क्यूआर कोडबाट भुक्तानी गर्दा धेरै एप प्रयोग गर्नु पर्ने झन्झट हटाइँदै, शूल्क पनि नलाग्ने



काठमाडौं । अब सबै भुक्तानी सेवा प्रदायक कम्पनीको क्यूआर कोड एउटै सञ्जालमा आउने भएको छ । जसका लागि नेपाल राष्ट्र बैंकले ‘क्विक रेस्पोन्स क्यूआर कोड’ मस्यौदा तयारी गरेको छ ।

पछिल्लो समय क्यूआर कोडबाट हुने भुक्तानीको संख्या र रकम दुबै बढेपछि राष्ट्र बैंकले क्यूआर कोड भुक्तानी सेवालाई सुदृढीकराण तथा नियमन गर्न क्युआर कोड स्ट्याण्डराइजेसन फ्रेमवर्क र गाइडलाइनको मस्यौदा तयार गरको हो ।

राष्ट्र बैंकले मस्यौदा अध्ययन गरी त्यसमाथि माघ ३० गतेभित्र सुझाव सल्लाह दिन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ ।

मस्यौदामा प्राप्त सुझावको आधारमा राष्ट्र बैंकले ‘नेपाल क्यूआर’ मापदण्ड र त्यसको कार्यविधि तयार गरिने बताइएको छ । सो कार्यविधि जारी भएपछि हाल भुक्तानी प्रदायक कम्पनीले सञ्चालन ल्याएका सबै क्यूआर कोड स्क्यान नेपाल क्यूआरको मापदण्ड अनुसार हुनेछन् ।

सो कार्यविधि जारी भएसँगै अन्तर सञ्जाल क्यूआर भूक्तानी हुने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए ।

‘अहिले क्यूआर स्क्यान नेटवर्कमा आवद्ध कम्पनीको अर्को नेटवर्कको क्यूआर स्यान गर्न मिल्दैन,’ कँडेलले क्लिकमाण्डूसँग भने, ‘राष्ट्र बैंकले निकट भविष्यमै यस्ता सबै क्यूआर स्क्यान नेटवर्कलाई एकै मापदण्डको बनाएर अन्तर आवद्धता गराउने छ । त्यसपछि कुनै एक कम्पनी वा नेटवर्कका क्यूआर प्रयोगकर्ताले अर्को नेटवर्क वा कम्पनीको वालेट क्यूआर स्क्यान गरी भुक्तानी गर्ने सक्नेछन् ।’

पहिलो चरणमा राष्ट्र बैंकले क्युआर कोड स्ट्याण्डराइजेसन फ्रेमवर्क तयारी त्यसमा सुझाव संकलन गरीरहेको छ । प्राप्त सुझावको अध्ययन गरी नेपाल क्यूआर मापदण्ड तयार गरिने उनले जानकारी दिए ।

त्यसपछि मापदण्डअनुसार क्यूआर सेवा सञ्चालन गरेका भुक्तानी सेवा कम्पनीहरु तयार हुनेछन् । कम्पनीहरुको आन्तरिक तयारीपछि राष्ट्र बैंकले अन्तरकम्पनी क्यूआर कोड स्क्यान सेवा शुचारु गर्न निर्देशन दिने उनको भनाइ थियो ।

राष्ट्र बैंकबाट हालसम्म ९ वटा भुक्तानी प्रणाली सञचालक अर्थात् क्यूआर नेटवर्कले सञ्चालनको लागि अनुमति लिएका छन् । तर हालसम्म फोन पे, स्र्माट क्यूआर (एसटीसी) र फस्ट पे गरी ३ वटा क्यूआर स्क्यान नेटवर्क सञ्चालनमा छन् । जसमा विभिन्न बैंक तथा वित्तीय संस्था भुक्तानी प्रदायक कम्पनीहरुले आपसी सम्झौता गरी क्यूआर कोड स्क्यान सेवा आफ्ना ग्राहकलाई दिइरहेका छन् ।

साथै, राष्ट्र बैंकबाट १८ वटा भुक्तानी सेवा प्रदायक अर्थात् वालेट कम्पनीहरुले सञ्चालनको अनुमति लिएका छन् । यी कम्पनीहरुले पनि आ-आफ्नै क्यूआर कोड स्क्यान सेवा सञ्चालनमा गरेका छन् ।

जसमा आइएमइ डिजिटल सोलुसनको आइएमई पे, इ-सेवा फोन पे पकम्पनीकोे इ-सेवा, सीजी पे नेपालको सिजी पे, स्प्यारो पे कम्पनीको खल्ती, प्रभु टेक्नोलोजीको प्रभु पे, स्मार्ट कार्ड नेपालको स्मार्ट कार्डलगायत हुन् ।

राष्ट्र बैंकले ‘नेपाल क्यूआर’ मापदण्डअनुसार तत्काल सबै नेटवर्कमा प्रयोग गर्न सकिने अन्तरसञ्जाल क्यूआर स्क्यान निर्देशन जारी गरेपछि क्यूआर स्क्यान कोड भुक्तानीको यस्ता धेरै वालेट एम प्रयोग गर्नु पर्ने झन्झट हटेर जानेछ ।

प्रयोगकर्ताले सञ्चालनमा आएका जुनसुकै क्यूआर कोड स्क्यान वालेट एपबाट अर्को कम्पनीको क्यूआर कोर्डमा भुक्तानी गर्ने सक्नेछन् ।

अन्तरसञ्जाल क्यूआर कोर्ड भुक्तानी सेवा कम्पनीहरुले प्रयोगकर्तालाई निःशुल्क प्रदान गर्नुपर्ने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ मापदण्डअनुसार कम्पनीहरुले आफ्नो भुक्तानी प्रणालीको विकास गरेपछि क्यूआर एपको सुरक्षा तथा सेक्यूरिटी अडिट, ग्राहकहरुको गुनासो सुन्नसक्ने व्यवस्था हुनेछ । त्यस्तै, नेपाल क्यूआरमा आवद्ध कम्पनीहरुबीचको कारोबारमा समेत पारर्दशिता आउने राष्ट्र बैंकको विश्वास छ ।


पुष्प दुलाल