किसानसँग धान किन्न नसकेको सरकारी कम्पनीले व्यापारीबाट ५ हजार मेट्रिक टन धान किन्दै



काठमाडौं । चालु आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका किसानबाट ६० हजार मेट्रिक टन धान गरिद गर्ने लक्ष्य राखेको थियो । हरेक वर्ष देशभर उत्पादन भएका धान कम्पनीले किसानबाट खरिद गर्दै आएकोमा यो वर्ष पनि सोही अनुसार धान गरिद गर्ने लक्ष्य राखिएको थियो ।

सरकारले देशभरको किसानबाट उत्पादन गरेको धानको लागत मूल्य पाउँन भनेर न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ । सोहीअनुसार चालु आवको धान खरिद गर्नका लागि १ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, सरकारले लक्ष्य बमोजिम धान गर्न खरिद गर्न नसक्ने भएको छ ।हालसम्ममा ६० हजार

मेट्रिक टनमा २४ हजार २ सय ७९ मेट्रिक टन मात्रै खरिद गर्न सफल भएको छ । कम्पनीले मोटा, माध्यम खालको र व्यापारिक प्रयोजनका लागि आवश्यक धान बासमती, जिरा मसिनो र सोना मन्सुलीलगायत अन्य धान खरिद गरी बिक्री गर्दै आएको थियो । तर, यो वर्ष मोटा र मध्यम खालको चामलको मात्रै समर्थन मूल्यमा खरिद गरी बिक्री गरिरहेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन ।

सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८८५ रुपैयाँ तोकेको थियो । सोही अनुसार कम्पनीले खरिद गरेर बिक्री गरेको उनले बताइन् । तर, व्यापारिक प्रयोजनका लागि भने महंगो भएको भन्दै धान किन्न नसक्ने कम्पनीले निष्कर्ष निकालेको छ ।

कम्पनीले कार्यक्रम बनाउँदा विभिन्न प्रकारका मोटा, मध्यम, जिरा मसिनोलगायत हरेक धान खरिदको कार्यक्रम बनाएको थियो । जसमा मोटा र मध्यम क्षेत्रको लागि बढी मोटा र मध्यम धान रुचाउने भएकाले अनुदानित क्षेत्रहरुमा उक्त धान खरिद गरी बिक्री गर्ने भनिएको थियो ।

साथै, सहरी क्षेत्रमा बासमती, जिरा मसिनो र नयाँ प्रजातीका चामलहरु रुचाउने भएकाले सोही अनुसार कार्यक्रम बनेको थियो । जसमा सरकारले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको थियो । तर, व्यापारिक प्रयोजनका लागि धानको समर्थन मूल्यमा किसानले नदिने भएपछि उक्त धान भने खरिद नगर्ने भएको सुवेदी बताउँछिन् ।

‘कम्पनीको उद्देश्य सहुलियत मूल्यमा धान प्रदान गर्नुका साथै व्यापारीकरण गर्नु पनि हो । खासगरी सहरी क्षेत्रमा उपयोग हुने बासमती, जिरा मसिनो, सोना मन्सुलीलगायत चामल भने खासै आउन सकेको छैन,’ उनले भनिन्, ‘आएता पनि थोरै परिणाममा आउनुका साथै आउने क्रम पनि विस्तारै घटेको छ ।’

कम्पनीका सूचना अधिकारी सुवेदीले चालु आवको लक्ष्यअनुसार धान खरिद नहुने बताइन् । हालसम्म २४ हजार मेट्रिक टन खरिद गरिससकेको छ भने आगामी दिनसम्ममा ३० हजार मेट्रिक टनसम्म खरिद गर्न नसक्ने उनको अनुमान छ ।

सरकारले यो वर्षको नीति तथा कार्यक्रमा धान खरिदको मौज्दात बढाउने भनिएको थियो । त्यही अनुसार कार्यक्रम भएको हो । तर, ६० हजार मेट्रिक टन नै खरिद गरेर मौज्दातमा राख्न सक्ने अवस्था नरहेकाले किन्न नसक्ने निष्कर्षमा पुगेको बताइन् ।

