सुनको माग बढे पनि आपूर्ती बढेन, दैनिक ३० केजी माग गर्दैै व्यवसायीहरु



काठमाडौं । कोभिड-१९ महामारीको समयमा निरन्तर उकालो लागेको सुनको मूल्य अहिले निरन्तर ओरालो लागेको छ । कोरोनाको समयमै इतिहास रेकर्ड कायम गर्न सफल भएको सुनको मूल्य कोरोना भ्याक्सिनको सफल परीक्षण भएसँगै निरन्तर ओरालो लागेको हो ।

निरन्तर ओरोलो लागेको सुनले ८ महिनापछि सोही मूल्य कायम गरेको छ । बजारमा सुनको मूल्य ओरोलो लागेसँगै बजारमा भने अत्यधिक कच्चा सुनको माग आइरहेको व्यवसायीहरूको भनाइ छ । तर, माग अनुसार कच्चा सुन आपूर्ति गर्न नसक्दा निकै कठिनाइ भइरहेको उनीहरूको गुनासो छ ।

सरकारले सुनचाँदीमा अत्यधिक आयात भई शोधानान्तर बचतमा दबाब बढेको भन्दै २०६६ मा सरकारले वाणिज्य बैंकहरुबाट मात्रै कोटा प्रणालीअन्तर्गत आयात गर्ने व्यवस्था गरेको थियो ।

शुरुवाती वर्षमा प्रतिदिन १० केजीको कोटा निर्धारण गरिएको थियो । यस कोटालाई २०६७ मा १५ केजी प्रतिदिन पाउने प्रावधान थियो । त्यस्तै, २०७४ सम्म प्रतिदिन २० केजी आयात गर्ने गरी संशोधन गरिएको थियो । तर, कोरोनाको विश्वव्यापी प्रभाव बढ्न थालेसँगै नेपाल राष्ट्र बैंकले २०७६ चैतदेखि २० केजीको कोटाबाट १० केजीमा झारेको छ ।

विगत ११ वर्षमा देशको अर्थतन्त्रमा झण्डै ५ गुणाको बढोत्तरी भएपनि सुनचाँदीको कोटा २० केजी पुगेको थियो । तर, पुनः अहिले १० किलोमा झरेकाले विभिन्न समस्या भोग्न बाध्य भएको व्यवसायीहरूको गुनासो छ । मात्रै उपलब्ध हुँदा अवसर पाउँदा पनि व्यापार गर्न नपाएको बताए ।

दैनिक ३० केजीको माग
कोरोना भाइरस महामारीका कारण लामो समय बन्द भएको व्यापारले तिहारपश्चात मात्रै गति लिन थालेको थियो । तिहारमा केही मात्रामा बिक्री भएको सुनचाँदी मंसिरमा पनि बिहेको लगन पनि कम मात्रामा भएको अवस्थामा पनि उल्लेखनीय माग आएको उनीहरूको भनाइ छ । साथै, सुनको अभावले गर्दा ग्राहकलाई आवश्यक पर्ने सुन बनाउन निकै कठिन भएको व्यवसायीहरूको अनुभव छ ।

यस अवधिमा सुन किन्ने मानिस दिनप्रति दिन बढ्दै गएको अध्यक्ष शाक्यको भनाइ छ । हाल दैनिक ३० केजी सुनको माग आउने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

उनका अनुसार प्रतितोला सुनको मूल्य ९० हजार आइपुगे देखिनै बजारमा सुनको माग उच्च छ । तर, दैनिक रुपमा १० केजी मात्रै सरकारले उपलब्ध गराउँदा बजारमा सुनको हाहाकारी देखिएको उनले बताए ।

‘दैनिक ३० केजी हाराहारीमा माग तथा खपत भइरहेको छ । तर, सरकारले भने १० केजीको कोटा तोकिदिँदा व्यवसायमा निकै असर पुगेको छ,’ उनले भने ।

अहिलेको अवस्थामा बजारमा माग अनुसार २० केजी कम हुँदा व्यापारमा अवैध धन्दामा सक्रिय हुन सक्ने उनको भनाइ छ । यससँगै सुनचाँदी बिक्री गर्ने मौसम पनि नजिकिँदै गएको र बजार पनि सामान्यकरण हुँदै जाँदा सुनको चरम अभाव भइरहेको छ । यसको सरकारले छिट्टै सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

कोटा बढाउनुपर्ने व्यवसायीको माग
सरकारले सुनको कोटा २० केजीकोटा देखि झारेर १० केजी कोटाको मात्र दैनिक पाउने प्रावधान बनाएसँगै सुनचाँदी व्यवसायीहरूले यस प्रति विरोध जनाउँदै आएका छन् । साथै, हरेक कार्यक्रम र छलफलमार्फत् सरकारले कोटा बढाउनुपर्ने माग राख्दै आएका छन् । व्यवसायी महासंघले बारम्बार कोटा बढाउनुपर्ने मागको लागि ध्यानाकर्षण गराए पनि कुनै सम्बाधेन नगरेको उनीहरूको आरोप छ ।

