डन्डीको मूल्य १३ रुपैयाँसम्म घट्यो, तेलको घटेन



काठमाडौं । निर्माण सामग्री डण्डी र स्टिलको अत्यधिक मूल्यवृद्धि गरेका उद्योगीहरूले थोरै मूल्य भएपनि घटाउन थालेका छन् । पछिल्लो समय उद्योगीले बिनाकारण मूल्य बढाएको भन्दै यससँग सम्बन्धित विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएका थिए । त्यसँगै उद्योगीहरूले केही मात्रामा भएपनि मूल्य घटाएको हो ।

उद्योग मन्त्रालयको मातहतमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार डण्डी उद्योगीहरूले मूल्य घटाएको जनाएको छ । देशभर दर्जभन्दा बढी स्टिल तथा डन्डी उद्योगी छन् । त्यसमध्ये केही उद्योगले मूल्य घटाएको विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिए ।

बजारमा अत्यधिक मूल्य बढेको भन्दै विभागले विशेष अनुगमन गरेको थियो । सोही अनुसार कृत्रिम हो वा अन्य कुनै कारण हो भन्ने विषयमा अध्ययन गरी मूल्य घटाउन सफल भएको विभागको दावी छ ।

१३ रुपैयाँसम्म घट्यो मूल्य
विभाग अनुसार देशभर रहेका सबै उद्योगले मूल्य नघटाए केही उद्योगीहरूले ४ रुपैयाँदेखि १३ रुपैयाँसम्म मूल्य घटाएको छ । जसमा पहिलो पटकमा लक्ष्मी स्टिल र श्री स्टिलले विगतको दिनमा प्रतिकेजी ८१ रुपैयाँमा बिक्री गरिरहेको स्टिलको मू्ल्य ४ रुपैयाँ घटाएर ७७ रुपैयाँमा कायम भएको विभागले जनाएको छ ।

त्यसैगरी, मोरङको हुलास वायर इ. लिमिटेडले दशैंपश्चात प्रति केजी ८० रुपैयाँमा डन्डी बिक्री गरिरहेका थिए । तर, अहिले ८ रुपैयाँ मूल्य घटाएर नयाँ मूल्य कायम गरेको विभागले जनाएको छ ।

त्यस्तै, मोरङ जिल्लामै रहेको कमला रोलिङ मिल्स प्रालिले एक महिनाको समय अवधिमा फलामे छडको मूल्यमा मोटाइ अनुसार प्रतिकेजी ११ रुपैयाँदेखि १३ रुपैयाँसम्म मूल्य बढाएको जनाएको छ । विभागले मोटाइ अनुसार हालको प्रतिकेजी मूल्य ७२ र ६९ रुपैयाँ मूल्य तोकेको जनाएको छ ।

तर, अझै केही उद्योगीहरूले मूल्य नघटाएकाले त्यस विषयमा अनुगमन तथा अध्ययन तीब्र रुपमा भइरहेको प्रवक्ता सेढाईको भनाइ छ ।

‘बिस्तारै उद्योगीहरूले डन्डी तथा स्टिलको मूल्य घटाउन थालेको छ,’ उनले भने, ‘अझै केही उद्योगीहरूले घटाएका छैनन् । अन्य उद्योगहरूले घटाएपछि अन्यले पनि घटाउँदै जानेछ ।’

तेलमा कच्चा पदार्थको मूल्यवृद्धिले बजारभाउ बढेको विभागको निष्कर्ष
निर्माण सामग्री जस्तै खाने तेलमा पनि मूल्य बढाएको उद्योगीले भने हालसम्म मूल्य घटाउन सकेको छैन । विभागले अत्यधिक मूल्य बढाएको भन्दै दुई उद्योगलाई जरिवाना गरिएको थियो । ती दुई तेल उद्योगले पनि मूल्य घटाएको सेढाईले बताए ।

उनका अनुसार केही महिना अगाडि प्रतिकार्टुन २२ सयदेखि २३ सय रुपैयाँसम्म पुगेको तेलको मूल्य अहिले घटाएर १८ देखि १९ सयसम्म मूल्य कायम भएको छ ।

तर, अन्य कम्पनीले भने हालसम्म मूल्य घटाउनेबारे कनै सुरसार देखाएका छैनन् । विभागले तेलको मूल्य बढाएसँगै यस विषयमा अध्ययन गर्नका लागि उद्योगीहरूसँग कच्चा पदार्थको आयात विवरण, उत्पादनको विवरण माग गरेको थियो । सोही अनुसार विभागले अध्ययन गरेसँगै कच्चा पदार्थको मूल्यवृद्धिले गर्दा नै बजारभाउ बढेको निष्कर्ष निकालेको छ ।

देशभर १६ वटा तेल उद्योग छन् । ती सबै उद्योगको विवरण माग गरेर अध्ययन गर्दा कच्चा पदार्थको मूल्यवृद्धि भई तेलको मूल्य वृद्धि भएको विभागको ठम्याइ छ ।

‘करिब ९० प्रतिशत भार पैठरीमा पर्ने रहेछ । बाँकी १० प्रतिशत प्याकेजिङ र सप्लाई चेनमा खर्च भएको देखिन्छ । त्यसैले तेलको मूल्य बढ्नु स्वाभाविक हो,’ प्रवक्ता सेढाईले क्लिकमान्डूसँग भने ।

यद्यपि विभागले यी विभिन्न तेल उत्पादन गर्ने उद्योगीहरूसँग छलफल गरिरहेको उनले बताए । हाल विभिन्न उद्योगीहरूसँग छलफल भइरहेको हुनाले सहमतिमा मूल्य घटाउनेमा प्राथमिकता दिएको उनको भनाइ छ ।

विभागको उपभोक्ता संरक्षण ऐन २०३२ मा कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजायमा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने प्रस्ट उल्लेख छ । जसमा २० प्रतिशतभन्दा बढी नाफा राखे कालोबजारी ऐनअनुसार कारबाही गर्ने विभागले जनाएको छ ।

तर, दशैंपछि अत्यधिक मूल्यवृद्धि गराएको तेल उद्योगीहरूमा सानालाई कारबाही र ठूला उद्योगीलाई उन्मुक्ति भइरहेको उपभोक्ताकर्मीहरू बताउँछन् । यस विषयमा विभागले मात्रै नभएर यससँग सम्बन्धित विभिन्न मन्त्रालयहरू मिलेर बजारको न्यूनतम मूल्य कायम गर्नुपर्ने जोड दिनुपर्ने उनीहरूको भनाइ छ ।


क्लिकमान्डु