मेलम्ची सपनाः बिर्सिएका किसुनजी, मिचिएको प्रोटोकलमा ओलीको जिरह



काठमाडौं । बहुदल स्थापनापछि २०४८ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्ने विषयलाई अगाडि सारे ।

भट्टराईले आफनै शैलीमा काठमाडौंको सडक पखाल्ने कुरा गर्दा धेरैले त्यसलाई उडाए । उडाउने मध्येका एक थिए, हालका प्रधानमन्त्री केपी शर्मा ओली । उनले भट्टराईको घोषणालाई हावादारी भन्दै तिखो प्रहार गरेका थिए ।

ओली त्यतिबेला पार्टी नेतृत्वमा नभए पनि मेलम्चीलाई भट्टराईको पूरा नहुने हवाई सपना भन्दै उडाएका थिए । शनिबार उनै ओलीले सुन्दरीजलमा आइपुगेको मेलम्चीको पानी आफनै वर्कतले आएको समेत बताए । उनले छिट्टै काठमाडौंका धारामा पानी आउने मात्रै बताएनन्, घर घरमा गएर लड्डु खान समेत भने ।

तर उनले मेलम्चीको स्वप्नद्रष्टा भट्टराईको नाम लिनै चाहेनन् । किनकी काम कसले शुरु गर्यो भन्ने कुरा आफैमा महत्वपूर्ण हुन्छ । तर, ओलीको अरुलाई पनि जस दिने बानी छैन । सबै काम आफैले गरेको भन्ने अहम् र हतारो उनमा देखिन्छ ।

आफैले बिघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनः स्थापना गरेपनि ओलीमा उद्घाटन र हतारो देखिएको छ । केही मानिसले ओलीको जिरहका कारण पूरा गर्नुपर्ने काम समेत नगरी उद्घाटन र शिलान्याशमा लागेका छन् । मेलम्चीको हकमा पनि त्यही हतारो देखिन्छ । किनकी उनलाई मेलम्चीमा पानी आफैले ल्याएको भनाउने हुटहुटी छ । तर, उनले शुरुवाती चरणदेखि पछिल्ला दिनसम्म काम गरेका कुनै पनि मन्त्री तथा कर्मचारीलाई जश दिएनन् ।

उनीहरुलाई सम्झने प्रयास समेत गरेनन् । अरुलाई मान सम्मान गर्दा आफनो पनि कद बढ्छ भन्ने उनलाई थाहा नै छैन भन्दा हुन्छ । मेलम्चीमा पनि ओलीले अरुलाई सम्मान दिएर आफनो कद बढाउने भन्दा पनि आफैले सबै गरेको भन्दै आत्मप्रशंसामा रमाए । उनको यो शैलीलाई धेरैले अहंकारी भन्ने गरेका छन् ।

सुन्दरीलमा शनिबार आएको पानी सुरुङमा भरिएको पानी हो । दुई दशक अघिको सपना पूरा हुने चरणमा पुगेको सही हो । मेलम्चीले राजधानीबासीलाइृ १७ करोड लिटर पानी दिनेछ । तर, पूरा गर्नुपर्ने काम नै नसकी पानी ल्याउने हतारोले आगामी दिनमा कुनै दुर्घटना भए त्यसबाट आइपर्ने विपद कसरी समाधान गर्नेमा सरकारी अधिकारीले ध्यान दिएका छैनन् । प्राविधिक कर्मचारीले सुरुङ परिक्षण गरेपछि मात्रै पानी वितरणको योजना बनाउनुपर्ने सुझाव दिएका छन् । तर प्राविधिको कुरा सुन्नु त परै जाओस् मैले भनेपछि हुुन्छ भन्ने शैलीमा ओली जसरी भएपनि पानी पठाउने योजनामा लागेका छन् ।

अघिल्लो पटक हतारोका कारण मेलम्चीको सुरुङमा हालिएको पानी फुटदा एक इञ्जिनियर र एक चालकलाई बगायो । २ जना घाइते भए । अहिले पनि उस्तै हतारो देखिन्छ । त्यसले आगामी दिनमा दुर्घटना ननिम्तिएला भन्न सकिदैन । जानकारहरुले सुरुङमा भरिएको पानी बिस्तारै निकालेर सुरुङको अवस्थाका बारेमा मिहीन तरिकाले अध्ययन गर्नुपर्ने हुन्छ ।

सुरुङमा भरिएको पानी फ्लसिङ टनेलबाट बाहिर फालेर सुरुङको अवस्था हेर्नुपर्ने विज्ञहरुको भनाइ छ । एशियाली विकास बैंकको गाइडलाइन अनुसार पनि सुरुङको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङबाट बाहिर फालेर कूल २७ किलोमिटर लामो सुरुङको अवस्था अध्ययन गरेर ठिक छ भनेपछि मात्रै पानी पुनः जम्मा गर्नुपर्नेमा त्यसो नगर्ने सरकारको तयारी छ ।

