७ वर्षमा बैंकका सीइओको तलब-भत्ता ९१० प्रतिशतसम्म बढ्यो, कस्को कति ?



काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको तलबभत्ता तथा सेवा सुविधामा हुने खर्च ९०० प्रतिशतसम्मले बढेको छ ।

आर्थिक वर्ष २०७०/७१ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ३ बैंकले सीइओका लागि गर्ने खर्च घटाएका छन् भने २४ वटा बैंकले बढाएका छन् ।

अर्थात् ७ वर्षको अवधिमा ३ वटा बैंकले आफ्ना कार्यकारी अधिकृतले ७ वर्षअघि दिएको तलब/भत्ताको तुलनामा अहिलेका सीइओहरुलाई भुक्तानी गर्ने तलब/भत्ता कम छ ।

तर केही यस्ता बैंक छन्, जसले ७ वर्षअघि सीइओलाई दिने तलब/भत्ता तथा सेवा सुविधावापतको खर्च ९१० प्रतिशतसम्मले बढाएका छन् ।

सीइओहरुले आफ्नो कमाइको ३६ प्रतिशत राज्यलाई कर तिर्छन् । बैंकले नै कर काटेर बाँकी रहेको रकममात्रै उनीहरुलाई दिन्छ ।

लक्ष्मी, सिभिल र मेगा बैंकले सीइओको खर्च घटाएका छन् भने प्रभु बैंकले सबैभन्दा धेरै अर्थात् ९१० प्रतिशतले बढाएको छ । २०७०/७१ सालमा तत्कालीन प्रभु विकास बैंक (तत्कालीन किष्ट बैंक)ले सीइओ लागि ३३ लाख ८६ हजार ११७ रुपैयाँ खर्च गरेको थियो । त्यसबेला सीइओ रहेका अशोक शेरचन अहिले पनि सीइओ छन् । प्रभु बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा सीइओ शेरचनका लागि ३ करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी सबैभन्दा बढी सीइओका लागि गर्ने खर्च वृद्धि गर्ने बैंकको दोस्रो नम्बरमा नेपाल एसबीआई छ । यो बैंकले ७ वर्षअघिको अवधिमा सीइओका लागि गर्ने खर्च २७१.४७ प्रतिशतले बढाएको छ । २०७०/०७१ मा बैंकले सीइओ आलोक कुमारका लागि ४७ लाख रुपैयाँ खर्च गरेको थियो भने थियो भने गत आवमा सीइओ दिपक कुमार दिका लागि १ करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ ।

यस अवधिमा कुमारी बैंकले सीइओका लागि गर्ने खर्च २४५.३८ प्रतिशतले बढाएको छ । २०७०/७१ मा सीइओ उदय उपाध्यायलाई ६९ लाख रुपैयाँ खर्च गरेको बैंकले गत आर्थिक वर्षमा सीइओ सुरेन्द्र भण्डारीका लागि २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ खर्च गरेको छ ।

संसारभर नै सीइओहरुको तलबभत्ताको विषयमा आलोचनाहरु हुने गरेको पाइन्छ । तर, उनीहरुले के कति जोखिम मोलेका छन् ? आलोचकहरुले त्यसतर्फ ध्यान दिएको भने पाइँदैन ।

बैंक अफ काठमाडौंले आर्थिक वर्ष २०७०/७१ मा तत्कालीन सीइओ अजय श्रेष्ठका लागि ८५ लाख रुपैयाँ खर्च गरेको थियो । बैंक अफ काठमाण्डू र लुम्बीनी बैंक मर्ज भई अहिलेको बैंक अफ काठमाण्डू बनेको हो । उक्त समय हालको बैंक अफ काठमाण्डूका सीइओ शोभनदेव पन्त लुम्बिनी बैंकमा सीइओ थिए । पन्तलाई लुम्बिनी बैंकले १ करोड १६ लाख रुपैयाँ भुक्तानी गरेको थियो । यसबीचमा बैंक अफ काठमाडौंले तत्कालीन सीइओ श्रेष्ठलाई र गत आवमा हालका सीइओ पन्तलाई खर्च गरेको रकम हेर्दा २३०.६३ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत आवमो बैंकले सीइओ पन्तलाई २ करोड ८१ लाख ३ हजार ७९० रुपैयाँ खर्च गरेको छ ।

