माइक्रोम्यानेजमेन्टमा राष्ट्र बैंकः साधारण बचतको ब्याजदर तोक्ने तयारी



काठमाडौं । बैंकहरुले निक्षेपमा दिने न्यूनतम ब्याजदर राष्ट्र बैंकले निर्धारण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले साधारण बचतमा न्यूनतम ब्याजदर तोक्ने तयारी गरेको हो ।

कर्जाको माग न्यून भई प्रणालीमा लगानीयोग्य रकम (तरलता) अधिक हुँदा बैंकहरुले ब्याज खर्च कम गर्न निक्षेपको ब्याज गत बैशाखबाट घटाइरहेका छन् ।

जसकारण निक्षेपको न्यूनतम ब्याजदर अत्यन्तै न्यून भएको ठहर गरी राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा बचत तथा मुद्दति निक्षेपको ब्याजदरको अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको थियो ।

यो व्यवस्थाको मुख्य कारण बचत निक्षेपको ब्याजदर एउटा सीमामा रहोस् भन्ने भए पनि बैंकहरुले तल्लो ब्याजदर नबढाएर मुद्दतिको ब्याजदर घटाएर अन्तर कायम गरेका छन् ।

राष्ट्र बैंकको नीति टेकेर बैंकहरुले बचतकर्तालाई मारमा पारेपछि साधारण बचतको न्यूनतम ब्याजदर तोक्ने तयारी गरिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘बचत र मुद्दतिको अन्तर कायम गर भन्नुको अर्थ साधारण बचतको ब्याजदर बढाउ नै भन्ने थियो, तर बैंकहरुले चलाखी गरेर मुद्दतिको नै ब्याजदर घटाइदिए,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘अब भने साधारण बचतको न्यूनतम दर तोकेर स्प्रेडदर कायम गर भनेर निर्देशन दिइन्छ ।’

ब्याजदरको सिद्दान्तअनुसार बैंकको ब्याजदर निर्धारण बजारलाई नै छोड्नुपर्ने भए पनि बचतकर्ता मारमा पर्ने निरुत्साहित हुने गरी ब्याजदर तोक्ने काम बैंकहरुले गर्दा राष्ट्र बैंकले त्यसमा हस्तक्षेप गर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

‘विषेशगरी वाणिज्य बैंकहरुले राष्ट्र बैंकले जुन उद्देश्यले निक्षेपमा स्प्रेड नीति ल्याएको थियो त्यसको अर्थ नै गलत सावित गरिदिएका छन्,’ उनले थपे, ‘अब साधारण बचतको न्यूनतम ब्याजदर तोकेपछि स्प्रेड कायम गरेर ब्याजदर निर्धारण गर्दा निक्षेपको ब्याजदर २÷३ प्रतिशत जति बढ्नसक्छ ।’

यसका लागि अन्तर विभागीय छलफल भएको तर सञ्चालक समितिले पास गरेमा मात्र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा समावेश हुन उनले जानकारी दिए ।

हालसम्मको व्यवस्थाअनुसार बैंकहरुले साधारण बचतमा ०.५ प्रतिशत ब्याजदर निर्धारण गरेर मुद्दतिमा ५.५ प्रतिशत प्रतिशतसम्म तोक्न पाउँछन् । तर राष्ट्र बैंकले साधारण बचतको न्यूनतम ब्याजदर तोकिदिएमा तोकिएको ब्याजदरमा स्प्रेड कायम गरी मुद्दतिको ब्याजदर निर्धारण गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकका अनुसार हाल बैंकहरुले बचतमा औषत २.८५ प्रतिशत र मुद्दतिमा ८.२० प्रतिशत ब्याजदर दिइरहेका छन् । एक वर्षको अन्तरमा बैंक तथा वित्त कम्पनीको औषत ब्याजदर समेत पौने २ प्रतिशतले घटेको छ ।

गत आवको पुस मसान्तसम्म ६.७९ प्रतिशत निक्षेपको औषत ब्याजदर रहेकोमा चालु आवको सोही अवधिमा १.७९ प्रतिशतले घटेर ५ प्रतिशत कायम भएको छ ।

हाल बैंकिङ प्रणालीमा ८७ अर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ । जसकारण बैंकहरुले निक्षेप संकलनभन्दा कर्जा लगानीलाई बढी प्राथमिकता दिइरहेका छन् ।

माघ लागेपछि २० गतेसम्म वाणिज्य बैंकहरुले ६ अर्ब रुपैयाँ निक्षेप संकलन थप गर्दा ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह थप गरेका छन् ।


पुष्प दुलाल