ओलीको शनिबारको भाषणलाई पत्याउने हो भने ‘सुरुङ पूरै खाली गरेर समस्या भए÷नभएको अध्ययन नगर्नेतर्फ नै केन्द्रित छ ।’ सुरुङ खाली नगर्ने र पानी हाल्दा प्रभाव परे नपरेको अध्ययन पनि नगर्ने सोचका साथ ओली र खानेपानीमन्त्री मणि थापाको जिरह देखाइरहेका छन् । सो जिरहले आगामी दिनमा दुर्घटना निम्त्याउने संभावना रहेको छ ।

परीक्षण नै नगरी आयोजना उद्घाटन गर्ने र भोलि कुनै समस्या आए त्यो आफूहरुले होइन भन्दै पन्छन् पाइन्छ भन्ने मनसायले काम गरेको छ ।
आयोजनाकै जानकार एवम् प्राविधिकहरुले हतारको काम लतार हुने भन्दै सरकारको ध्यानकर्षण गराए पनि प्रधानमन्त्री ओली र खानेपानी मन्त्री थापा त्यसलाई सुनुवाई गर्ने पक्षमा छैनन् ।

उनीहरुले दीर्घकालमा सुरुङमा समस्या आए कसरी समाधान गर्ने भन्नेमा समेत चिन्तित छन् । आयोजनाको दिगोपनका लागि प्राविधिकको चिन्ता जायज छ । तर विकासको सामान्य मूल्य र मान्यतालाई समेत अस्वीकार गर्दै सरकारले देखाएको हतारो आफैमा चिन्ताजनक विषय रहेको छ ।

जानकारहरुले झण्डै २५ वर्ष लागेको आयोजनामा थप ३० दिन प्रतिक्षा गर्दा आकाश नै खस्ने अवस्था नभएको भन्दै हतारो नगर्न सरकारलाई सुझाव दिएका छन् ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तलेपनि सामान्य गाइडलाइनलाई अनुसरण गर्नुपर्ने बताउँदै आएका छन् । तर, उनीलगायत अन्य कर्मचारीको कुरा नै सरकारले सुनेको अवस्था छैन । मेलम्ची सपना पूरा गर्ने नाममा भोलि आउने समस्यालाई आजै आत्मसात् गरेर जाँदा केही फरक पर्दैन ।

सामान्यता पानी भरेपछि, त्यसलाई खोलेर परीक्षण गर्ने काम विकास सिद्दान्तभित्रैको कुरा हो । यसलाई हरेक विकासकर्ताले आफनो गाइडलाइनमा राखेका हुन्छन् । जलविद्युत् आयोजनाको पनि सुरुङ परीक्षण त्यसैगरी गरिन्छ ।

पानी राख्दा सुरुङले कस्तो प्रतिक्रिया देखायो तथा त्यहाँ कुनै समस्या त देखिएन भनेर हेर्नु नै पर्छ । यो समान्य कुरा हो । यस्तै, सुरुङभित्र प्राकृतिक तथा अन्य प्रकारका सहयोगी संरचना बनाइएको हुन्छ । त्यो संरचनाको अवस्था कस्तो रह््यो भनेर पनि हेर्नुपर्छ । तर, सरकारी निकायले यसतर्फ ध्यान दिएका छैनन् ।

मेलम्चीको सुरुङ निर्माणमा ३ वटा ठेकेदार कम्पनी जोडिएका छन् । सुरुङमा चिनियाँ, त्यसपछि इटालियन र हाल चिनियाँ कम्पनीले काम गरेको अवस्था छ । फरक–फरक ठेकेदारले फरक तरिकाले काम गरेका छन् । त्यसकारण पनि सुरुङको कंक्रिट लाइनिङ तथा अन्य सुरक्षात्मक उपायको बारेमा मिहीन अध्ययन गरेर मात्रै पानी पठाउनेतर्फ लाग्नुपर्नेमा त्यसो भएको छैन ।

‘एकाध दिन हतार नगर्दा काम दीर्घकालीन हुन जान्थ्यो, अहिले हाम्रो कुरा कसले सुन्छ र ?’ आयोजनाका एक प्राविधिकले भने ‘ भोलि उत्पन्न हुनसक्ने जोखिमको आजै पूर्वानुमान गरेर तयारी गर्दा नै राम्रो हुन्छ ।’

ती प्राविधिकको रायलाई घाममा सुकाइदेऊ भन्ने शैलीमा ओली र खानेपानी मन्त्री थापा लागेका कारण काठमाडौंमा पानी आयो भन्दै गर्दा मेलम्ची जोखिम पनि आउन सक्ने भएकाले उपभोक्ता नै सचेत हुनुपर्ने अवस्था देखिएको छ । जे होस् राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची पूरा हुने चरणमा पुगेको छ ।


क्लिकमान्डु