आर्थिक वर्ष २०७०/७१ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा माछापुच्छ्रे बैंकले सीइओका लागि गर्ने खर्च १८४ प्रतिशतले बढाएको छ । बैंकले तत्कालीन सीइओ तुलसीराम गौतमलाई ७५ लाख रुपैयाँ खर्च गरेको थियो । बैंकले गत आवमा सीइओका लागि २ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ । गत आवमा शुरुको ९ महिना सुमन शर्मा र बाँकी ३ महिना सन्तोष कोइराला सीइओका रुपमा काम गरेका थिए ।

सीइओका लागि धेरै खर्च बढाउने बैंकहरुको सूचिमा स्ट्यान्डर्ड चार्टर्ड बैंक छैटौं स्थानमा छ । बैंकले आर्थिक वर्ष २०७०/७१ मा तत्कालीन सीइओ जोसेफ सिल्भानसका लागि १ करोड ४३ लाख रुपैयाँ खर्च गरेको थियो भने गत आवमा सीइओ अरविन्द घोष दास्तिदरलाई ३ करोड ९८ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम अहिले वाणिज्य बैंकका सीइओहरुले पाउनेमध्येको सबैभन्दा धेरै हो ।

एनसीसी बैंकले यो ७ वर्षको अवधिमा सीइओका लागि गर्ने खर्च १७७.३१ प्रतिशतले बढाएको छ । बैंकले तत्कालीन समयका सीइओ अमृतचरण श्रेष्ठलाई ४९ लाख रुपैयाँ खर्च गरेको थियो । तर गत आवमा सीइओ रमेश अर्याललाई १ करोड ३५ लाख ८८ हजार ३४७ रुपैयाँ खर्च गरेको छ ।

नेपाल बंगलादेश बैंकले ७ वर्षको अवधिमा सीइओका लागि गर्ने खर्च १७१.१५ प्रतिशतले बढाएको छ । बैंकले तत्कालीन समयदेखि हालसम्म कार्यरत सीइओ ज्ञानेन्द्र ढुंगानालाई गर्ने खर्च ५२ लाख रुपैयाँबाट बढाएर १ करोड ४१ लाख रुपैयाँ पुर्याएको छ ।

हिमालयन बैंकले पनि सीइओका लागि गर्ने खर्च ७ वर्षको अवधिमा १०६.६४ प्रतिशतले बढाएको छ । बैंकमा तत्कालीन समयदेखि हालसम्म सीइओकारुपमा कार्यरत अशोक राणालाई भुक्तानी गर्ने तलब, भत्ता तथा सेवासुविधा वापतपको खर्च ८७ लाख रुपैयाँबाट बढाएर १ करोड ७९ लाख ७७ हजार ३३९ रुपैयाँ पुर्याएको छ ।

७ वर्षको अवधिमा सीइओका लागि गर्ने खर्च बढाउने सूचिमा १०औं स्थानमा छ, सनराइज बैंक । बैंकले यस अवधिमा सीइओका लागि हुने खर्च ९८.६० प्रतिशतले बढाएको छ । तत्कालीन सीइओ सुरेन्द्रमान प्रधानका लागि ६८ लाख रुपैयाँ खर्च गरेको बैंकले गत आर्थिक वर्षमा सीइओ जनकराज पौडेलका लागि १ करोड ३५ लाख ५ हजार रुपैयाँ खर्च गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले यस अवधिमा सीइओ ज्योति पाण्डेका लागि तलब, भत्ता तथा सेवा सुविधावापत हुने खर्च ९५.१२ प्रतिशतले बढाएको छ । ७ वर्षअघि पाण्डेका लागि बैंकले १ करोड ५७ लाख रुपैयाँ खर्च गरेको थियो भने गत आर्थिक वर्षमा ३ करोड ६३ लाख ४ हजार रुपैयाँ खर्च गरेको छ ।

सेञ्चुरी बैंकले यसबीचमा सीइओलाई भुक्तानी गर्ने खर्च ९०.८१ प्रतिशतले बढाएको छ । बैंकले तत्कालनी सीइओ गणेशकुमार श्रेष्ठलाई ८१ लाख रुपैयाँ खर्च गरेको थियो भने बैंकले गत आवमा बैंकका सीइओ तुलसीराम गौतमलाई १ करोड ५४ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