जसमा ३० हजार मेट्रिक टन किन्न नसक्नेमा कम्पनी पुगेको छ ।

‘महँगोमा खरिद भएको धानबाट चामल बनाई बिक्री गर्दा नोक्सानी व्यवहोर्नुपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘त्यसैले पनि लक्षित परिमाणमा धान किन्न नसकिएको हो ।’

कम्पनीले सबै प्रकारको धान खरिद गर्न सक्षम भएता पनि मोटा र मध्यम खालको धान किसानबाट पर्याप्त मात्रामा उपलब्ध भएको बताइन् । हालसम्म पनि केही परिणाममा यी धानहरू आइरहेको र अन्य प्रकारका धान पनि थोरै परिणाममा खरिद भइरहेको उनको भनाइ छ ।

साथै, मोटा र मध्यम खालको धान अत्यधिक खरिद गरेर बिक्री गर्न पनि चुनौती रहेको उनले उल्लेख गरिन् ।

‘मोटा र मध्यम धान अनुदानमा दिनेजस्ता प्रयोजनका लागि भएकाले मोटा र मध्यम धानको माग पनि कम आएकाले आवश्यकता अनुसारको खरिद गरेको हो,’ उनले भनिन् ।

५ हजार मेट्रिटक टन चामल किन्दै कम्पनी
व्यापारीक प्रयोजनका लागि आवश्यक धान खरिद गर्न नसकेको अवस्थामा कम्पनीले ५ हजार मेट्रिक टन चामल खरिद गर्ने तयारी गरेको छ । कम्पनीले चामल खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ ।

जसमा कम्पनीले किसानसँग धान किन्नुको साटो व्यापारीबाट चामल किन्न टेन्डर आह्वान गरेको छ । धान खरिदमा महंगो भएको भन्दै किन्न पछि हटेको कम्पनीले सोही धानको चामल भने व्यापारीबाट किन्ने भएका छन् ।

‘चालु आवमा १५ हजार मेट्रिक टन चामल किन्ने तयारी गरेको थियो । तर, अहिले बजार अवस्थालाई हेरेर कम्पनीले ५ हजार मात्र ल्याउने भएको छ,’ उनले भनिन् । कम्पनीले १५ हजार मेट्रिक टन चामल खरिदका लागि गत वर्षको १० मेट्रिक टनको बाँकी रकमसहित चालु आवमा जोडेर १ अर्ब २६ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

तर, चालु आवमा पनि लक्ष्य अनुसार चामल किन्न नसक्ने उनको भनाइ छ । हाल बजारको आवश्यकता अनुसार ५ हजार मेट्रिक टन चामल ल्याउनका लागि टेन्डर आह्वान गरेको छ । आगामी दिनमा पनि उक्त चामलको माग आएमा कम्पनीले आवश्यकता अनुसार खरिद गर्ने बताइन् ।

यी हुन टेन्डर आह्वान गरेको कार्यालय
खाद्य कम्पनीले देशभर रहेका ९ वटा कार्यालयका लागि करिब ५ हजार मेट्रिक टन (४९ हजार ७ सय क्विन्टल) चामल खरिदका लागि टेन्डर गरेको छ । कम्पनीको बिर्तामोड कार्यालयमा ५ हजार क्विन्टल, विराटनगरमा ४ हजार क्विन्टल, लाहानमा १० हजार क्विन्टल र वीरगन्जमा ८ हजार क्विन्टल खरिद गर्न लागिएको छ ।

त्यस्तै, काठमाडौंका लागि २ हजार ५ सय क्विन्टल, भैरहवाका लागि ५ हजार क्विन्टल, नेपालगन्जका लागि ७ हजार क्विन्टल, धनगढीका लागि २ हजार र सुर्खेतका लागि ६ हजार २ सय क्विन्टल चामल खरिद गर्न टेन्डर आह्वान गरिएको छ ।


क्लिकमान्डु