वैकल्पिक ऊर्जाः नेपालमा ओलीका गफैगफ, भारतमा मोदीका कामैकाम



काठमाडौं । पहिलोपटक प्रधानमन्त्री हुँदा खेरी केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने उद्घोष गरे । पाइपलाइनबाट ग्याँस त भरे भोलिनै जोड्छु जस्तो पनि गरिदिए ।

दोस्रो पटक प्रधानमन्त्री बनेको ३ वर्ष वित्दा पनि ओलीले काममा भने माखो मारेका छैनन् । गफले बिजुली निस्कने भए यतिबेला ओलीका भाषणबाट मात्रै हजारौं मेगावाट बिजुली उत्पादन भइसकेको हुनेथियो ।

तर छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने काम गरेर आफूलाई प्रमाणित गरेका छन् ।

नेपालका वैकल्पिक ऊर्जा, ऊर्जा मिश्रणको बारेमा सरकारी नीति नियम पनि बनेको छ । तर परिणाममा भने कुनै ठोस र खास परिवर्तन भने देख्न सकिएको छैन ।

नेपालको तयारीका कुरालाई मात्रै पत्याउने हो भने यतिबेला झण्डै १ हजार मेगावाट बराबरको विद्युत् सौर्य प्रणालीबाट उत्पादन हुनुपर्ने थियो ।

विद्युत् विकास विभागको तथ्यांक हेर्ने हो भने झण्डै १७ वटा आयोजनाले निर्माण अनुमतिपत्र लिएका छन् । ती आयोजनाको क्षमता ११०.४७ मेगावाट रहेको छ । ती आयोजना कहिले सम्पन्न हुन्छन् भन्ने बारेमा केही भनिहाल्ने अवस्था भने छैन ।

त्यस्तै सर्वेक्षणको अनुमति लिएका ३ आयोजनाले पनि कहिले काम सम्पन्न गरेर निर्माण शुरु गर्छन् भन्ने बारेमा केही भनिहाल्ने अवस्था छैन । ती आयोजनाको क्षमता १२० मेगावाट रहेको छ ।

त्यस्तै सर्वेक्षण अनुमति लिएका ३४ वटा आयोजनाले पनि कहिले निर्माण शुरु गर्ने हुन् भन्ने बारेमा पनि केही भन्न सकिने अवस्था छैन ।

किन भन्दा ती आयोजनाका प्रबद्र्धकले कहिले आवश्यक अध्ययन गर्ने र कहिले निर्माण शुरु गर्ने भन्ने बारेमा केही भन्न सकिने अवस्था नरहेको सरकारी अधिकारी नै स्वीकार गर्छन् । ती आयोजनाको कूल क्षमता ४९५ मेगावाट रहेको छ ।

सामान्यतयाः नेपालका कामभन्दा बढी हल्ला नै हुने गरेको छ । राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन एकले अर्कोलाई निर्देशन दिनेभन्दा अरु केही काम नगर्ने अवस्थामा छन् । जसका कारण नेपालका वैकल्पिक ऊर्जाको क्षेत्र केवल गफ मात्रै गर्ने विषय बनेको छ ।

व्यवसायीकरुपमा सौर्य ऊर्जाको क्षेत्रमा बल्ल बल्ल काम शुरु भएको छ । २०७० सालतिर अत्यधिक लोडसेडिङ भएको बेला सौर्य ऊर्जाको विषयले प्रखर रुपमा स्थान पाएको थियो । तर, पछिल्ला ७ वर्षमा काम भने हुन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा शुरु गरेको २५ मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली समेत निर्माण सम्पन्न हुन सकेको छैन । नेपालमा ऊर्जा मिश्रणको विषयले खास अर्थमा प्राथमिकता नपाएको अवस्थामा भारतमा भने त्यसमा ठूलो परिवर्तन भएको छ ।

उता छिमेकी मुलुक भारतको राजस्थानलाई वैकिल्पक ऊर्जाको नेता अर्थात् लिडरको रुपमै लिन थालिएको छ । पछिल्लो विवरणअनुसार राजस्थानमा मात्रै ९.६ गिगावाट ऊर्जा वैकल्पिक ऊर्जाका माध्यमबाट उत्पादन भएको छ ।

सन् २०२१ को पछिल्लो विवरण प्राप्त नभएपनि सन् २०२० को अन्त्यसम्म आइपुग्दा राजस्थानमा सौर्य प्रणालीबाट मात्रै थप १.७ गिगावाट ऊर्जा थप भएको छ । यस्तै कर्नाटकमा १.४ गिगावाट र तालिमनाडूमा मात्रै १.३ गिगावाट ऊर्जा थप भएको छ ।

राजस्थानको ग्रीडमा मात्रै २२.६ गिगावाट ऊर्जा वैकल्पिक ऊर्जाका माध्यमबाट थप भएको छ । यस्तै १८ गिगावाट बराबरको नयाँ सौर्य प्रणालीमा थप गर्ने योजनाअनुसार काम भइरहेको छ । सन् २०३० सम्म ४ गिगावाट बराबरको वायु ऊर्जा समेत प्रणालीमा थप हुने देखिन्छ ।

नेपालमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्न महाभारत नै भइरहेको बेला भारतमा भने सन् २०२० को जुलाइमा मात्रै ७५० मेगावाट क्षमताको सौर्य प्रणाली जडान भयो ।

भारत सरकारको योजनाअनुसार सन् २०२० सम्म १७५ गिगावाट ऊर्जा वैकल्पिक ऊर्जाको स्रोतबाट थप गर्न लागिएको छ ।

मध्य प्रदेशको रेवा भन्ने स्थानमा कूल १ हजार ५०० हेक्टर क्षेत्रफलमा मात्रै ७५० मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ । सो परियोजनालाई रेवा अल्ट्रा मेगा सोलार परियोजना नाम दिइएको छ ।

मध्यप्रदेशको ऊर्जा विकास निगम र सेन्ट्रल पब्लिक सेक्टर यूनिट सोलार इनर्जी कर्पोरेशन अफ इण्डियाले संयुक्तरुपमा मिलेर काम गरेका हुन् ।

सो आयोजनाबाट उत्पादित बिजुली प्रतियूनिट २ रुपैयाँ ९७ पैसा भारुमा खरिद बिक्री सम्झौता गरिएको छ । त्यसमा ०.०५ प्रति यूनिटका दरले १५ वर्षसम्म स्कालेशन सुविधा समेत पाउनेछ ।

यस्तै भारतमा वायु ऊर्जालाई समेत प्रमुख प्राथमिकताका साथ अगाडि बढाइएको छ । भारतमा वायु ऊर्जाबाट मात्रै ६० गिवावाट ऊर्जा उतपादन गर्ने लक्ष्य राखिएको छ । यस्तै हालसम्म कूल ३७ गिगावाट ऊर्जा वायु ऊर्जा प्रणालीबाट उत्पादन भइसकेको छ ।

भारत सरकारको विवरणअनुसार तालिमनाडुमा मात्रै ९ हजार ३०४ मेगावाट बिजुली वायु ऊर्जा प्रणालीबाट उत्पादन गरिएको छ ।

यस्तै आन्ध्रप्रदेशमा ४ हजार ९२ मेगावाट, कर्णाटकका ४ हजार ७९० मेगावाट कूल जडित क्षमता पुगेको छ । यस्तै महाराष्ट्रमा ५ हजार मेगावाट, गुजरातमा ७ हजार ५४१ मेगावाट कूल जडित क्षमता पुगेको छ । राजस्थानमा मात्रै ४ हजार २९९ मेगावाट बिजुली वायु ऊर्जा प्रणालीबाट उतपादन भएको छ ।

भारत सरकारको आधिकारिक विवरण अनुसार गुजरातमा नेपालको कूल जडित क्षमता बराबरकै हाराहारीमा वायु ऊर्जा उतपादन हुने सम्भाव्यता रहेको छ । सो राज्यमा कूल ८४ हजार ४३१ मेगावाट बिजुली वायु प्रणालीबाट उत्पादन हुनसक्छ ।

राजस्थानमा १८ हजार ७७०, महाराष्ट्रमा ४५ हजार ३९४ मेगावाट , तामिलनाडुमा ३३ हजार ७९९ मेगावाट, मध्यप्रदेश १० हजार ४८३ मेगावाट, कर्णाटकमा ५५ हजार ८५७, आन्ध्र प्रदेशमा ४४ हजार २२८, केरलामा १ हजार ६९९, तेलंगनामा ४ हजार २४४ मेगावाट रहेको छ ।

उडिसामा ३ हजार ९३, पश्चिम बंगालमा २ मेगावाट, छत्तिसगढमा ७६.५९ मेगावाट, पुडेचरीमा १५२ मेगावाट, लक्ष्यद्विपमा ७ मेगावाट गरी कूल ३ लाख २ हजार २५१ मेगावाट बिजुली वायु ऊर्जा प्रणालीबाट उत्पादन हुने देखिएको छ । यी सबैगर्दा वायु प्रणालीबाट मात्रै ३०२ गिगावाट ऊर्जा उत्पादन हुने देखिन्छ ।

नेपालमा झण्डै ३ देखि ५ हजार मेगावाट बराबरको वायु ऊर्जा उत्पादन हुने प्रारम्भिक अध्ययनबाट देखिए पनि त्यसमा ठोस प्रगति भएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा वायु ऊर्जा प्रणालीको बारेमा हरेक दिन जसो भाषण दिएका थिए ।

तर, सरकारी निकायकै तथ्यांक पत्याउने हो भने नेपालमा वायु ऊर्जाको क्षेत्रमा कुनै पनि काम भएको छैन । केवल भाषण मात्रै भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागको तथ्यांकलाई पत्याउने हो भने नेपालमा वायु ऊर्जाको बारेमा हालसम्म कुनै पनि काम भएको छैन । किनकी भाषणले काम हुँदेन । कामका लागि अधययन हुनुपर्छ ।


पुष्प दुलाल