कार्यविधि संशोधनपछि पनि सामाजिक सुरक्षा कोषमा रोजगारताले रूचि देखाएनन्



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहिलो चरणमा ल्याएको कार्यविधि प्रभावकारी नभएको भन्दै गत २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा दोस्रो संशोधन गर्यो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको सामाजिक सुरक्षा कोषले चार वटै योजनामा रोजगारदाता र श्रमिकको हितलाई समेटेर संशोधन गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन ।

कोषले रोजगारदाता र श्रमिकको हितलाई समेटेर कार्यविधि संशोधन गरेको दाबी गरेता पनि उल्लेखनीय रोजगारदाता र श्रमिक आबद्ध हुन सकेको छैन ।

श्रम मन्त्रालयले गत माघ २९ गतेदेखि फागुन १४ गतेसम्मको सार्वजनिक गरेको प्रगति विवरण अनुसार करिब दुई हप्ताको अवधिमा ५९ रोजगारदाता र १५ सय ११ जना श्रमिक आबद्ध भएका छन् । उक्त आबद्ध भएका रोजगारदाता र श्रमिकबाट कोषले २१ करोड ९४ लाख रुपैयाँ रकम जम्मा गरेको छ ।

त्यस्तै, कार्यविधि संशोधित हुनुभन्दा अगाडिको तथ्यांक हेर्दा एक हप्ताको अवधिमै ४७ रोजगारदाता र ७७७ जना श्रमिक आबद्ध भएका थिए । साथै, उक्त आबद्ध भएको रोजगारदाता र श्रमिकबाट १२ लाख ४४ करोड रुपैयाँ कोषमा जम्मा भएको थियो । जसमा कार्यविधि संशोधन हुनुभन्दा अगाडिभन्दा र कार्यविधि संशोधन भएपश्चात आबद्ध संख्या न्यून रहेको छ ।

त्यस्तै हालसम्ममा १३ हजार ३ सय १२ रोजगारदाता र १ लाख ९० हजार ७ सय १७ श्रमिक आबद्ध भएका छन् । उक्त आबद्ध रोजगारदाता र श्रमिकबाट कोषमा ४ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ संकलन भएको छ ।

कोषले दुई हप्ताको अवधिमा आबद्ध भई योजना अनुसार पाउने सुविधामा १६५ जनाले दाबी गरेका छन् भने उक्त दावी गरेको योगदानकर्तालाई २३ करोड ५८ लाख दावी रकम दिएका छन् ।

त्यस्तै, मन्त्रालयले गत माघ २९ देखि फागुन १४ गतेसम्मको प्रगति विवरण अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् ६ जार ७ सय ३३ जनाले रोजगारी प्राप्त गरेका छन् ।

त्यस्तै मन्त्रालयमा श्रम सम्बन्धि ३५ वटा विवाद तथा गुनासो आएकोमा २० वटा विवाद तथा गुनासोको समाधान भएको मन्त्रालयले जनाएको छ । र बाँकी समाधान गर्नका लागि प्रक्रियामा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

१८ जना विदेशी नागरिकलाई श्रम स्वीकृति
मन्त्रालयले गएको दुई हप्तामा १८ जना गैर नेपाली नागरिकलाई नयाँ श्रम स्वीकति दिएका छन् । त्यस्तै, २८ जना गर नेपाली नागरिकको श्रम स्वीकृति नवीकरण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी दुई हप्ताको अवधिमा वैदेशिक रोजगार कार्यलय ताहचलले संस्थागत र व्यक्तिगत रुपमा ३ हजार ८ सय २८ जनालाई नयाँ श्रम स्वीकृति र ५ हजार २ सय ८२ जनालाई पुनः श्रम स्वीकृति दिएको मन्त्रालयले जनाएको छ । साथै, ३ सय २२ जनालाई बैधानिकरण गरिएको मन्त्रालयले उल्लेख गरेको छ । तर, इपीएसमार्फत भने कुनै पनि श्रम स्वीकृति लिएका छैनन् ।

मन्त्रालयका अनुसार विभागतर्फ प्राप्त २८ वटा उजुरीमध्ये ७ वटा उजुरी पछ्यौट गरेको जनाएको छ । साथै, एक जनालाई दण्ड जरिवाना गरिएको प्रगति विवरणमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा मृत्यु भएको परिवारलाई करिब ५ करोड रकम वितरण
मन्त्रालयका अनुसार गत माघ २९ देखि फागुन १४ गतेसम्मको प्रगति विवरणमा वैदेशिक रोजगारीमा मृत्यु भएका ३५ जना मृतकका परिवारलाई ४ करोड ९२ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

साथै, वैदेशिक रोजगारीको सिलसिलामा असक्त भएका ४ जना कामदारहरुलाई १५ लाख ६८ हजार रुपैयाँ रकम उलब्ध गराएको छ । त्यसैगरी दुई हप्ताको अवधिमा १० जनालाई अभिमुखीकरण दिएको छ भने व्यवसायीक तथा सीपमूलक तालिम ४८४ जनाले प्राप्त गरेका छन् ।


क्लिकमान्डु