बर्डफ्लुको त्रासमा पनि कुखुराको मासुको माग उत्तिकै, मूल्य बढ्यो, चल्लाको मूल्य दोब्बर



काठमाडौं । उपत्यकाका तारकेश्वर नगरपालिकामा बारम्बार बर्डफ्लू देखिता पनि कुखुराको मासुमा भने मूल्य घट्न सकेको छैन ।

विगतको दिनमा बर्डफ्लू भन्ने बित्तिकै मासुजन्य पदार्थमा मूल्य घट्ने प्रचलन थियो । तर अहिले भने उपत्यकामै बारम्बार बर्डफ्लू भएको प्रमाणित हुँदा पनि कुखुराको मूल्य भने बढिरहेको छ ।

केही साता अघिसम्ममा प्रतिकेजी ३५० रुपैयाँमा पाउने कुखुराको मासु अहिले बजारमा बढेर ३७० देखि ३९० मा बिक्री गरिरहेको छ । यसले गर्दा बर्डफ्लूका कारण कुनै पनि असर परेको छैन ।

दैनिक देशभर ५ लाख केजी कुखुराको मासु खपत हुने गर्दछ । त्यसमा अहिले माग अनुसार आपूर्ति हुन नसकेको व्यवसायीहरूको भनाइ छ । चिसो मौसमा कारण बजारमा कुखुराको उत्पादनमा गिरावट आएकाले मूल्य घट्न नसकेको ह्याचरी संघका अध्यक्ष टिकाराम पोखरेल बताउँछन् । उनका अनुसार बजारमा माग अनुसार सहज तरिकाले आपूर्ति गर्न नपाउँदा कुखुराको मूल्य बढेको बताए । तर, गर्मी लाग्ने वित्तिकै कुखुरा उत्पादन बढ्न गई मूल्यमा पनि गिरावट आउने उनको भनाइ छ ।

चल्लाको मूल्य दोब्बरले बढ्यो
पछिल्लो समय कुखुराको मासुमा मात्रै नभई चल्लाको मूल्य पनि दोब्बरले बढेको कुखुरा उत्पादक किसानहरू बताउँछन् । उनीहरूका अनुसार व्यवसायी तथा उद्योगीहरूले दोब्बर मूल्य कायम गर्दा किसानहरू मारमा परेको बताएका छन् ।

त्यस्तै, राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिले कुखुराको चल्लामा अत्यधिक मूल्य बढाएको भन्दै विभागमा लिखित रुपमा गुनासो दर्ता गराएका छन् । समितिको अनुसार चल्लामा भएको व्यापक कालोबजारी प्रति आवश्यक कारबाही गरी पाउँ भन्दै गत माघ ४ गते गुनासो दर्ता गराएका हुन् ।

विगत तीन दशकभन्दा लामो इतिहास बोकेको पोल्ट्री व्यवसाय (कुखुरापालन, दाना, चल्ला, औषधि तथा मासुजन्य वस्तु) उत्पादनकर्ता (साना किसान) विगत लामो समय देखि ह्याचरी तथा दाना उद्योगीहरुको चर्को शोषण रहेको समितिले जनाएको छ ।

‘यही पेशा व्यवसायबाट एकथरी वर्ग चर्को धन आर्जन गर्ने र अर्कोथरी वर्ग अन्नतकाल सम्म दास बन्ने हाल विद्यमान परिस्थिति खारेज गरी नयाँ प्रक्रियाबाट किसान वर्गको संरक्षण गर्नु आवश्यक छ । र कसैले पनि घाटा नखाने वातावरण सिर्जन गर्न, सर्व–सुलभ दंगबाट बजार व्यवस्थापन गर्नसमेत यस विभाग समक्ष निवेदन गर्दछौं,’ विभागमा दर्ता भएको गुनासोमा उल्लेख छ ।

सरकारका तर्फबाट कृषिमा वैदेशिक लगानी भित्रिने गरि गरेको निर्णयले साना किसान र स्वदेशी लगानीकर्तालाई निराश बनाएको उनीहरूको भनाइ छ ।

साथै, साना किसानहरु समेत संयुक्त मोर्चा बनाएर यसका विरुद्धमा संघर्ष गरिरहेको अवस्थामा स्वदेशी लगानीकर्ता उद्योगीहरुबाट एकलौटी चल्लाको मूल्यवृद्धि गरेकोमा समितिले आपत्ति जनाएका छन् ।

समितिकाका अनुसार गत माघ ४ गतेबाट लागु हुने गरि चल्लाको मूल्य प्रति गोटा ९० रुपैयाँ कायम गरिएको जनाएको छ । जसले गर्दा प्रत्यक्षरुपमा साना किसानहरुमा असर पर्ने हँुदा सम्बन्धीत निकाय संग समन्वय गरी चल्लाको औसतमूल्य कायम गर्न माग गरेका छन् ।

‘नियमानकारी निकायले आवश्यक नियमन नगर्दा उद्योगीहरुले एकलौटी बजारमा बस्तुको मूल्य निर्धारण गर्नु आफैमा गैरकानुनी हो । गैरकानुनी कार्यको विरुद्ध विभागले पुन मिलेमतो गरेको होकी भन्ने अशंका पैदा भएको छ,’ गुनासोमा उल्लेख छ ।

पटकपटक विभागमा उजुरी दिँदा समेत सुवाई नभएको हुनाले मिलेमतो भएको समितिको बुझाइ छ । यस्तै, उद्योगीहरूले चल्लाको उत्पादन लागत प्रति गोटा ४५ रुपैयाँ पर्ने र व्यापारीक हिसाबले त्यसको २० प्रतिशत नाफा जोड्दा प्रतिगोटा ५४ पर्ने भएकाले उनीहरूको अनुमान छ ।

तर, व्यापारिक नाफाको धज्जी उडाउँदै ४५ रुपैयाँमा तयार भएको चल्ला ९० रुपैयाँमा बेच्नु भनेको कालोबजारी हो भन्दै स्पष्ट गराएका छन् ।

हाल नेपालमा हप्तामा २० लाख चल्ला उत्पादन भईरहेको र बजार अभाव भएकै कारण दोब्बर मूल्य असुल गरिरहेको ‘लुट’ भएको समितिले बताएका छन् ।

त्यस्तै, हप्तामा २० लाख चल्लामा अतिरिक्त मुल्य ३६ र बढी लिँदा हप्तामा ७ करोड २ लाख नाफा उद्योगीहरुले कमाउने प्रक्याले बजार अस्वास्थ हुने निश्चित रहेको भन्दै ध्यानाकर्षण गराएको छ ।

केही दिनमा अनुगमनमा निस्किन्छौं: विभाग
उद्योग मन्त्रालयको मातहतमा रहेको बजार अनुगमनको लागि एक मात्र निकाय वाणिज्य, उद्योग तथा आपूर्ति संरक्षण विभागले समितिको गुनासो आएसँगै त्यसप्रति विभागको ध्यानाकर्षण भएको विभागका प्रवक्ता शिवराज शेडाईंले जानकारी दिए ।

उनका अनुसार चल्लाको मूल्य अत्यधिक बढाएको भन्दै गुनासो दर्ता भएको छ । त्यस विषयमा प्राकृतिक हो की अप्राकृतिक रुपमा बढाएको हो भन्ने विषयमा अध्ययन गरेर बजार अनुमगनमा जाने बताए ।

साथै, विभागले अप्राकृतिकरुपमा मूल्य बढाएको थाहा पाएमा कारबाहीको दायरमा ल्याई बजारमा मूल्य कायम गर्ने उनले बताए ।


क्लिकमान्डु