गृहश्रमिकलाई कोषमा आबद्ध गराउनुपर्ने सरोकारवालाहरूको माग, मस्यौदा तयार गर्दै कोष



काठमाडौं । घर वा इच्छाएको स्थानमा बसेर रोजगारदाताका लागि प्रतिइकाइ दरमा आयआर्जन गर्दै आएको गृहश्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनुपर्ने सरोकारवाहरूले माग गरेका छन् ।

होममेट दक्षिण एसियाको सहयोगमा गृहश्रमिक सरोकार समाज नेपाल र क्लास नेपालले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा टे«ेड यूनियन, जिफन्ट, आइएलोलगायत अन्य क्षेत्रमा प्रतिनिधि र गृहश्रमिकहरूले सो माग गरेको हो ।

देशमा गृहश्रमिकहरूले ठूलो योगदान गर्दै आए पनि सरकारले उक्त श्रमिकहरूलाई भने समाजिक सुरक्षाको व्यवस्था नगरेको उनीहरूको भनाइ छ ।

जसमा सरकारको नीति नियममा गृहश्रमिक र घरेलु श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनने भनिए पनि हालसम्म व्यवस्थित हुन नसकेको उनीहरूको गुनासो छ ।

‘कुनै पनि आधारभूत श्रम मापदण्ड बिनै श्रम गर्न गृहश्रमिकहरु बाध्य भएको देखिन्छ । तसर्थ, कानून र अधिकारले धेरै कुरा दिए पनि व्यवहारमा लागू हुन नसकेका गृहश्रमिकका सरोकारलाई तत्काल पहिचानका साथै उपयुक्त प्रणालीको विकास गरी सम्बोधन गर्न आवश्यक रहेको छ,’ गृहश्रमिक सरोकार समाज नेपाल समाजका अध्यक्ष प्रभा पोख्रेलले भनिन् ।

औपचारिक तथा अनौपचारिक रुपमा आबद्ध भई गृहश्रमिकले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदा पनि सरकारले कुनै पनि सामाजिक सुरक्षाको व्यवस्था नगर्दा गृहश्रमिक तथा घरेलु कामदार समस्यामा रहेको उनले बताइन् ।

यसले गर्दा आगामी दिनमा गृहश्रमिकले पनि योजनामा आबद्ध गराउनुपर्ने प्रावधानको लागि छिट्टै व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

अर्थतन्त्रमा घरेलु र गृहश्रमिकहरू ठूलो योगदान रहँदा रहँदै पनि आफू गृहश्रमिकहरू भन्न चिनाउनका लागि मुस्किल अवस्था रहेको सरोकारवालाको भनाइ छ । त्यसैले सरकारले सामाजिक सुरक्षालगायत अन्य योजनामा आबद्ध गराई पहिचानमुखी बनाउनुपर्ने उनीहरूले उल्लेख गरे ।

ट्रेड यूनियन कांग्रेसका उपमहासचिव राजेश पालिखेले कोषको स्थापना करिब २ वर्ष अगाडि मात्रै भएको उल्लेख गर्दै कोषले औपचारिक तथा अनौपचारिकरुपमा गति लिन अझै १०औं वर्ष लाग्ने बताए ।

यसले गर्दा आगामी दिनमा पनि गृहश्रमिकलाई सरकारले केन्द्रमा मात्रै नभई स्थानीय तहमा गएर नै प्रशिक्षण दिएर कोषमा आबद्ध गराउनुपर्ने बताए । साथै, सरकारले स्थानीय तहमा अध्ययन गरी समावेश गरेमा अझ प्रभावकारी हुन उनको विश्वास छ ।

त्यसैगरी, घरेलु श्रमिक र गृहश्रमिकहरूले श्रम गर्ने बेला विभिन्न सामाजिक, आर्थिक तथा शारिरीक रुपमा शोषित भएकाले यस क्षेत्रलाई कसरी आबद्ध गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी अगाडि बढ्नुपर्ने जेटीयूसीसीका महासचिव इन्द्रदेव मिश्र बताउँछन् ।

उनका अनुसार हाल घरेलु श्रमिकका रुपमा आबद्ध भएका श्रमिकले कुनै पनि संस्था दर्ता नगरेको हुदा कोषमा आबद्ध हुन निकै चुनौती रहेको बताए ।

साथै, कोषमा आबद्ध हुनको लागि श्रमिककको ११ प्रतिशत र बाँकी २० प्रतिशत रोजगारदाताले व्यहोर्नुपर्ने हुँदा यसमा पनि विशेष ध्यान दिई समेट्नुपर्ने बताए ।

अनौपचारिक श्रमिकलाई समेट्न मस्यौदा तयार गर्दै कोष
औपचारिक तथा अनौपचारिक क्षेत्रमा आबद्ध सबै श्रमिकलाई आबद्ध गर्नको लागि मस्यौदा तयारी गरिरहेको सामाजिक सुरक्षा कोषमा कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली बताउँछन् ।

उनका अनुसार कोषले हाल मात्रै दोस्रो संशोधन गरेर रोजगारदाता र श्रमिक हितलाई समेटिएको जनाउँदै गृहश्रमिक र घरले श्रमिकलाई पनि समेट्नको लागि मस्यौदा तयार गरी अन्तिम चरणमा पुगेका बताए । साथै, मस्यौदाका विषयमा यससँग सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेर कार्यान्वयनमा ल्याउने बताए ।

‘कोषमा आबद्ध हुन रोजगारदाताबाट २० प्रतिशत र श्रमिकबाट ११ प्रतिशत मासिक रुपमा योगदान गर्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘तर, गृहश्रमिकलाई उक्त व्यवस्था लागू गर्न निकै चुनौती रहेको भन्दै मस्यौदा तयार गरी शतप्रतिशत रकम तोकेर कोषमा दायरामा ल्याउँछौं ।’

यससँगै मस्यौदामा घरलु श्रमिक र गृहश्रमिकको हितलाई समेटेर ३ वा ६ महिनाको अवधिमा योगदान गर्नुपर्ने व्यवस्था पनि हुनसक्ने बताए । तर, यसमा कसरी समेट्ने कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेर सहज ढङ्गबाट कोषको दायरमा ल्याउने प्रतिबद्धता उनले जनाए ।


क्लिकमान्डु