उपत्यकाका स्थानीय तहमा आयोजनाको पहिलो प्राथमिकता कालोपत्रे सडक



काठमाडौं । कुनै पनि नगर वा स्थानीय तह विकासका लागि अति आवश्यक हो सडक । तर, पछिल्लो समय स्थानीय तहको विकासका लागि सडक मात्रै नभएर कालोपत्रे सडकको आयोजना माग बढ्दो रहेको छ ।

उपत्यका बाहिर सबैभन्दा अगाडि सडकको विस्तार भएपछि मात्रै अन्य विकासका योजना अगाडि बढ्ने प्रवृत्ति छ । तर, त्यसका लागि कालोपत्रे सडक नै हुनुपर्छ भन्ने छैन ।

उपत्यकाबाहिरका स्थानीय तहमा पायक परेसम्ममा कालोपत्रे सडक नभए कच्ची सडक अर्थात् गाडी, बाइकलगायत अन्य सवारी साधन गुड्ने भए हुन्छ भन्ने आम सर्वसाधारणको मानसिकता हुन्छ ।

तर, उपत्यकाका जिल्लामा रहेको स्थानीय तहमा पहिलो प्राथमिकतामा कालोपत्रे सडक रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

उपत्यकामा अधिकांश स्थानीय तहमा सडकको व्यवस्था भइसकोको छ । साथै, सर्वप्रथम अधिकांश स्थानीय तहको प्राथमिकताको आधारमा सडक त विस्तार भए ।

तर, सडक मात्रै नभई कालोपत्रे हुन आवश्यक रहेको भन्दै सबैभन्दा बढी आयोजनाको रुपमा प्रस्ताव आएको प्राधिकरणले जनाएको छ ।

उपत्यकामा चक्रपथबाहिरका स्थानहरूमा घर निर्माण गरी बस्नेको संख्या तीव्र छ । सोही अनुसार उक्त स्थानीय तहमा विकासका कामहरू भइरहेको छ ।

त्यस्तै उपत्यकाका भर्खरै बिस्तार भइरहेको बस्तीमा बाटो ढलान गर्नुपर्यो र नयाँ बाटो खोल्नुपर्ने जस्ता आयोजना बढी आएको प्राधिकरणका शहरी योजनाकार भागवतभक्त खोखलीले जानकारी दिए ।

उनका अनुसार पूर्वाधार विकास भन्ने वित्तिकै सडक मात्रै नभएर सहरलाई आवश्यक पर्ने आयोजनाको माग निकै कम आएको बताउँछन् ।

‘उपत्यकामा शहरमा खुल्ला क्षेत्र कम भयो, हामीलाई खुल्ला क्षेत्र चाहियो भन्नेजस्ता कुनै पनि आयोजना आएको छैन,’ उनले भने, ‘त्यति मात्रै नभई स्कुल बनाउन ठाउँ भएन स्कुल बनाउनका लागि जग्गा आवश्यक भयो भन्ने पनि कुनै आयोजनाको माग आएको छैन । साथै, हस्पिटलको पनि कुनै माग आएको छैन । जुनसुकै स्थानीय तहको सबैभन्दा बढी आयोजना सडक रहेको छ ।’

तर, सडक बन्दैमा सबै बन्छ भन्ने मानसिकता हटाउनुपर्ने उनको बुझाइ छ । उनका अनुसार सडक भनेको एउटा पूर्वाधार मात्रै भएकाले त्यससँगै अन्य विकासका धारहरू आवश्यक हुनुपर्ने बताए ।

यससँगै सडक पुग्ने वित्तिकैभने ढल, खानेपानी लगायत अन्य विकासका आयोजनाहरू क्रमश माग हुने गरेको उनको भनाइ छ ।

लामो समय सडक विभागमा महानिर्देशकका रुपमा कार्यरत भई अवकास भएका राजेन्द्रराज शर्माका अनुसार विकासको शुरुवात नै सडकबाट हुने भएकाले अधिकांश स्थानीय तहको माग सडक भएको बताए । यसका साथै, सडक मात्रै नभएर पछिल्लो समय कालोपत्रेमा बढी जोड दिएको उनले जानकारी दिए ।

उनका अनुसार सडक मात्रै भयो भने सुख्खामा धुलो हुने र पानी पर्दा हिलो हुने समस्याले गर्दा अधिकांशले कालोपत्रेमा जोड दिएको बताए ।

‘जुनसुकै स्थानीय तहमा भएका सडक पक्की होस् भन्ने सबैको चाहाना हुन्छ । साथै कालोपत्रे भएमा सबैको लागि सहज हुन्छ,’ उनले क्लिकमान्डूसँग भने, ‘तर, कालोपत्रे भन्ने वित्तिकै सडकको मात्र माग गरेको होइन । त्यहाँको स्थानीय तहले अन्य सुविधाहरू पनि खोजेको भनेर बुझ्नुपर्छ ।’

उनका अनुसार सबैको माग कालोपत्रे मात्रै नभएर अन्य पूर्वाधार खानेपानी, ढललगायत अन्य सबैको माग गरिएको उनको बुझाइ छ ।

यससँगै कालोपत्रे सडकले उक्त स्थानको स्थिति पनि बुझाउने भएकाले अधिकांश स्थानीय तहको जोडबल नै कालोपत्रे सडकमा रहेको उनले उल्लेख गरे ।


क्लिकमान्डु