गाँउपालिकाको केन्द्र र भौतिक पुर्वाधारको विकास नहुँदा ४ स्थानीय तह बैंकबिहिन



काठमाडौं । सरकारले गाँउपालिका केन्द्र तोक्न र भौतिक पुर्वधार विकास गर्न नसक्दा ४ स्थानिय तह अझै बैंकिङ पहुँच बाहिर छन् ।

राष्ट्र बैंकले २०७४ सालमा संघीय संरचनाअनुसार ७ सय ५३ स्थानीयतहमा वाणिज्य बैंकले शाखा विस्तार गर्नुपर्ने निर्देशन दिएको थियो ।

राष्ट्र बैंककाअनुसार हालसम्म ७ सय ४९ स्थानीयतहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ ।

वाणिज्य बैंकको शाखा नपुगेका स्थानीय तहमा प्रदेश नम्बर १ मा ताप्लेजुङको मिक्काखोला, बागमति प्रदेशमा धादिङको रुवीभ्याली, कर्णाली प्रदेशमा जाजरकोटको जुनीचाँदे र सुदुर पश्चिम प्रदेशमा बझाङको काँडा गाउँपालिका हुन् ।

भौतिक पुर्वाधार र सरकारले गाउपालिकाको केन्द्र निर्धारण नहुँदा सो स्थानियतह बैंकिङ पहुँच बाहिर हुनपरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

‘यी स्थानियतहमा शाखा खोल्नका लागि बैंकले राष्ट्रि बैंकबाट स्वीकृति लिइसकेका छन्,’ भट्टले क्लिकमाण्डूसँग भने, ‘भौतिक पुर्वाधारको अभाव र गाँउपालिका केन्द्र तय हुन नसक्दा वाणिज्य बैंकको शाखा ती स्थानमा पुग्न सकेका छैनन् ।’

हाल बैंकिङ पहुँचबाट टाढा रहेका स्थानीय तहमा मध्ये ताप्लेजुङको मिक्काखोला गाँउपालिकामा सेञ्चुरी बैंक, धादिङको रुवीभ्याली गाँउपालिकामा बैंक अफ काठमाण्डू, जाजरकोटको जुनीचाँदे गाँउपालिकामा कृषि विकास बैंक र बझाङको काँडा गाउँपालिकामा एभरेष्ट बैंकले शाखा खोल्नको लागि राष्ट्र बैंकबाट स्वीकृति लिइसेका छन् ।

बैंकले शाखा विस्तार गर्न नसकेको स्थानियतह मध्ये ताप्लेजुङको मिक्काखोला गाँउपालिकामा बैंकको शाखा कार्यालय निर्माणको कार्य सम्पन्न भइसकेको र बाँकी कार्यालय व्यवस्थापनको कार्य सम्पन्न हुने वित्तिकै चाँडै सञ्चालनमा आउने उनले जानकारी दिए ।

‘धादिङको रुवीभ्याली गाँउपालिकामा र जाजरकोटको जुनीचाँदे गाँउपालिकाको केन्द्र हालसम्म पनि तय भइसकको छैन’, उनले थपे, ‘जुनीचाँदे गाँउपालिकाको केन्द्रको लागि अझै पनि अदालतमा नै मुद्दा छ, यी गाँउपालिकाको केन्द्र कहाँ बस्छ भन्ने निश्चित नहुँदासम्म बैंकको शाखा विस्तार स्थगित नै हुन्छ ।’

बझाङको काँडा गाउँपालिकामा बैंकको शाखा खोल्नको लागि सडक, विद्युत, इन्टरनेट लगायतका आधारभुत पुर्वाधार नभएको हुँदा सो स्थानियतहमा वाणिज्य बैंकको शाखा विस्तार नभएको उनले जानकारी दिए ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म प्रदेश नम्बरका १ सय ३६ स्थानीय तह, प्रदेश नम्बर २ का १ सय ३६ स्थानियतह, बागमति प्रदेशका १ सय १८ स्थानीय तह र गण्डकी प्रदेशका ८५ स्थानियतहमा वाणिज्य बैंकका शाखा विस्तार भइसकेका छन् ।

साथै, सो अवधिमा लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तह, कर्णाली प्रदेशका ७८ स्थानियतह र सुदुरपश्चिम प्रदेशमा ८७ स्थानीय तहमा वाणिज्य बैंकमा शाखा पुगिसकेका छन् ।

सो अवधिमा वाणिज्य बैंकको ४ हजार ६ सय १३ शाखा, विकास बैंकको १ हजार ४८ शाखा, वित्त कम्पनीको २ सय ५४ शाखा र लघुवित्त वित्तीय संस्थाको ४ हजार २ सय ७२ शाखा गरी बैंक तथा वित्तीय संस्थाका १० हजार १ सय ७७ शाखा कार्यालयहरुले बैंकिङ सेवा प्रवाह गरिरहेका छन् ।


पुष्प दुलाल