कल्याणकारी कोष स्थापना गरेर सदस्यको हितमा काम गर्नेछुः फेकन अध्यक्षका उम्मेदवार भुपाल तामाङ



स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को १०औं साधारणसभा यही फागुन ८ गते हुँदैछ । जसमा भुपाल तामाङले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । कोरोना महामारी र यसले पारेको प्रभावका साथै भावी अध्यक्षको उम्मेदवारका रुपमा तामाङका एजेन्डाहरु के कस्ता छन् भन्ने विषयमा क्लिकमाण्डू डट कमले तामाङसँग गरेको कुराकानीको अंश ।

१०औं साधारणसभाको तयारी कस्तो हुँदैछ ?
गत वर्ष हुने भनिएको १०औं साधारणसभा कोरोना महामारीका कारण सम्पन्न हुन सकेन । त्यसपछि कार्यालयहरु पनि सञ्चालन हुन सकेनन् । तै पनि साधारणसभा नयाँ कार्यसमिति पनि चयन हुने भएकाले हामीले यस पटकको साधारणसभा बृहत रुपमा सम्पन्न गर्ने गरी तयारी गरिरहेका छौं । सबैलाई जनालाई समेट्ने तरिकाले काम गरिरहेका छौं । तयारी युद्धस्तरमा अगाडि बढिरहेको छ ।

कोरोना महामारीका कारण यो अति प्रभावित क्षेत्रमा परेको छ । अहिले कस्तो अवस्था छ ?
कोरोना महामारीको प्रभावले धेरै असर गरेको क्षेत्रमा हाम्रो क्षेत्र पनि हो । नेपाल राष्ट्र बैंकले अतिप्रभावित क्षेत्रको सूचीमा राखेको छ । हामीले यसअवधिमा कार्यालय सञ्चालन पनि गर्न पाएनौं । अहिले पनि विद्यार्थीहरुको भिसा लागेर पनि बोर्डर खुला नभएका कारण जान नपाएको पनि अवस्था छ । विद्यार्थीहरुको कोरोना महामारीका कारण पढाइ रोकिएको अवस्था छ । तर अब बिस्तारै केही सकारात्मक संकेतहरु देखिएका छन् ।

महामारीपछि के अहिले यो क्षेत्र यतिबेला रिभाइभ हुन लागेको हो ?
यो नेपालको मात्रै कुरा भएन । अहिले विभिन्न देशमा खोपको कुरा पनि आइरहेको छ । यस्तो अवस्थामा धेरै देशहरुले खोप लगाइरहेका पनि छन् । नेपालमा पनि जति राम्रो भए पनि गन्तव्य मुलुकको बोर्डर खुला हुनु जरुरी छ । तर केही समय रोकिए पनि आगामी दिनमा खुला हुनैपर्छ । खुला हुन्छ नै । र, यसले पक्कै पनि व्यवसाय रिभाइभ हुनेछ ।

यो क्षेत्रलाई पुनरकर्जाको व्यवस्थाले कति फाइदा गर्यो ?
हाम्रो संस्थामा आबद्ध धेरै जसो साथीहरु साना तथा मझौला खालका हुनुहुन्छ । हामी आफै पनि बैंकमा जाँदा बैंकले अपेक्षा गरे अनुसारको सहयोग पाएका छैनौं । फेरि यसअघि पनि संस्थाका केही साथीहरुले बैंकिङ कारोबार गर्दा संस्थागतरुपमा भन्दा बढी व्यक्तिगतरुपमा गरेका थिए । जसले गर्दा पुनरकर्जाका लागि तोकिएको मापदण्ड अनुसार धेरै साथीहरु पर्न सक्ने अवस्था भएन । कर्मचारीको संख्या लगायतका मापदण्ड धेरै संस्थाहरुले सुविधा लिन पाएनन् । त्यसैले पुनरकर्जाको व्यवस्थाले यो क्षेत्रका व्यवसायीहरुलाई सुविधा दिए जस्तो लाग्दैन ।

