बहिरालाई सेयर बजारमा ल्याउन अग्रसर बन्यो प्रभु क्यापिटल, निःशुल्क डिम्याट खाता खोलिदिने



काठमाडौं । शनिबार विहान साढे १० बजे । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सानो हलमा २ सयभन्दा बढी राष्ट्रिय बहिरा महासंघका सदस्य जम्मा भएका थिए । सबै उत्साहित थिए । झट्ट हेर्दा लाग्थ्यो यहाँ बहिराहरुको सम्मेलन भइरहेको छ ।

तर, विषय फरक थियो । उनीहरुलाई राष्ट्रिय बहिरा महासंघको सहकार्यमा प्रभु क्यापिटलले भेला गरेको थियो । जसको उद्देश्य थियो, सेयर सम्बन्धि आधारभूत तालिम ।

पछिल्लो समय सेयर कारोबारमा मानिसहरुको आकर्षण बढेसँगै बहिराहरुलाई पनि आधारभूत तालिम दिनका लागि प्रभु क्यापिटलले महासंघको सहकार्यमा तालिमको आयोजना गरेको थियो ।

सेयर सम्बन्धि आधारभूत तालिमका प्रशिक्षक थिए कम्पनीका सीओओ कृष्ण गिरी । गिरीको बोलीलाई सांकेतिक भाषामार्फत् दोभाषेले उनीहरु समक्ष जानकारी सम्प्रेषण गरिरहेका थिए । सुन्न सक्नेले गिरीको आवाज सुन्थे भने सुन्न नसक्ने तर हेर्न सक्नेले दोभाषेको सांकेतिक भाषाबाट जानकारी लिइरहेका थिए ।

उनीहरु मध्ये धेरैले पढ्न र लेख्न सक्ने खालका थिए । दोभाषेबाट लिइरहेको जानकारी कापीमा टिपोट पनि गरिरहेका थिए । यसरी सेयर बजारको बारेमा जानकारी लिन पाउँदा उनीहरु निकै उत्साहित देखिन्थे । कार्यक्रममा सहभागी बहिराहरु प्रफुल्लित देखिन्थे । आपसमा सांकेतिक भाषको प्रयोग गरेर खुसी साटिरहेका थिए ।

गिरिले बोलेका शब्दहरु उनीहरुको कानले नसुने पनि मनले भने प्रष्टरुपमा सुनिरहेको र बुझिरहेको आभाष मिल्थ्यो । लाग्छ अब उनीहरुको एउटा ठूलो आम्दानीको स्रोत बन्ने छ पुँजी बजार ।

पछिल्लो समय सेयर बजारमा नेपालीहरुको आकर्षण बढ्दो छ । पछिल्लो एक वर्षमा नेपाल पुनर्बीमा कम्पनी तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्कासन गरेका ठूलो भनिएका आइपीओले सेयर बजारमा धेरैलाई आकर्षित गरेको छ ।

चियापसलदेखि सामाजिक सञ्जालसम्म सेयर बजारका बारेमा चर्चा भएको हामीले देखिरहेकै छौं । सानो लगानीबाट पनि कारोबार शुरु गर्न सकिने भएकाले बचतमा रहेको रकमको सानो हिस्सा सेयर बजारमा लगानी गर्नेहरु कैयन छन् । र, धेरैले सेयर बजारलाई आम्दानीको मूख्य स्रोत पनि बनाएका छन् भने कतिपयले बैकल्पिक स्रोत ।

बहिराहरुको आर्थिक जिवनस्तर सुधार गर्ने उदेश्यले प्रभु क्यापिटलले उनीहरुलाई पनि पुँजी बजारमा प्रवेश गराउनका लागि आधारभूत तालिम प्रदान गरिएको कम्पनीका प्रवन्ध निर्देशक दिनेश थकालीले जानकारी दिए ।

‘बहिरा र अपांगता भएका सर्वसाधारणको जनसंख्या निकै ठूलो छ, उनीहरुलाई तालिम दिएर चेतनशील बनाउन सकियो भने पुँजी बजार अर्थोपार्जनको राम्रो माध्यम बन्नेछ भन्ने हामीले विश्वास लिएका छौं,’ थकालीले प्रष्ट पारे ।

