माटोको डिजिटल नक्शा सार्वजनिक, घरमै बसेर माटोको परिक्षण गर्न सकिने



काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्रालयको समन्वयमा कृषि अनुसन्धान परिषद्ले माटोको डिजिटल नक्शा सार्वजनिक गरेको छ ।

उक्त डिजिटल नक्शा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कृषि मन्त्रालयले आयाजना गरेको कार्यक्रममा सार्वजनिक गरे ।

माटोको उर्वराशक्ति अम्लीयपन, प्राङगारिक पदार्थको मात्रा, बनोट आदि जस्ता विभिन्न गुण कृषकलाई सहजै जानकारी दिने उद्देश्यले नेपालमा डिजिटल नक्शा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

साथै, उक्त नक्शांकनको आधारमा कृषकले आफ्नो जग्गामा मलको मात्रा के कति मात्रामा प्रयोग गर्ने, कस्तो बाली लगाउने र माटोको कसरी सुधार गर्नेलगायतका विषयमा निर्णय लिन सक्ने मन्त्रालयको भनाइ छ ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस किसिमको माटोको डिजिटल नक्शा तयार गर्ने दक्षिण एसियामै नेपाल पहिलो भएको बताए । उनले डिजिटल म्यापिङकोे शुरुवातीसँगै नेपाल एउटा नयाँ युगमा प्रवेश गरेको दावी गरे ।

‘डिजिटल माटोको नक्साले कुन ठाउँमा कस्तो उत्पादन गर्ने र उर्वराशक्ति कस्तो अवस्थामा रहेको छ भन्ने थाहा पाउन सकिन्छ ’ उनले भने । उक्त नक्शाबाट घरमै बसेर पनि माटोको अवस्था थाहा पाउन सकिन्छ ।

‘आफ्नो जमिनको माटोको बारेमा आफैलाई थाहा नभएको अवस्थामा टेलिफोनबाट यससँग सम्बन्धित विज्ञसँग सम्पर्क गरेर पनि जानकारी लिन सक्नेछन्’ ओलीले भने । यस्तै, सर्च इन्जिन गुगलको सहयोगमा पनि यस प्रविधिको सदुपयोग गर्न सकिने प्रधानमन्त्री ओलीले बताए ।

हाल नेपालमा ६५ प्रतिशत जनसंख्या कृषिमा आबद्ध भएता पनि कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत मात्रै योगदान रहेको भन्दै कृषिमा आधुनीकिकरणको प्रयोगबाट योगदानमा वृद्धि गर्नुपर्ने ओलीको भनाइ छ ।

जनशक्ति कृषिबाट पलायन भएता पनि कुनै चिन्ता नलिनुपर्ने भन्दै आधुनिकरणमा ध्यान दिई अगाडि बढ्नुपर्ने बताए ।

कृषि मन्त्री पद्माकुमारी अर्यालले सार्क मुलुकमै पहिलो पटक यस्तो प्रविधि भित्र्याउन सफल भएको भन्दै यसको विकासले कृषिमा फड्को मार्न सक्ने बताइन् ।

उनका अनुसार सरकारले भित्र्याएको प्रविधिलाई कसरी सदुपयोग र विकास गर्न सकिन्छ भन्ने नै मुख्य चुनौतीको विषय बनेको उनको भनाइ छ ।

मन्त्री अर्यालले आगामी दिनमा कृषिलाई मुख्य पेशाको रुपमा विकास गर्न फर्म सञ्चालन गर्दै सामूहिक कृषिमा प्रोत्साहन गर्नुपर्ने उल्लेख गरिन् ।

माटोको डिजिटल नक्शाको यस्तो छ विशेषता ?

