भारतले ४ सरकारी बैंक निजीकरण गर्दै, महाराष्ट्रको पहिलो बैंक समेत निजीको हातमा



भारत सरकारले विभिन्न ४ वटा सरकारी स्वामित्वका बैंकलाई निजीकरण गर्ने तयारी गरेको छ । यसअघि बजेटमा नै भारतका धेरै जसो सरकारी निकाय निजीकरण गर्ने घोषणा गरिएको छ ।

सोही घोषणा अनुसार नै निजीकरण गर्न लागिएको बैंक छनोट गरिएको छ । भारतीय सरकारको योजना अनुसार बैंक अफ इन्डिया, सेन्ट्रल बैंक, इण्डियन ओभरिज बैंक र बैंक अफ महाराष्ट्रलाई निजीकरण गर्न लागिएको छ ।

आगामी ६ महिनाभित्र सबै प्रक्रिया पूरा हुने जनाइएको छ । ती ४ बैंकमा मात्रै १ लाख २२ हजार कर्मचारी कार्यरत छन् । बैंक अफ इन्डियामा मात्रै ५० हजार कर्मचारी कार्यरत छन् ।

सेन्ट्रल बैंकमा ३० हजार, इण्डियन ओभरिसजमा २६ हजार र बैंक अफ महाराष्ट्रमा १३ हजार कर्मचारी छन् ।

भारत सरकारले मध्यमस्तरीय बैंकलाई पहिलो चरणमा निजीकरण गर्न लागिएको जनाएको छ । त्यसमा बैंक अफ महाराष्ट्र, इण्डियन ओभरसिज बैंक र सेन्ट्रल बैंक साना आकारका बैंक हुन् भने बैंक अफ इण्डिया भने ठूलो बैंक हो ।

भारतको मोदी सरकार ठूला बैंकलाई भने सञ्चालन गर्ने योजनामा छ । त्यसमा भारतीय स्टेट बैंक, पञ्जाब नेशनल बैंक, बैंक अफ बडौदा र कैनरा बैंक छन् । पहिले नै केही साना बैंकलाई ठूला बैंकमा मर्ज गरिसकिएको छ ।

बैंक निजीकरण गर्ने घोषणा गरिएपछि त्यहाँ कार्यरत कर्मचारीको अवस्था के हुने भन्ने बारेमा चिन्ता शुरु भएको छ । तर, सरकारले पहिल्यै कर्मचारीको कोही कसैले पनि रोजगारीबाट हात धुनुनपर्ने बताइसकेको छ ।

भारतमा बैंक अफ इण्डिया छैंटौ स्थानमा रहेको छ । सात नम्बरमा सेन्ट्रल बैंक रहेको छ । बैंक अफ इण्डियाको बजार पूँजीकरण १९ हजार २६८ करोड रहेको छ ।

इण्डियन ओभरसिजको १८ हजार करोड र बैंक अफ महाराष्ट्रको १० हजार ४४३ करोड र सेन्ट्रल बैंकको ८ हजार १९० करोड बराबर रहेको छ ।

बैंक अफ महाराष्ट्र १८४० मा शुरु भएको हो । त्यस समयमा सो बैंकको नाम बैंक अफ बम्बे थियो ।

यो महाराष्ट्रको पहिलो व्यवसायीक बैंक हो । त्यसको १ हजार ८७४ शाखा र १ करोड ५० लाख ग्राहक छन् ।

बैंक अफ इण्डिया ७ सेक्टेम्बर १९०६ मा स्थापना भएको हो । यो एक निजी क्षेत्रको बैंक थियो । १९६९ मा अन्य बैंकमा यसलाई मिलाएर सरकारी बैंक बनायो । कुल ५० कर्मचारीको साथमा शुरु गरिएको बैंकको ५ हजार ८९ शाखा रहेका छन् ।

सेन्ट्रल बैंक १ हजार ९११ मा स्थापना भएको हो । त्यसको कूल ४ हजार ९६९ शाखा रहेका छन् । यस्तै, इण्डियन ओभरसिज बैंकको स्थापना १० फरवरी १९३७ मा भएको हो । सो बैंकको ३ हजार ८०० शाखा छन् । ४ बैंकको निजीकरणपछि पनि भारतमा अझै ८ सरकारी बैंक बाँकी रहनेछ ।


क्लिकमान्डु