सेयर बजारमा देखिएको यही आकर्षणलाई ध्यानमा राखेर ‘प्रभु क्यापिटल’ले शनिबार २ सयभन्दा बढी अपांगहरुलाई आधारभूत सेयर तालिम प्रदान गरेको हो । क्यापिटलले राष्ट्रिय बहिरा महासंघको सहकार्यमा शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आधारभूत तालिम दिएको हो ।

‘सेयर लगानीमार्फत् आम्दानी गर्न सकुन भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो, कम्पनीको डिजिटल फाइनान्सिङ सर्भिसेज अन्तर्गतको वित्तीय साक्षरताका लागि समेत कार्यक्रम आयोजना गरिएको हो,’ सीओओ गिरीले भने ।

उनका अनुसार प्रभु क्यापिटलले सबै अपांग नागरिकहरुलाई निःशुल्क डिम्याट खाता समेत खोल्ने योजना ल्याएको छ । उनीहरुले प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा जीवनभरी नवीकरणका लागि समेत कुनै शुल्क लाग्दैन ।

तालिममा आइपीओ के हो ? कसरी भर्ने ? भर्नुभन्दा अगाडि के कुरामा ध्यान दिनेलगायतका विषयका साथै आइपीओपछि दोस्रो बजारमा गरिने कारोबार, कसरी गर्ने सेयर खरिद तथा बिक्री गर्नुअघि के कुरालाई आधार मान्ने लगायतका विषयमा गिरीले जानकारी दिएका थिए ।

आइपीओ भर्नु अघि डिम्याट कसरी खोल्ने, मेरो सेयर कसरी बनाउने, सीआरएन नम्बर कसरी लिने र कसरी आइपीओ भर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइएको गियो । गिरीले हाल सञ्चालनमा रहेको ५० वटा ब्रोकर, ती ब्रोकरहरुको काम, कसरी ब्रोकरमा खाता खोल्ने र कारोबार गर्ने विषयमा पनि विस्तृत रुपमा जानकारी गराएका थिए ।

दोस्रो बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरु इपीएस, नेटवर्थ, पीइ रेसियो, कम्पनीको चुक्ता पुँजी, नेट प्रोफिट लगायतका विषयमा पनि तालिम दिइएको थियो । दोस्रो बजारमा कारोबार पनि खातामा कसरी सेयर र पैसा आउँछ ? भन्ने पनि जानकारी दिइएको थियो ।

तालिमपछि महासंघकी उपाध्यक्ष सत्यदेवी वाग्लेले सेयरको आधारभूत तालिमले आफूहरुलाई सेयर बजारमा लाग्न हौसाएको बताइन । उनले आगामी दिनमा अझ एड्भान्स आधारभूत तालिमका लागि सहकार्य गरिदिन पनि आग्रह गरिन् ।

तालिमपछि कैयनहरुले मनमा लागेका जिज्ञाशा पनि राखे । जसलाई प्रशिक्षक गिरीले अन्यले उत्तर दिए । क्यापिटलले पुँजी बजारको साक्षरता बढाउनका लागि यस्ता तालिमका कार्यक्रमहरु आयोजना गरिरहेको छ । र, आगामी दिनमा पनि निरन्तरता दिने योजना बनाएको प्रवन्ध निर्देशक थकालीले जानकारी दिए ।

कारोबार गर्दा कति लाग्छ शुल्क ?

सेयर कारोबार भनेको खरिद वा बिक्री गर्नु हो । तपाईंले कुनै सेयर खरिद वा बिक्री गर्दा लाग्ने खर्च कतिको कारोबार हो भन्नेले अर्थ राख्छ । अर्थात् तपाईंले ५० हजार रुपैयाँसम्मको कारोबार गर्नु भएको छ भने ०.४ प्रतिशत शुल्क बुझाउनु पर्छ भने ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत शुल्क, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.३० प्रतिशत शुल्क १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत शुल्क लाग्छ ।

सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ भने डिपी शुल्क भनेर ब्रोकरहरुले प्रतिकारोबार २५ रुपैयाँ लिन्छन् ।


पुष्प दुलाल