निक्षेपको ब्याजदर पौने २ प्रतिशतले घट्यो, तरलता अभाव हुँदै गए निक्षेप र कर्जाको ब्याजदर बढ्ने



काठमाडौं । सर्वसाधारणले बैंकमा जम्मा गर्ने निक्षेपको ब्याजदर पौने २ प्रतिशतले घटेको छ । बैंक तथा वित्त कम्पनीले निक्षेपको औषत ब्याजदर एक बर्षमा १.७९ प्रतिशतले घटाएका हुन् ।

बैंकहरुले लगानीयोग्य रकम (तरलता) अधिक हुँदा माग अनुसारको कर्जा प्रवाह गर्न पर्याप्त निक्षेप भएकाले ब्याजदर घटाएका हुन् । तर अहिले निक्षेप संकलनको वृद्धिको तुलनामा कर्जा प्रवाहको वृद्धिदर उच्च छ । माघ महिनामा २० दिनमा नै वाणिज्य बैंकहरुले ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह थप गर्दा ६ अर्ब रुपैयाँमात्र निक्षेप संकलन थप गरेका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले माघ २३ गतेसम्म ३७ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३२ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

साथै सो अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले ४२ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३७ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यसरी नै निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको परिमाण बढ्दै जाने हो भने केही समयपछि बैंकहरुमा तरलता संकुचन हुन सक्ने प्रष्ट छ । अहिले भएको कर्जाको माग अनुसार आपुर्ति गर्न बैंकहरुले केही समय पछि नै निक्षेपकर्तालाई अकर्षण गर्न ब्याजदर बढाउने अनुमान सरोकारवालाको छ ।

राष्ट्र बैंकका अनुसार गत आवको पुस मसान्तसम्म ६.७९ प्रतिशत निक्षेपको औषत ब्याजदर रहेकोमा चालु आवको सोही अवधिमा १.७९ प्रतिशतले घटेर ५ प्रतिशत कायम भएको छ ।

यससँगै सर्वसाधारणले बैंकमा पैसा जम्मा गर्दा औषतमा ५ प्रतिशतमात्र ब्याजदर पाउनेछन् । बैंकबाट ऋण लिनपर्दा भने सर्वसाधारणले औषतमा ९.०९ प्रतिशत ब्याजदर तिर्नु पर्छ । यस्तो ब्याजदर गत आवको पुस मसान्तसम्म ११.९४ प्रतिशत थियो ।

गत चैतदेखि शुरु भएको लकडाउन नकारात्मक प्रभाव बैंकिङ प्रणालीमा पर्दा बैंकको औषत ब्याजदर घटेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

‘अर्थतन्त्रमा कोरोनाको नकारात्मक प्रभाव परेसँगै बैंकिङ प्रणालीमा पनि अहिलेसम्म छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘यसबीचमा बैंकमा निक्षेपको तुलनामा कर्जाको माग न्यून भयो, सोही कारण बैंकहरुले ब्याज खर्च तथा सञ्चालन खर्च व्यवस्थापन गर्न ब्याजदर घटाएका छन् ।’

अहिले अवस्था सामान्य बन्दै गएको हुँदा बैंकहरुमा कर्जाको माग बढ्दै गएको र माग अनुसारको आपुर्ति गर्न बैंकहरुले निक्षेपकर्तालाई अकर्षण गर्ने ब्याजदर बढाउन सक्ने उनको अनुमान छ ।

‘बैंकहरुमा अधिक तरलता भएका कारण राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत् बजारबाट पैसा खिचिरहेकोे छ,’ उनले थपे, ‘कर्जाको माग अनुसार प्रणालीमा पैसा अभाव भएपछि बैंकहरुले निक्षेपकर्तालाई आकर्षण गर्न ब्याजदर बढाउनदेखि बाहेक अरु विकल्प हुँदैन ।’

तर पर्याप्त लगानीयोग्य रकम बैंकमा थुप्रिदैँमा बैंकहरुले निक्षेपकर्तालाई निरुत्साहित गर्ने गरी ब्याजदर नघटाउन उनले सुझाव दिएका छन् । यसले गर्दा बैंकका सहयोगी ठूला निक्षेपकर्ता रुष्ट हुँदा बैंकलाई आवश्यकतामा सहयोग नहुने अवस्था सिर्जना हुने उनको भनाइ छ ।

राष्ट्र बैंकको अनुसार हाल बैंकहरुले बचतमा औषत २.८५ प्रतिशत र मुद्दतिमा ८.२० प्रतिशत ब्याजदर दिइरहेको छन् ।

पछिल्लो समय बैंकहरुमा कर्जाको वृद्धिदरको तुलनामा निक्षेप संकलन थोरै हुन भनेको नै भविष्यमा निक्षेपको ब्याजदर बढ्ने संकेत भएको नेपाल बैंकर्स संघका सीइओ अनिल शर्माले बताए ।

‘निक्षेपकर्तालाई मारमा नपर्ने गरी बैंकहरुले ब्याजदर तय गर्नुपर्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘तर अहिले जुन रेसियोमा कर्जा र निक्षेपको वृद्धिदर छ सो अनुसार केही समयमा दुबैको ब्याजदर बढ्ने संकेत देखिन्छ ।’

निक्षेपकर्ताले बैंकमा जम्मा गरेका आइडल फण्ड निकालेर विभिन्न क्षेत्रमा लगानी गर्दा निक्षेपको वृद्धिदर कर्जा प्रवाहको तुलनामा कम भएको उनको भनाइ छ ।


क्लिकमान्डु