तेल उत्पादनमा भएको कटौती यथावत, मूल्य अझै बढ्ने



काठमाडौं । नेपाल आयाल निगमले पछिल्लो तीन सातामा तीन पटक पेट्रोलियम पदार्थमा मूल्य बढाइसकेको छ । जसले गर्दा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । यद्यपि अझै पनि निगमले पाक्षिकरुपमा १ अर्ब ३२ करोड घाटा रहेको दावी गर्दै आएको छ ।

पेट्रोलियम पदार्थको मूल्य सस्तो होला भन्ने आशामा रहेकाहरुका लागि झट्का लागेको छ । पेट्रोलियम पदार्थको मूल्य आगामी दिनमा अझै बढ्ने देखिएको छ ।

तेल उत्पादक देशहरुको समूह ओपेक तथा सहयोगी अन्य देशहरुले उत्पादनमा गर्ने कटौती आगामी अप्रिलसम्म कायमै राख्ने बताएका छन् । उत्पादन कम हुँदा माग बढेको र यसले मूल्य बढाएको छ ।

ओपेक तथा उसका सहयोगी देशले तेल उत्पादनमा तेल उत्पादनमा गरिएको कटौती कायमै राख्ने निर्णय गरेका छन् । जबकी फ्युल डिमान्ड प्रि–कोभिडको अवस्थामा पुगेको छ । जसका कारण बजारमा कच्चा तेलको मूल्य बढेर गएको छ ।

उक्त निर्णयसँगै ब्रेन्ट क्रुडको मूल्य बिहीबार ४.२ प्रतिशत अर्थात् २.६७ रुपैयाँले बढेर ६६.४७ डलरमा पुगेको छ । यसअघि सन् २०२० को जनवरीमा यो मूल्य ६७.७५ डलर प्रति ब्यारेलको स्तरमा पुगेको थियो । अमेरिकी बजारमा बिहीबार कच्चा तेलको मूल्य ५.६ प्रतिशतले बढेर ६४.७० डलर प्रति ब्यारेल पुगेको छ ।

साउदी अरबको अगुवाइमा ओपेकका देश तथा रुसको नेतृत्वमा सहयोगी देशहरुले अनलाइन बैठकमार्फत् उत्पादनमा कटौतीलाई जारी राख्ने निर्ण गरेका हुन् ।

विश्वका सबैभन्दा ठूलो तेल उत्पादक देश साउदी अरबमा दैनिक १० लाख ब्यारेल कटौती कम्तीमा पनि अप्रिलसम्म जारी राख्नेछ । यद्यपि रुस तथा काजकिस्तानले तेलको उत्पादन थोरै भए पनि बढाउन सक्नेछन् ।

गत महिना इन्भेस्ष्टमेन्ट बैंक गोल्डम्यान सैसले कच्चा तेलको मूल्य बढ्ने अनुमान गरेको थियो । जस अनुसार यो वर्ष जुलाई महिनासम्म कच्चा तेलको खपत कोरोनाभन्दा अगाडिको अवस्थामा पुग्नेछ । यस्तो अवस्थामा कच्चा तेलको मूल्य १० डलर प्रति ब्यारेल बढ्न सक्ने देखिएको छ ।

हाल नेपालमा पट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ कायम गरिएको छ । यसअघि ११४ र ११२ रुपैयाँ थियो । त्यसैगरी डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ छ भने हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँले बढाएर हाल आन्तरिकतर्फ प्रतिलिटर ७२ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ भने प्रतिलिटर २५ रुपैयाँ बढाएर ८९३ रुपैयाँ कायम गरिएको छ ।


क्लिकमान्डु