सिद्धार्थ बैंकले यस अवधिमा सीइओका लागि हुने खर्च ८४.७३ प्रतिशतले बढाएको छ । तत्कालीन सीइओ सुरेन्द्र भण्डारीका लागि ८४ लाख रुपैयाँ खर्च गरेको बैंकले गत आर्थिक वर्ष सीइओ शम्भुनाथ गौतमका लागि १ करोड ५५ लाख १७ हजार ५३७ रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी सानिमा बैंकले यस अवधिमा सीइओका लागि ७२.९६ प्रतिशतले खर्च बढाएको छ । आर्थिक वर्ष २०७०÷७१ मा सीइओ भुवन दाहालका लागि ८४ लाख ५० हजार रुपैयाँ खर्च गरेको सानिमाले गत गत आर्थिक वर्षमा उनै दाहालका लागि १ करोड ४६ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ ।

सिटिजन्स बैंकले ७ वर्षको अवधिमा सीइओका लागि हुने खर्च ६९.१० प्रतिशतले बढाएको छ । तत्कालीन समयमा सीइओ राजनसिंह भण्डारीका लागि ७८ लाख रुपैयाँ खर्च गरेको बैंकले गत आवमा सीइओ गणेशराज पोखरेलका लागि १ करोड ३१ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ ।

क्षमता हुनेहरुलाई नेपालमै पनि मासिक २५/३० लाख रुपैया तलबभत्ता तथा सेवा सुविधा लिनसक्ने अवसर छ भन्ने एउटा गतिलो उदाहारण पनि हो यो ।

प्राइम बैंकले यस अवधिमा सीइओका लागि हुने खर्च ५९.६५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले तत्कालीन समयदेखि हालसम्म सीइओका रुपमा कार्यरत नारायणदास मानन्धरका लागि हुने खर्च १ करोड १६ लाख रुपैयाँबाट बढाएर गत आवसम्म १ करोड ८५ लाख १९ हजार रुपैयाँ पुर्याएको छ ।

नबिल बैंकले यस अवधिमा सीइओका लागि हुने खर्च ५३.१५ प्रतिशतले वृद्धि गराएको छ । तत्कालीन समयका सीइओ अनिल ज्ञवालीका लागि १ करोड ६ लाख रुपैयाँ खर्च गरेको बैंकले गत आवमा सीइओ अनिल केशरी शाहका लागि १ करोड ६२ लाख ३४ हजार ३०२ रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी यो ७ वर्षको अवधिमा एनआइसी एशियाले बैंकले सीइओका गर्ने खर्च ३१.८९ प्रतिशतले बढाएको छ । बैंकले तत्कालीन सीइओ सशिन जोशीका लागि १ करोड ९० लाख रुपैयाँ खर्च गरेको थियो भने गत आर्थिक वर्ष सीइओ रोशन न्यौपानेलाई २ करोड ५० लाख ५९ हजार १३० रुपैयाँ खर्च गरेको छ ।

ग्लोवल आइएमई बैंकले यस अवधिमा सीइओका लागि गर्ने खर्च ३१.१२ प्रतिशतले बढाएको छ । बैंकले तत्कालीन सीइओ रत्नराज बज्रचार्यलाई ९७ लाख ५० हजार रुपैयाँ खर्च गरेकोमा बैंकले गत आवमा बैंकका कामू सीइओ महेश ढकालका लागि १ करोड २६ लाख ८६ हजार ७०० रुपैयाँ खर्च गरेको छ । रत्नराज बज्राचार्य गत भदौ १ देखि फेरि ग्लोबलकै सीइओ छन् ।

७ वर्षको अवधिमा सीइओका लागि खर्च बढाउने बैंकको सूचिमा एनएमबि बैंक २०औं स्थानमा छ । तत्कालीन समयका सीइओ उपेन्द्र पौडेलका लागि १ करोड ४१ लाख रुपैयाँ खर्च गरेको बैंकले गत आवमा सीइओ सुनिल केसीका लागि १ करोड ७५ लाख २८ हजार ३०५ रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी एभरेष्ट बैंकले ७ वर्ष अघि अर्थात् आर्थिक वर्ष २०७०/७१ मा सीइओलाई ७३ लाख रुपैयाँ खर्च गरेको थियो । तर बैंकले गत आवको वित्तीय विवरणमा सीइओका लागि गरेको खर्च प्रष्टरुपमा उल्लेख गरेको छैन । बैंकले सीइओसहित उच्च व्यवस्थापनका ६ जना पदाधिकारीलाई ४ करोडभन्दा बढी भुक्तानी गरेको विवरण मात्रै वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यसैगरी तीन वटा सरकारी बैंकका सीइओहरुको तलब पनि वृद्धि भएको छ । कृषि विकास बैंकले सीइओ अनिलकुमार उपाध्यायका लागि गत आवमा ३९ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ भने नेपाल बैंकले सीइओ कृष्ण अधिकारीका लागि ४६ लाख ९६ हजार ३०६ रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरणकुमार श्रेष्ठका लागि गत वर्ष ४० लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

