कता जाँदैछ अर्थतन्त्र ? यस्ता छन् पुससम्मका मूख्य आर्थिक सूचक



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत छ ।

आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ७८ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च ४१५ अर्ब ७५ करेड र राजस्व परिचालन ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ छ ।

विस्तृत मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ११ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर १५ प्रतिशत छ ।

उपभोक्ता मुद्रास्फीतिः २०७७ पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८२ प्रतिशत थियो ।

थोक मुद्रास्फीतिः २०७७ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१८ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत थियो ।

तलव तथा ज्यालादर सूचकाङ्कः २०७७ पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १०.०४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.२२ प्रतिशतले बढेको छ ।

निर्यातः आर्थिक वर्ष २०७७/७८ को पुस महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले वृद्धि भई ६० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.४ प्रतिशत र ४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।

आयातः आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर ६६१ अर्ब २५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ प्रतिशत र १७.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एम.एस. दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल,  अन्य मेसिनरी तथा पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

विप्रेषण आप्रवाहः  समीक्षा अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भई ४९५ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो ।

चालु खाता:  समीक्षा अवधिमा चालु खाता रु.४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिः  २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले वृद्धि  भई २०७७ पुस मसान्तमा रु.१४९३ अर्ब ७५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ पुस मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड पुगेको छ।

खर्च तथा राजस्वः आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्ममा चालु खर्च रु.३४२ अर्ब ३६ करोड, पुँजीगत खर्च रु.५० अर्ब ८२ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु.२२ अर्ब ५७ करोड गरी कुल रु.४१५ अर्ब ७५ करोड खर्च भएको छ । समीक्षा अवधिमा सरकारको कर राजश्व रु.३८६ अर्ब ५३ करोड र गैर कर राजश्व रु.३५ अर्ब ७० करोड गरी कुल राजश्व रु.४२२ अर्ब २४ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) परिचालन भएको छ । समीक्षा अवधिमा संघीय सरकारले रु.७ अर्बको ट्रेजरी विल र रु.५० अर्बको विकास ऋणपत्र गरी कुल रु.५७ अर्ब आन्तरिक ऋण परिचालन गरेको छ ।

मौद्रिक स्थितिः  आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा विस्तृत मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा विस्तृत मुद्राप्रदाय २३ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जाः आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा यस्तो कर्जा २०.१ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालनः समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२ प्रतिशतले बढेको छ ।

कर्जा प्रवाहः समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको छ ।

तरलता व्यवस्थापनः आर्थिक वर्ष २०७७/७८ को   महिनामा रिभर्स रिपोमार्फत् रु. ८९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत् रु.१५१ अर्ब ८० करोड गरी कुल रु. २४१ अर्ब ३४ करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिर्जभ रिपोमार्फत् रू २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत् रू ३० अर्ब गरी कुल रू ५८ अर्ब तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत् रू ४९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत् रू ५२ अर्ब ५५ करोड गरी कुल ९२ अर्ब ७ करोड तरलता प्रवाह गरिएको थियो ।

ब्याजदरः  २०७६ पुस ९१- दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ३.१७ प्रतिशत रहेकोमा २०७७ पुसमा ०.८७ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ पुसमा १.७६ प्रतिशत रहेकोमा २०७७ पुसमा ०.१४ प्रतिशत कायम भएको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर-बैंक ब्याजदर २०७७ पुसमा ०.१८ प्रतिशत कायम भएको छ ।

मर्जर/प्राप्तिः  वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ पुस मसान्तसम्म कुल २१३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १५१ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन् ।

वित्तीय पहुँचः  कुल ७५३ स्थानीय तहमध्ये २०७७ पुससम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ पुससम्म ७४५ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।


क्लिकमान्डु