त्यस्तै, बिहीबार पनि महासंघले विभिन्न मागसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त ध्यानाकर्षण पत्रमा सुनको चरम अभाव भएको भन्दै आपूर्तिको लागि सहज बनाउन पहिलो नम्बरमा ३० केजी कोटा पुर्याउनुपर्ने माग राखेको अध्यक्ष शाक्यले जानकारी दिए ।

‘पहिले देखि नै माग अनुसारको आपूर्ति बढाउनुपर्छ भनेर सरकारको विभिन्न निकायहरूमा ध्यानाकर्षण गर्दै आएको छ । त्यसैले सरकारले पनि यस समस्यालाई छिट्टै नै समाधान गर्ने भन्दै आएको हुनाले सकारात्मक प्रतिक्रिया आउने अपेक्षामा छौं,’ उनले क्लिकमान्डूसँग भने ।

ऐन कानून नबन्दा व्यवसायीलाई समस्या
सरकारले हालसम्म सुनचाँदी व्यवसायीलाई व्यवस्थित गर्नको लागि कुनै पनि नीति नियम बनाएको अवस्था छैन् । प्राय सबै व्यवसायीमा विभिन्न नीति नियम लागू गरे लामो इतिहास बोकेको सुनचाँदी व्यवसायीको लागि कुनै पनि ठोस ऐन तथा कानून नबन्दा धेरै समस्या झेल्नुपरेको महासंघका अध्यक्ष शाक्यले जानकारी दिए ।

‘विभिन्न व्यवसायीलाई ऐन अनुसार सुरक्षित र व्यवस्थित गराएको हुन्छ । तर, सुनचाँदीमा अर्बौ रुपैयाँको कारोबार हुन्छ । त्यसैले यस क्षेत्रमा पनि छिटोभन्दा छिटो कानुको व्यवस्था गर्नुपर्ने व्यवसायीको माग रहेको छ,’ उनले भने ।

साथै, सुनचाँदी व्यवसायीमा जसले जे गरे पनि हुन्छ । विधिले शासन गर्नुपर्ने अवस्थामा व्यक्तिले शासन गरिरहेको अवस्था रहेको भन्दै विभिन्न नियमक निकायले विभिन्न समयमा फरक–फरक निर्णय गरिरहँदा समस्या देखिएको उनको बुझाइ छ ।

कोटा बढाउनेबारे सरकारको आश्वासन मात्रै
व्यवसायीहरूले लामो समयदेखि विभिन्न सरकारी निकाय र मन्त्रीसँगको भेटघाट गर्दै आएकोमा कोटाको समस्या हट्ने भन्दै आश्वासन दिँदै आएको छ ।

त्यस्तै, महासंघको महाधिवेशनमा पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ र राष्ट्र बैंकका तत्कालीन डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले कोटाको समस्या छिट्टै समाधान हुने भएकाले ढुक्क साथ व्यवसाय गर्न आग्रह गरेका थिए ।

तर, लामो समय बित्दा पनि कुनै निर्णय नआएपछि सुनको आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले अध्यक्ष शाक्यको नेतृत्वमा मंगलबार आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराइसँग भेटगरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सृजना भैसकेको भन्दै तत्काल कोटा वृद्धि गर्न मागको ध्यानाकर्षण गरे ।

उक्त भेटघाटमा सचिव भट्टराईले पनि कोटा वृद्धिगरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए । तर, बिहीबार पनि सोही माग लिएर आपूर्तिमन्त्री लेखराज भट्टसँग छलफलको लागि व्यवसायीहरू पुगेका छन् । यसले गर्दा आगामी दिनमा उक्त समस्या समाधान हुने व्यवसायीको विश्वास छ ।

महासंघले बुझाएको प्रतिवेदन एक वर्षदेखि मन्त्रालयको दराजमा थन्कियो
महासंघले एकवर्ष अघि सुनचाँदीको व्यवसायीलाई व्यवस्थित गर्नको आपूर्ति मन्त्रीको निर्देशनमा उच्च स्तरीय समिति गठन गरेको थियो । त्यस समितिले व्यवसायीलाई व्यवसायमा सहज बनाउने कामहरु गर्नुपर्छ भनेर प्रतिवेदन तयार गरेको थियो ।

तर, उक्त प्रतिवेदनको कुनै पनि ठोस निर्णय आउन नसकेको शाक्यले बताए । त्यसैले, महासंघले बिहीबार कोटाको वृद्धि गर्नुपर्नेसँगै एकवर्ष अघि पेश गरिएको प्रतिवेदन किन कार्यान्वयन नआएको भन्ने विषयमा छलफल गर्ने बताए । साथै, प्रतिवेदन बनाएर दराजमा थन्काउने हो भने किन बनाउनुपर्यो भन्दै उनले आक्रोस पोखे ।


क्लिकमान्डु