३ बैंकले घटाए सीइओका लागि गर्ने खर्च

७ वर्षको अवधिमा ३ वटा बैंकले भने सीइओका लागि गर्ने खर्च घटाएका छन् । लक्ष्मी बैंकले १८.३९ प्रतिशतले घटाएको छ । बैंकले तत्कालीन सीइओ सुमन जोशीका लागि १ करोड ३० लाख रुपैयाँ खर्च गरेको बैंकले गत आवमा सीइओ अजयबिक्रम शाहका लागि १ करोड ९ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी सिभिल बैंकले ७ वर्ष अघिको तुलनामा सीइओको खर्च ७.१४ प्रतिशतले घटाएको छ । बैंकले तत्कालीन सीइओ किशोर महर्जनका लागि १ करोड ५६ लाख रुपैयाँ खर्च गरेकोमा गत आवमा सीइओ गोविन्द गुरुङलाई १ करोड ४५ लाख ५९ हजार ५९५ रुपैयाँ खर्च गरेकोछ ।

मेगा बैंकले ७ वर्ष अघिको तुलनामा गत आवमा सीइओ खर्च २.७४ प्रतिशतले घटाएको छ । बैंकले तत्कालीन सीइओ अनिल केशरी शाहलाई १ करोड ७५ लाख रुपैयाँ खर्च गरेकोमा गत आवमा सीइओ अनुपमा खुञ्जेलीलाई १ करोड ७० लाख ३२ हजार ४३४ रुपैयाँ भुक्तानी गरेको छ ।

हामीले सीइओहरुका लागि बैंकहरुले गरेको खर्चको विवरण सम्बन्धीत बैंकहरुले नै प्रकाशित गरेको वार्षिव विवरणबाट लिएका हौं ।

राष्ट्र बैंकको नियन्त्रण प्रयास, के गर्लान् महाप्रसादले ?

संसारभर नै सीइओहरुको तलबभत्ताको विषयमा आलोचनाहरु हुने गरेको पाइन्छ । तर, उनीहरुले के कति जोखिम मोलेका छन् ? आलोचकहरुले त्यसतर्फ ध्यान दिएको भने पाइँदैन ।

त्यसैलाई सिको गर्दै तत्कालीन गभर्नर डा. युवराज खतिवडाको सक्रियतामा राष्ट्र बैंकले २०६८ सालमा सीइओको तलब/भत्ताको सीमा तोकेको थियो ।

राष्ट्र बैंकले बैंकहरुको ३ वर्षको औषत कर्मचारी खर्चको बढीमा ५ प्रतिशत र संस्थाको गत वर्षको कूल सम्पत्तिको बढीमा ०.०२५ प्रतिशत मात्रै सीइओको तलब/भत्तामा खर्च गर्न पाइने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकको यो व्यवस्थाको सबत्र्र आलोचना भएपछि संशोधन गरेर खाईपाई आएको तलब/भत्तालाई भने उक्त व्यवस्था आकषिर्त नहुने बनाइएको थियो । यद्यपि यो व्यवस्था खुला बजार अर्थतन्त्रको विरुद्धमा भएको भन्दै सीइओहरुले हटाउनका लागि तीब्र लबिङ गरेका थिए । खुल्ला बजार अर्थतन्त्रमा विश्वास राख्ने गभर्नर डा. चिरञ्जीबी नेपालले यो व्यवस्था खारेज त गरेनन् । तर, कार्यान्वयनमा पनि ल्याएनन् ।

युवराख खतिवडा लाई उक्त नीति ल्याउन सघाउनेअहिलेका गभर्नर महाप्रसाद अधिकारीले यो विषयमा फेरि नजल लगाउँछन् कि लगाउँदैनन् ? त्यो भने हेर्न बाँकी नै छ ।

क्षमता हुनेहरुलाई नेपालमै पनि मासिक २५/३० लाख रुपैया तलबभत्ता तथा सेवा सुविधा लिनसक्ने अवसर छ भन्ने एउटा गतिलो उदाहारण पनि हो यो ।


पुष्प दुलाल