रदान गर्छन् । यो ८ वटा नम्बरको हुन्छ । जसलाई कुनै पनि कम्पनीको प्राथमिक सेयर अर्थात् आइपीओ भर्नका लागि आवश्यक पर्छ । खास गरी सीआरएन नम्बर बैंक अकाउन्ट अन्तर्गतकै नम्बर हुन्छ । सीआरएन नम्बरकै सहायताले आइपीओ भर्दा आवेदन गरे वापतको नम्बर बैंकमा ब्लक भएर बस्छ । आइपीओ परेको खण्डमा आइपओ परे अनुसारको रकम काटिन्छ र त्यसबाहेकको रकम रिजिल भएर बैंक खातामा बस्छ ।

३) मेरो सेयर
सीडीएससी एण्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयर आइपीओ भर्न, आफूसँग भएको सेयर संख्या हेर्न र आइपीओ नतिजा हेर्नका लागि प्रयोग गरिन्छ । कुनै पनि बैंक तथा वित्तीय संस्थाले जारी गर्ने डिबेञ्चर, म्यूचुअल फण्डको आइपीओ पनि यसैमार्फत् भर्न सकिन्छ । डिम्याट र सीआरएन नम्बर भएकै आधारमा तपाईंले बैंकमै गएर आइपीओ भर्न सक्नुहुन्छ । तर यदि तपाईंसँग मेरो सेयर पनि लिनु भएको छ भने तपाईंले मोबाइल, कम्प्युटरलगायतका डिभाइसबाट आफू बसेकै ठाउँबाटै आइपीओ भर्न सक्नुहुन्छ । बैंक गइराख्नुपर्ने झण्झट रहन्न् ।

४) आइपीओ/एफपीओ
कुनै पनि कम्पनीले एक पटक मात्रै आइपीओ जारी गर्न पाउँछ । जसलाई अंग्रेजीमा इनिसियल पब्लिक अफरिङ र नेपालीमा प्राथमिक सेयर वा साधारण सेयर भनिन्छ । कुनै पनि कम्पनीलाई पैसाको जरुरी भयो भने कुल चुक्तापुँजीको केही प्रतिशत रकम आइपीओद्वारा संकलन गर्छन् । कम्पनीलाई आफूलाई अपुग रकम सर्वसाधारणसँग उठाउन पाउँछन् । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी जस्ता पब्लिक कम्पनीले आइपीओ जारी गर्नैपर्छ भने कुनै पनि निजी कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरण गरेर पनि आइपीओ जारी गरेको पाइन्छ ।

हाल कुनै पनि कम्पनीले आइपीओ जारी गरेपछि बाँडफाँट गर्दा आवेदन दिने सबैलाई न्यूनतम १० कित्ता दिनुपर्ने प्रावधान छ । यदि १० कित्ताका दरले पुग्नेभन्दा धेरै आवेदन परेको खण्डमा लक्की ड्रमार्फत् बाँडफाँट गरिन्छ । आइपीओ सामान्यतयाः प्रतिकित्ता १ सय रुपैयाँको जारी गरिन्छ भने कम्पनी अनुसार त्योभन्दा पनि बढी मूल्यमा जारी गरिन्छ ।

आइपीओपछि जारी हुने भनेको एफपीओ हो । एफपीओलाई ‘अ फलो अन पब्लिक अफर’ पनि भनिन्छ । कुनै पनि कम्पनीलाई आइपीओ जारी गरेपछि पनि थप रकम आवश्यक परेको खण्डमा एफपीओद्वारा पैसा संकलन गर्न पाउँछन् । एफपीओ जारी गर्ने कम्पनीहरु सेयर बजारमा सूचिकृत हुनछन् । आइपीओमा सामान्यतयाः १ सय रुपैयाँमा सेयर खरिद गर्न पाइन्छ भने एफपीओमा कम्पनीले सेयरको मूल्य फरक तोक्न पनि सक्छन् ।

५) टीएमएस
टीएमएसको पूरा रुप हो, ट्रेड म्यानेजमेन्ट सिस्टम । यो अनलाइनबाट सेयर कारोबार गर्नका लागि प्रयोग गरिन्छ ।

परम्परागत रुपमा ब्रोकर कार्यालयमा गएर मौखिक वा लिखितरुपमा सेयर खरिद वा बिक्रीको आदेश दिएपछि मात्रै सेयर कारोबार हुन्थ्यो । तर टीएमएस आइसकेपछि यो सेवा लिएका लगानीकर्ताले ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता छैन । लगानीकर्ताले घर, कार्यालय वा आफू बसेकै ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका डिभाइसमा लगइन गरी सेयर कारोबार गर्न सक्छन् ।

