चिनीसँगै केराउको पनि मूल्य बढ्यो



काठमाडौं । भान्सामा अत्यावश्यक खाद्य वस्तु तेल, चिनीसँगै केराउमा पनि अत्यधिक मूल्य वृद्धि भएको छ । पछिल्लो समय चिनीमा अत्यधिक मूल्य बढाएको भन्दै सर्वसाधारणहरूले गुनासो गर्दै आएका छन् ।

नेपाल साल्ट टे«डिङ कर्पोरेशनमा मौज्दात सकिँनै लाग्दा बजारमा चिनीको मूल्य बढाएको उपभोक्ताहरूको भनाइ छ ।

कर्पोरेशनले गत दशैंमा २० हजार मेट्रिक टन चिनी आयात गरेको थियो । उक्त आयात गरेको चिनीको मौज्दात करिब १ हजार मेट्रिक टन बाँकी रहेको अवस्थामा बजारमा मूल्य वृद्धि भएको छ ।

कर्पोरेशनले दशैं अघिनै ३० हजार मेट्रिक टन ल्याउनको लागि अर्थ मन्त्रालयका निवेदन पेश गरेको थियो ।

उक्त निवेदन पेश गरेको करिब ४ महिना बितिसक्न लाग्दा पनि अहिलेसम्म स्वीकृत नभएको कर्पोरेशनको प्रवक्ता कुमार राज भण्डारी बताउँछन् । उनका अनुसार मौज्दातमा रहेको उक्त चिनीले केही दिन पनि बजारको माग धान्न नसक्ने बताए ।

एकातिर बजारमा चिनीको मौज्दात सकिँदै जाँदा बजारमा अत्यधिक मूल्य बढाएको छ भने अर्को तर्फ चिनी उद्योगीले उत्पादनै नभएको चिनीमा २ रुपैयाँ बढाएकोमा उपभोक्ताकर्मीहरूले विरोध जनाउँदै आएका छन् ।

विगतको दिनमा ७८ पाउने चिनी अहिले ८० देखि ८२ रुपैयाँसम्म बिक्री गर्दै आएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राज कुमार श्रेष्ठ बताउँछन् ।

उनका अनुसार उद्योगीहरूले नै बिक्री गर्दा बढाएपछि सोही अनुसार होलसेलदेखि खुद्रामा पुग्दा व्यापारीहरूले ९० देखि ९५ रुपैयाँमा बिक्री गरिरहेको बताए । यससँगै, पछिल्लो समय कोरोनाको बाहाना बनाउँदै मूल्य बढाउने प्रवृत्ति बढेकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

मूल्य बढाउनुपर्ने कारण छैनः उपभोक्ताकर्मी

चिनीको मूल्य अत्यधिक मूल्य बढाउँदा उपभोक्ताकर्मीहरूले भने कुनै कारण नरहेको बताउँदै आएका छन् ।

चिनीको भर्खरै फसल काट्ने सिजन रहेकोले बजारमा अहिले नै मूल्य बढ्न नुहुने उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् ।

‘उद्योगहरूले पुसको अन्तिमबाट क्रसिङ शुरु गरेको छ । हालै क्रसिङ शुरु भइरहेको चिनी बजारमा आएको छैन । र चिनी उत्पानमा लागत मूल्य बढ्यो भन्न कसरी सकेको हो थाहा छैन,’ उनले भने, ‘अहिले उत्पादित सबै उद्योगले लागत बढ्यो भन्दै मूल्य बढाएको छ । जसमा उत्पादन नै नभएको चिनीमा कसरी मूल्य बढ्यो ।’

साथै, उद्योगहरूले आफूसँग नभएको चिनीको मूल्य बढाएको उनको बुझाइ छ ।

‘हाल साल्ट टे«डिङसँग मौज्दातमा रहेको चिनी सकिन लाग्यो भनेदेखि उद्योगले मूल्य बढाउन थाल्यो । यो भनेको सिधै ठगी हो,’ उनले भने ।

यससँगै राजनीतिक तहका नेतृत्व पार्टीले आन्दोलन गर्ने नाममा उद्योगीहरूसँग चन्दा माग्न थालेको छ । ती उद्योगीहरूले बजारबाट उठाउने भएकाले मूल्य वृद्धि गराएको उनको भनाइ छ ।

त्यस्तै, उपभोक्ता अनुसन्धान अधिकार मञ्चमा माधव तिमल्सििनाका अनुसार पनि सरकारको वेवास्थाले गर्दा उपभोक्ताहरूको भान्सा महंगिन पुगेको बताउँछन् । साथै, बिनाकारण मूल्य बढाएको हुनाले सरकारले अध्ययन गरी कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

केराउको मूल्य वृद्धि

पछिल्लो समय खाद्य वस्तु तेल, चामल, चिनीलगायत मूल्य बढाएसँगै अहिले भने केराउको मूल्य वृद्धि गरेको खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

केही दिनअघि ९० मा पाउने सेतो केराउ पाइने अहिले बढेर १०० देखि ११० मा बिक्री गरिरहेको बताए । त्यस्तै केही दिन अघि १३० देखि १३० मा पाउने हरियो केराउ १४० देखि १५० रुपैयाँ पुगेको उनले बताए ।


पुष्प दुलाल