मुलुकको विद्युत् प्रणाली धान्न भारतकै भर, १४ हजार ५८९ मेगावाट घण्टा आयात



काठमाडौं । नदीमा जलसतह घटेपछि बिजुली उत्पादन कम भएपछि नेपालका विद्युत् प्रणाली भारतको भरमा सिमित भएको छ ।

देशभित्र सञ्चालनमा रहेका नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका आयोजनाबाट उत्पादित भएको बिजुली भन्दा भारतबाट आयात भएको बिजुलीको मात्रा बढी हुन पुगेको छ ।

सुक्खा मौसमका कारण नदीमा अत्याधिक मात्रामा जलसतह कम भएको छ । सोही कारण प्राधिकरण र निजी क्षेत्रका अधिकाशं आयोजनाले ५० प्रतिशत भन्दा कम बिजुली उत्पादन गरेका छन् ।

प्राधिकरणका केही आयोजनालाई बिजुली बढी माग हुने साँझको समयमा मात्रै चलाइएको छ । यस्तै, एक मात्र जलाशययुक्त आयोजना कुलेखानी आयोजनाका तीन वटा प्लान्ट समेत साँझको समयमा मात्रै चलाइएको छ । यति हुँदा पनि प्राधिकरणको प्रणालीमा नेपालको भन्दा भारतको बिजुलीको हिस्सा बढी रहेको छ ।

यो समाचार तयार पार्दै गर्दा प्राधिकरणको वेवसाइटबाट लिइएको विवरण अनुसार प्राधिकरणका आयोजनाबाट कूल ४ हजार ८४४ मेगावाट घण्टा बिजुली उपलब्ध भएको छ । यस्तै, निजी क्षेत्रका आयोजनाबाट ४ हजार ८१७ मेगावाट घण्टा मात्रै बिजुली उपलब्ध छ । यो प्राधिकरणका आयोजानको तुलनामा मात्रै २७ मेगावाट घण्टा कम हो ।

प्राधिकरण र निजी क्षेत्रका आयोजनाबाट समान बिजुली प्रवाह भइरहेको छ । देशभित्रको कूल उत्पादन मात्रै ९ हजार ६६१ मेगावाट घण्टा मात्रै रहेको छ । भारतबाट कूल १४ हजार ५८९ मेगावाट घण्टा बिजुली प्रवाह भइरहेको छ । यो भनेको देशभित्रको कूल उत्पादन भन्दा झण्डै ४ हजार ९२८ मेगावाट घण्टा बढी हो । सबैभन्दा बढी ढल्केबर– मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइन मार्फत आयात भइरहेको छ ।

प्राधिकरणको विवरण अनुसार देशभित्र यतिबेला २४ हजार २५० मेगावाट घण्टा बिजुली माग छ । मेगावाटमा हिसाब गर्दा १ हजार ३१९ मेगावाट कूल माग रहेको छ ।

देशभित्र झण्डै १७५ मेगावाट बिजुली प्रसारण लाइन नपाएर खेर गइरहेको छ । प्रसारण लाइन निर्माणमा कुनै ध्यान दिइएको छैन ।

तर, भारतबाट आयात गरिएको बिजुलीको भरमा मुलुकको प्रणााली धान्ने प्रयास गरिएको छ । यसले आगामी दिनमा प्राधिकरणको आर्थिक स्वास्थ्यमा समेत नकारात्मक असर पार्न सक्ने अनुमान गर्न सकिन्छ ।


पुष्प दुलाल