यसका लागि सबैभन्दा पहिले तपाईंले कुनै ब्रोकर कार्यालयमा गएर टीएमएस सेवा लिनुपर्ने हुन्छ । यो लिए वापत कुनै शुल्क लाग्दैन । ब्रोकर कार्यालयमा केवाईसी (नो युअर कस्टमर)फारम अपडेट गराएपछि टीएमएसका लागि फारम भर्नुपर्ने हुन्छ । ब्रोकर कार्यालय अनुसार सोही दिन वा भोलिपल्टसम्म तपाईंको इमेलमा टीएमएसको युजर नेम र पासवर्ड आउँछ ।

ब्रोकर कार्यालयलाई उनीहरुको नामसँगै १, २, ३ जस्ता नम्बरले पनि चिनिन्छ । यदि तपाई ब्रोकर नम्बर १ मा गएर टीएमएस सेवा लिनुहुन्छ भने तपाईंले www.tms01.nepsetms.com.np मा गएर ब्रोकर कार्यालयबाट उपलब्ध गराइएको युजर नेम र पासवर्ड टाइम गरी लगइन गर्नुपर्ने हुन्छ । ब्रोकर कार्यालयको नम्बर ब्राउजरमा टीएमएस लगइन गर्दा नै उल्लेख हुन्छ । (थप जानकारीका लागि)

टीएमएसबाट कसरी गर्ने सेयर कारोबार ? कति लाग्छ सेवा शुल्क ?

६) दोस्रो बजार
कुनै पनि कम्पनीले आइपीओ जारी गरेपछि उक्त कम्पनीको सेयर दोस्रो बजारमा सूचिकृत हुन्छ । आइपीओका माध्यमबाट बाँडफाँट भएका सेयरहरु दोस्रो बजारमा कारोबार गरिन्छ । यदि तपाईंले आइपीओमार्फत् १० कित्ता सेयर प्राप्त गर्नु भएको छ भने त्यसलाई बिक्री गर्ने वा त्यसमा थप सेयर खरिद गर्ने प्लेटफर्म भनेको दोस्रो बजार हो । नेपालमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सार्वजनिक विदाको दिन बाहेक आइतबारदेखि बिहीबारसम्म कारोबार हुन्छ । विहान १०ः३० बजेदेखि १०ः४५ सम्म प्रि–ओपन सेसन हुन्छ भने ११ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुन्छ । हाल नेप्सेमा २ सयभन्दा बढी कम्पनीका सेयर सूचिकृत छन् । जसलाई तपाईंले खरिद वा बिक्री गर्न सक्नुहुन्छ ।

७) बुक विल्डिङ
सामान्यतयाः कुनै पनि कम्पनीले आइपीओ जारी गर्दा प्रतिकित्ता सेयर मूल्य १ सय रुपैयाँ राखेका हुन्छन् । तर कतिपय अवस्थामा आइपीओको मूल्य प्रिमियममा पनि हुन्छ । अर्थात् १ सय रुपैयाँभन्दा बढी पनि हुन सक्छ । त्यसबाहेकको अवस्था भनेको बुक विल्डिङ हो । नेपालमा पहिलो पटक सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत् आइपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

कुनै कम्पनीले आइपीओ जारी गर्न खोज्यो तर बुक बिडिङमार्फत् गर्न चाह्यो भने बुक बिडिङमार्फत् आइपीओ जारी गर्न । त्यसका लागि नेपाल धितोपत्र बोर्डले निर्देशिका समेत जारी गरिसकेको छ ।

यसरी हुन्छ बुक बिडिङमार्फत् मूल्य निर्धारण

बुक बिडिङ भनेको क्रेताहरुले बोलकबोलमार्फत् कम्पनीको सेयर किन्छन् । जसले बढी मूल्य बोलकबोल गर्छ उसले सेयर किन्न पाउँछ । त्यसपत्रि क्रमशः कम बोलकबोल गर्नेले पाउँछन् । कम कम गर्दै जति मूल्यमा आउँदा कम्पनीले आवेदन मागेको सेयर संख्या सकिन्छ, त्यहाँ कट अफ गरिन्छ । र, बाँकी रहेको सेयर संख्या उक्त मूल्यमा सर्वसाधारणलाई बिक्री गरिन्छ ।


क्लिकमान्डु