कोरोना महामारीले यो क्षेत्रलाई कस्तो खालको असर गर्यो ?
महामारीमा कार्यालय सञ्चालन गर्न पाएनौं । त्यसकारणले घरभाडा तिर्न नै समस्या भयो । अझै पनि ९० प्रतिशतभन्दा व्यवसायीहरु घरको भाडा तिर्न सकेको अवस्था छैन । केही साथीहरुले बाध्य भएर कार्यालय बन्द वा सार्नु परेको अवस्था पनि छ । त्यसमाथि पनि अहिले कार्यालय खोल्दा पनि भिसाको काम अगाडि बढाउन पाइएको छैन । अहिले कार्यालय त खुलेका छन् तर भिसाको काम सहजरुपमा काम हुन सकेको छैन ।

अध्यक्षका रुपमा उम्मेदवारी दिँदै गर्दा तपाईंका एजेन्डा के छन् ?
सबैभन्दा पहिले त अहिले कोरोना महामारीका कारण लामो समय बन्द भएर अहिले कार्यालय खुलेका छन् । यस्तो अवस्थामा शिक्षा मन्त्रालयदेखि अर्थमन्त्रालयसम्म हामी विभिन्न मुद्दामा पहल गर्नुपर्ने भएको छ । त्यो काम गर्नु मेरो उद्देश्य हुनेछ ।

त्यसबाहेक अहिले कोरोना महामारीबाट हामीले सिकेको पाठ भनेको फेकनसँग यसअघि कल्याणकारी कोष नै थिएन । तर अब फेकनको कल्याणकारी कोष सञ्चालन गर्ने योजना बनाएका छौं । ताकी कोरोना महामारी जस्ता आपतविपतमा बसेको अवस्थामा कोषबाट सदस्य संस्थाहरुलाई सहयोगी होस् भन्ने हो ।

त्यसबाहेक पहिले हामी थोरै सदस्य हुँदा भइरहेको इन्फरमेसन सिस्टम केही कमजोर थियो तर अहिले सदस्य धेरै भएकाले इन्फरमेसन म्यानेजमेन्ट सिस्टम लागू गर्नेछौं । त्यसबाहेक सदस्य संख्याहरु बढिरहेको अवस्थामा अब हाम्रा अगाडि ७वटै प्रदेशमा प्रादेशिक संरचना गठन गर्नुपर्ने अवस्था आएको छ । त्यसका लागि पनि मैले काम गर्नेछु ।

फेकन जस्तै इक्यान र आइरिन जस्ता संस्थाहरु पनि समानान्तर ढंगले सञ्चालनमा चलिरहेका छन् । के अब महासंघमा जाने वा एकैठाउँमा गाभिने केही सम्भावना हुन्छ ?
हाम्रो संघ फेकनको उत्पत्ति र यसको पहिचान फरक खालको छ । हामी साना तथा मझौला व्यवसायीहरुको हक र हितका लागि स्थापना भएको हो र आजका दिनमा त्यस्तै संस्थाहरुको नेतृत्व गरिरहेका छौं । भोलिका दिनमा मन मिलेको अवस्थामा अन्य संस्थाहरुसँग कार्यगत एकता गर्न सक्छौं । तर एकै ठाउँमै हुने भन्ने अहिले त्यो सम्भावना छैन । नेपालमा भित्रिएको एफडीलगायतका विषयमा हामीहरु एकै ठाउँमै छौं । तर तत्कालै महासंघमा जाने वा नजाने भन्ने कुरा अहिले गर्नु उपयुक्त छैन ।

दुई वटा प्यानल बनाएर निर्वाचनमा होमिनु भएको छ । सहमति हुने सम्भावना कति छ ?
एजेन्डाका विषयमा छलफल गर्न र सहमतिमा जान सकिन्छ । तर निर्वाचनमा गइसकेको अवस्थामा व्यक्तिलाई केन्द्रित गरेर सहमति हुने सम्भावना छैन । दुबै प्यानलबाट यति यति जना भनेर हुने सम्भावना छैन ।


क्लिकमान्डु