सरकारले करिब ४ वर्ष पहिले शुरु गरी हाल सार्वजनिक गरेको डिजिटल माटोको नक्शामा धेरै विशेषता छन् ।

उक्त नक्शांकन तयार गर्नको निम्ति देशभरीबाट २३ हजार २ सय ७३ वटा माटोको नमुनाको परीक्षण नतिजा विश्लेषण गरी नेपालको लागि उपयुक्त हुने प्रविधि अपनाई नक्शा तयार गरिएको नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ ।

यो नक्शामार्फत कृषक तथा आम सरोकारवालाले आफूलाई आवश्यक पर्ने स्थानको माटोको अवस्था र गुणबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।

नक्शाले नीति निर्माणकर्ता, अनुसन्धानकर्मी, कृषि प्रसारमा संलग्न प्रविधि, शिक्षक, प्रध्यापक, विद्यार्थी, कृषक, निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्तालाई माटोको अवस्था सम्बन्धि आधारभूत जानकारी दिनेछ ।

त्यसैगरी माटोको स्वास्थ्यमा के कस्ता सुधार गरी बालीको उत्पादन र उत्पादकत्व बढाउन आवश्यक कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्नेछ ।

त्यति मात्रै नभई नेपालको कुन ठाउँमा कस्तो किसिमको मलको आपूर्ति गर्ने, माटो सुधार कार्यक्रम के कसरी तर्जुमा गर्ने र माटोको उर्वरापन, अम्लीयपन, प्राङ्गारिक पदार्थको सुक्ष्मतत्वको सन्तुलन कसरी गर्ने जस्ता निर्णय लिन सहयोग पुग्छ ।

उक्त डिजिटल नक्शा हेर्नका लागि एउटा अलग्गै वेब–पोर्टल बनाइएको परिषद्को भनाइ छ । पोर्टलबाट आफूले चाहेको प्रदेश, जिल्ला र पालिकाको वडा र घरधुरीसम्म जान सकिन्छ । त्यहाँको माटोको अवस्था थाहा पाउन सकिन्छ । यसको मुख्य विशेषता भनेको आफ्नो रुचि र आवश्यकताको आधारमा एक क्लिकका भरमा आफूले चाहेको कुनै निश्चित बिन्दुमा रहेको माटोमा रहेको गुणको बारेमा जानकारी पाउनु रहेको छ ।

के हो माटाको डिजिटल नक्शा ?

माटोमा रहेको विभिन्न वा गुणहरु देखाउनका लागि कम्प्युटर प्रविधिको प्रयोग गरी तयार गरिएको नक्शा नै माटाको डिजिटल नक्शा हो ।

माटोमा रहेका तत्व र तिनलाई वातावरणीय कारणबाट पर्ने प्रभावसमेतलाई गणितिय तथा तथ्याङ्कीय मोडेलको माध्यमबाट प्रयोगशालामा विश्लेषण गरिएको माटोको नतिजाको आधारमा तयार गरिने यस्तो नक्शाले माटो सम्बन्धि विभिन्न सूचना राख्दछ ।

यो नक्सा तयार गर्ने क्रममा स्याटेलाइट इमेजका आधारमा माटोको गुणहरु निर्धारणमा भूमिका खेल्ने वातावरणीय कारक तत्वहरु मध्ये १६८ वटा तत्वलाई मध्यनजर गरिएको परिषद्ले जनाएको छ ।

एप्लिकेसन ल्याउने तयारीमा मन्त्रालय

नक्शाको प्रयोजन बढाउन प्रयोग गर्न सहज हुने खालका विभिन्न मोबाइल एप्लिकेसन्स तयार गरिने मन्त्री अर्याले बताइन् ।

उनका अनुसार यस्ता काममा सरकारी तथा निजी क्षेत्र सकैको संलग्नता रहने छ । उक्त एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरमेसन ) का माध्यमबाट तयार पारिने ती अन्तरक्रियात्मक एपबाट मलको आवश्यक मात्रा कसरी निकाल्ने, उपयुक्त बाली बिरुवा के लगाउन सकिन्छ तथा खेतीबाली लगाउनको लागि के कस्ता सल्लाह आवश्यक पर्छ भन्नेजस्ता जानकारी लिई आफैं निर्णय गर्न किसानलाई मद्दत पुग्ने परिषद्ले जनाएको छ ।


क्लिकमान्डु